`

दुर्गा प्रसाई र नेपाली कांग्रेस (बीपी) ले आन्दोलनमा सहकार्य गर्ने

Nepal One HD १६ कार्तिक २०८२ १२:०५
प्रमुख खबर

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचनले नेपाली कांग्रेस (बीपी) ले आन्दोलनमा सहकार्य गर्ने भएका छन् । आइतबार प्रसाई निवास मध्यपुरथिमिमा दुई पक्षबीच सहकार्य सम्बन्धी ६ बुँदे सहमतिमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

नेपाली कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले दुर्गा प्रसाईं पक्षबाट सहकार्यको प्रस्ताव आएको र आफूहरु त्यसमा सहमत भएको बताए । ‘हामीले २०८३ सालदेखि आन्दोलन थाल्ने तयारीमा थियौं । तर दुर्गा प्रसाईंले मंसिर ६ गतेदेखि सुरु गर्ने आन्दोलनमै सहकार्य गरौं भनेर प्रस्ताव आयो र हामी त्यसमा सहमत भयौं,’ शेरचनले सुनाए ।

सम्झौता पत्रमा राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने उल्लेख छ । सहमति अनुसार आगामी मंसिर ६ गतेदेखि सुरु हुने भनिएको देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुने छन् ।

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झण्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ । आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने पनि सहमति भएको छ । नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप जनजागरण आवश्यक रहेको भन्दै उनीहरुले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने जनाएका छन् ।

हेर्नुस् सम्झौता पत्रको मस्यौदा
नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन् । राष्ट्र, धर्म र नागरिकको रक्षा तथा सुशासन र स्वतन्त्रताको पुनस्र्थापनाको लक्ष्यसहित सञ्चालन हुँदै आएको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र नेपाली कांग्रेस (बी.पी.) बीच निम्न सहमति भएको छ ।

१. साझा उद्देश्य

राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने सहमति गरेका छन् ।

२. आन्दोलनमा सहभागिता

आगामी मङ्सिर ६ गते देखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बी.पी.) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन् ।

३. स्वतन्त्र प्रचार र पहिचान

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ । यसले बी.पी. कांग्रेसको विचार र योगदानलाई अभियानभित्र सम्मानका साथ अभिव्यक्त गर्ने सुनिश्चितता गर्नेछ।

४. नेतृत्व र सह–समन्वय

आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ । बीपी कांग्रेसको तर्फबाट सहभागी टोलीलाई सभापतिको निर्देशनअनुसार तोकिएको जिम्मेवार व्यक्तिले नेतृत्व गर्नेछ, जसले महाअभियानसँग सह–समन्वय गर्नेछ ।
५. नीति र मर्यादा
दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति गरिएको छ ।

६. प्रेस र जनसम्पर्क

दुवै पक्षले सहकार्य सम्झौता र आन्दोलनबारे संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन् ।

हस्ताक्षरकर्ताहरूः

दुर्गा प्रसाईं अध्यक्ष, राष्ट्रियता धर्म संरक्षण र नागरिक बचाउ महाअभियान सभापति,

सुशीलमान शेरचन नेपाली कांग्रेस (बीपी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *