`

दुर्गा प्रसाई विवादबीच गृहको वार्ता तयारी, दिल्लीको ‘दूरी’ नीति

Nepal One HD २४ कार्तिक २०८२ ८:१७
प्रमुख खबर

काठमाडौं । आन्दोलनको तयारीमा रहेका व्यवसायी दुर्गा प्रसाईंलाई लिएर नेपाल र भारत दुबै देशका सुरक्षा संयन्त्रहरू सक्रिय बनेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईंसँग प्रत्यक्ष वार्ता गर्ने तयारी अघि बढाउँदा भारतीय पक्षले भने उनलाई ‘दूरीमै राख्ने’ नीति लिएको खुलेको छ ।

मंसिर ७ गतेदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ नामक आन्दोलन सुरु गर्ने घोषणा गरेका प्रसाईंको गतिविधि पछिल्ला दिनमा सुरक्षा निकायको कडा निगरानीमा परेको छ । प्रशासनले संवादका लागि आह्वान गरेपछि प्रसाईंले गृह मन्त्रालयमा आफ्नो मागबारे पत्र पठाए पनि गृहमन्त्रीसँग होइन, प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।

गृह मन्त्रालयका अनुसार २६ कात्तिकमा गृहमन्त्री अर्याल स्वयंले प्रसाईंसँग छलफल गर्ने तयारी गरिएको छ । तर यसबीचमा प्रसाईंको भारत भ्रमण र त्यसक्रमका गतिविधिले राजनीतिक वृत्तमा थप चासो पैदा गरेको छ ।

दिल्ली भ्रमण र केरकार
गत सोमबार नेपाल एयरलायन्समार्फत दिल्ली पुगेका प्रसाईं पाँच दिनपछि फर्कंदा भारतीय अध्यागमनले उनलाई आधा घण्टा भन्दा बढी केरकार गरेको थियो । दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार, प्रसाईंमाथि तीन कारणले सोधपुछ भएको थियो ।
१. नेपालमा उनले भारतको समर्थन रहेको भन्दै दिएको अभिव्यक्ति ।
२. भ्रमणका क्रममा अस्थिर आवागमन र बसोबासका स्थान बारम्बार परिवर्तन ।
३. भारतमा राजनीतिक सम्पर्क खोज्ने प्रयास ।
भारतीय अधिकारीहरूले प्रसाईंलाई भारतमा रहँदा कुनै राजनीतिक गतिविधि नगर्न र ‘भारतीय समर्थन’ भएको भ्रामक दाबी नगर्न चेतावनी दिएको एनडीटिभीले उल्लेख गरेको छ । उनी भ्रमणका क्रममा दिल्ली–लखनउ हुँदै विभिन्न ठाउँमा सरेको देखिएपछि निगरानीमा परेका थिए ।

गृह–भारतीय राजदूत भेटमा प्रसाईं प्रमुख एजेण्डा
प्रसाईं दिल्लीबाट फर्किएको भोलिपल्टै आइतबार गृहमन्त्री अर्याल र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच गृह मन्त्रालयमा करिब ४५ मिनेटको भेटवार्ता भयो । औपचारिक रूपमा चुनाव र शान्ति सुरक्षाबारे चर्चा भएको बताइए पनि छलफलको केन्द्रबिन्दु प्रसाईंकै भारत भ्रमण भएको स्रोतको भनाइ छ ।

गृहमन्त्रीले राजदूतसँग प्रसाईंले भारतमा को–कसलाई भेटे भन्नेबारे जानकारी माग्दा राजदूत श्रीवास्तवले ‘कुनै राजनीतिक भेटघाट भएको छैन’ भन्ने जवाफ दिएका थिए । दुवै देशबीच खुला सीमाका कारण आन्दोलनमा बाह्य घुसपैठको सम्भावना र त्यसले ल्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको बताइन्छ ।

सुरक्षा संयन्त्र उच्च सतर्कतामा
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि नै प्रसाईंमाथि सुरक्षा निकायको निगरानी कडा भएको हो । अबको आन्दोलनलाई लक्षित गर्दै गृह मन्त्रालयले वार्ताको बाटो खोले पनि आन्तरिक तथा बाह्य दुबै तहमा सुरक्षा सतर्कता बढाइएको छ ।

भारतीय अध्यागमन र सुरक्षा निकायले प्रसाईंमाथि गरेको केरकार र नेपालमा भइरहेको निगरानीले दुवै देशका संयन्त्रहरू उनको गतिविधिप्रति अत्यन्त सतर्क रहेको स्पष्ट देखिन्छ । गृहमन्त्री अर्यालले संवादमार्फत समाधान खोज्ने प्रयास गरिरहेका बेला भारतले प्रसाईंसँग राजनीतिक दूरी कायम राख्ने नीति अख्तियार गरेको छ । प्रसाईं भने आन्दोलन र राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएर अझ आक्रामक मुद्रामा देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *