`

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन भएको छ । उनका ९५ वर्षीय बुवा कुलबहादुर श्रेष्ठ आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो । चिकित्सकले बिहान साढे ११ बजे श्रेष्ठलाई मृत घोषणा गरेका थिए । उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ । उनका ३ छोरा र २ छोरी छन् ।

यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेका छन् । ‘पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिवंगत पिताजीमा श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’