दुर्गा प्रसाईलाई मन्त्री पुनको सुझाव : हावादारी कुरा गर्यो भने हाँसोको पात्र भइन्छ
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईले सार्वजनिक रुपमा गर्दै आएका विभिन्न आर्थिक तथा नीतिगत वाचा व्यवहारिक र सम्भव नभएको टिप्पणी गरेका छन् । पछिल्ला दिनहरूमा प्रसाईले जनतालाई आकर्षित गर्ने उद्देश्यले अघि सारेका प्रस्तावबारे प्रश्न उठाउँदै मन्त्री पुनले असम्भव प्रतिज्ञाबाट जनता भ्रमित नपार्न आग्रह गरेका हुन् ।
पुनका अनुसार देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै प्रतिकूल रहेको बेला सामान्य भत्ता वितरणसम्म गर्न नसकिरहेको सरकारकहाँ लाखौं जनालाई कालोसूचीबाट हटाउने, सुरक्षा निकायको तलब एकै पटक एक लाख पुर्याउने वा २० लाखभन्दा तलका ऋण मिनाहा गर्ने जस्ता घोषणा गर्न सकिने अवस्था छैन ।
सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्दै उनले देशभरका विद्यालयहरूले अभावका कारण सहयोग माग्दा बजेट अभावकै कारण सरकारले सहयोग गर्न नसकिरहेको उदाहरण दिएका छन् । ‘स्थानीय भत्ता र महँगी भत्ता दिन सकिरहेका छैनौं । छाना र कक्षाकोठा नपाएर गुहार माग्ने विद्यालयलाई खाली हात फर्काउनु परेको छ’, मन्त्री पुनले भनेका छन् ।
उनका अनुसार शिक्षक अभावको समस्या चुलिँदै गएको छ तर आवश्यक शिक्षक पठाउन पनि बजेटको जोहो छैन । यस्तै, प्रसाईका घोषणाले वित्तीय प्रणालीमै जोखिम आउने मन्त्री पुनको तर्क छ । ‘जनताले बैंकमा जम्मा गरेको पैसा नै जोखिममा पर्छ । कुवेर भएर पैसा फ्याँके जस्तो गरेर बाँड्न मिल्दैन’, उनले टिप्पणी गरेका छन् ।
मन्त्री पुनले विगतमा ‘रेल ल्याउने, पानीजहाज चलाउने, १२ वर्षमै नेपाललाई धनी देश बनाउने, सिंगापुर बनाउने’ जस्ता अनेकौं हावादारी आश्वासनले देशमा निराशा मात्रै थपेको स्मरण गराउँदै व्यावहारिक योजना र तथ्यमा आधारित संवाद गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बुझेर कुरा गरौं । जनतालाई सपनाको मिठो पोको बाँडेर भोलि हाँसोको पात्र बन्नु उचित होइन ।’
प्रधानमन्त्री सुशीला कार्कीले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग छलफलको तयारी गरिरहेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रसाईलाई छलफलका लागि मंसिर २२ गतेको समय दिएकी छन् । प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल तथा भेटघाटका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले यसअघि नै जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजसंस्था पुनःस्थापनाको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी प्रसाईलाई वार्ताका लागि बोलाएको हो । उनलाई वार्तामा आउन आग्रह गर्दै कार्यालयले पत्र पठाइसकेको छ ।
आफ्नो माग पुरा नभएमा फागुन २१ गते निर्वाचन हुन नदिने घोषणा गरेका प्रसाईसँग सोही सन्दर्भमा छलफल गर्न लागिएको कार्यालय स्रोतले बताएको छ । स्रोत भन्छ, ‘प्रसाईलाई आमन्त्रण पत्र पठाइएको छ । उनले फागुन २१ गते निर्वाचन हुन नदिने भनेका छन्, त्यही विषयमा छलफल गर्न होला ।’ गृहमन्त्री ओमप्रकाश अर्यालले गत मंसिर १२ गते प्रसाईसँग सिंहदरबारमा छलफल गरेका थिए । प्रसाईले सरकार समक्ष विभिन्न माग राख्दै आएका छन् । यसै सन्दर्भमा मन्त्री पुनले प्रसाईलाई यस्तो सुझाव दिएका हुन् ।
कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाईले – शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरुलाई स्थानिय भत्ता र महंगी भत्ता खुवाउन सकेको छैन। छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरुलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन… pic.twitter.com/TiAmpiyffR
— Mahabir Pun (@MahabirPun) December 6, 2025
