`

दुर्गा प्रसाईको ‘नागरिक बचाउ’ दल दर्ता, सभापतिमा माधव खतिवडा

Nepal One HD ३० कार्तिक २०८२ १३:४७
प्रमुख खबर

काठमाडौं । चर्चित मेडिकल व्यवसायी तथा नागरिक अभियानकर्ता दुर्गा प्रसाईं अब औपचारिक रूपमा राजनीतिकमा होमिएका छन् । नागरिक बचाउ दल नेपाल नामक नयाँ राजनीतिक दल आज (आइतबार) निर्वाचन आयोगमा दर्ता भएसँगै प्रसाईंको राजनीतिक यात्रा सुरु भएको छ । दलका सभापति माधवप्रसाद खतिवडा (माधव कल्पित) भए पनि पार्टीको मुख्य चालक भने स्वयं दुर्गा प्रसाईं नै रहेको कल्पितले स्पष्ट पारे । आइतबार बिहानै उनीसहित २७ सदस्यीय टोलीले आयोगमा उपस्थित भएर सनाखत पूरा गरेको छ । दललाई आयोगले दर्ता नम्बर ६३० दिएको छ ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरिसकेका प्रसाईंलाई सरकारले वार्ता आह्वान गरेको छ । उनकै नेतृत्वमा सञ्चालन हुँदै आएको नागरिक बचाउ महाअभियान अब संगठनात्मक रूपमा दल दर्तासँगै निर्वाचन तयारीमै उन्मुख छ । ‘अभियान र चुनावी तयारी दुबै ट्र्याकमा अघि बढिरहेका छन्’, सभापति खतिवडाले बताएका छन् ।

यस्तो दलको नेतृत्व संरचना छ :
पदाधिकारी
सभापति – माधवप्रसाद खतिवडा
उपसभापति – ईश्वरीप्रसाद भट्टराई
उपसभापति – देवीप्रसाद संग्रौला
महामन्त्री – प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री – विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष – सुष्मा रेग्मी रिजाल
प्रवक्ता – प्रेम थापा मगर

सदस्यहरुमा रामकुमार कार्की, प्रविन लामा, शक्तिराज शाही, दिवाकरमान सिंह बस्नेत, लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री, राजेन्द्रबहादुर दमाई, बिजय थापा, तेजेन्द्र रायमाझी, हरदेव महत्तो, बलबहादुर तामाङ, नवराज दुलाल, दानुुमाया थापा, रेणु हमाल शाही, दीनेश पाख्रिन, राजु श्रेष्ठ, पुष्पराज भण्डारी, सुरेन्द्रकुमार कार्की र कमला माया क्षेत्री रहेका छन् । यसबाहेक आयोगमा २७ सदस्यीय केन्द्रीय समिति दर्ता गराइएको छ । आयोगले मंसिर ९ गतेसम्म दल दर्ता प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

सडक आन्दोलन, २७ बुँदे माग र व्यवस्थाप्रतिको कडा असन्तोष व्यक्त गर्दै आएका प्रसाईं अब औपचारिक राजनीतिक पार्टीसहित आगामी निर्वाचनमा उत्रिने संकेत स्पष्ट छ । नागरिक बचाउ दल दर्तासँगै प्रसाईंको अभियान अब केवल आन्दोलनमै सीमित नबसी संसदीय प्रतिस्पर्धामा रूपान्तरित हुने चरणमा प्रवेश गरेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *