आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं मध्यराति पक्राउ
काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईलाई मध्यराति पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
उनी परिसरकै हिरासतमा छन् ।हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । प्रहरीले उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने भन्नेबारे भने टुंगो लगाइसकेको छैन । मंगलबार सरकारी वकिलसँग सल्लाह गरी उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइने छ ।
यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो । पछिल्लो समय उनले काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।
हिजो दिउँसो मात्र प्रसाईंले सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडीभित्र बसेर क–कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेशन गरिएको थियो ? भनेर विशेष भिडियो सार्वजनिक गरेका थिए । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको योजनाकार भएको समेत आरोप लगाएका थिए । उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए ।
