हर्क साम्पाङको पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’
विराटनगर । श्रम–संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शन ‘हर्कवाद’ लाई औपचारिकरूपमा सार्वजनिक गर्दै पार्टीको पूर्ण अवधारणा, नीति तथा दीर्घकालीन शासन मोडेल प्रस्तुत गरेका छन् ।
मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलन तथा विराटनगरमा गरिएको बृहद् सार्वजनिक कार्यक्रममा साम्पाङले देश निर्माणको आधार ‘अनिवार्य श्रम, श्रमदान र स्वदेशी उत्पादन’ हुनुपर्ने स्पष्ट गर्दै ‘प्रकृति–संस्कृति–प्रविधिको समन्वित विकास’ नै हर्कवादको मूल आत्मा भएको बताए ।
साम्पाङका अनुसार समाजमा व्याप्त अभाव, गरिबी, विभेद र त्यसबाट जन्मिने द्वन्द्व, अशान्ति तथा विनाशको अन्त्य केवल श्रम र सामूहिक श्रमदानको संस्कारबाट सम्भव छ । पहुँच र शक्तिको प्रभावमा हुने असमान विकासलाई अन्त्य गरी गाउँ–घर केन्द्रित योजना, स्थानीय उत्पादन र श्रममूलक सहभागिताले मात्रै समृद्धि देखिने उनले दाबी गरे । उनको भनाइमा, ‘देशको ढुंगामाटोमा श्रम रोपेर स्वाधीनता र समृद्धिको भविष्य फलाउने सूत्र नै हर्कवाद हो ।’
शासकीय मोडेल : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
पार्टीले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अघि सारेको छ ।
राष्ट्रपतिको कार्यकाल ५ वर्ष र अधिकतम दुई कार्यकाल ।
राष्ट्रपति–उपराष्ट्रपति फरक जाति तथा लिङ्गका अनिवार्य ।
राष्ट्रपति चाहे विज्ञ, चाहे सांसद, जसलाई पनि लिन सक्ने गरी लचिलो मन्त्रिपरिषद् ।
सांसद मन्त्री बनेमा सांसद पद निलम्बन हुने व्यवस्था ।
संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक संरचना ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी प्रतिनिधित्व
खसआर्य, आदिवासी, जनजाति, मधेशी, दलित, मुस्लिम र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनेगरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने पार्टीको योजनामा छ । प्रतिनिधिसभामा जनसंख्याको अनुपातमा १०० प्रतिशत समानुपातिक प्रतिनिधित्व रहने प्रस्ताव समावेश छ ।
राष्ट्रियता, सुरक्षा र परराष्ट्र नीति
पार्टीले भौगोलिक अखण्डता र सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाली सेनालाई सीमा क्षेत्रमा परिचालन गर्ने बताएको छ ।
असंलग्न परराष्ट्र नीति कायम ।
विवाह आधारित नागरिकता पाँच वर्ष बसाइ र पुरानो नागरिकता त्यागेपछि मात्र ।
देशभर क्रियाशील सबै आइएनजिओ खारेज गर्ने कडा एजेन्डा ।
शिक्षा : हप्तामा ३ दिन पढाइ, ४ दिन उत्पादन–सिर्जनामा लगानी ।
शिक्षामा आमूल परिवर्तन गर्दै हप्तामा तीन दिन मात्र अध्यापन र चार दिन उत्पादन, निर्माण तथा साहित्यिक गतिविधिमा लगाइनेछ ।
१२ कक्षासम्म खाना पकाउने र लुगा सिउने जस्ता जीवनपयोगी सीप अनिवार्य ।
१२ कक्षा पछि अनिवार्य सैनिक तालिम, त्यसपछि मात्र उच्च शिक्षा ।
शिक्षकलाई राजनीतिमा संलग्न हुन नदिने व्यवस्था ।
जेन–जी पुस्ताका गुनासो सुन्न ‘युवा आयोग’ गठन ।
अर्थतन्त्र र श्रम : ‘एक गाउँ, एक उद्योग’ र ‘एक घर, एक स्वरोजगार’
श्रम–संस्कृति पार्टीले श्रमलाई आर्थिक विकासको मूल चालक मान्दै वैज्ञानिक कर प्रणाली लागू गर्ने बताएको छ ।
धनीबाट बढी कर, गरिबलाई संरक्षण ।
सबै नागरिक श्रमदानमा सहभागी ।
‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ कार्यक्रम ।
स्वदेशी उत्पादनलाई प्राथमिकता, सरकारी खर्च मितव्ययी ।
श्रम गर्नेहरूलाई निःशुल्क स्वास्थ्य सेवा, गरिबलाई गास–बास–कपासको ग्यारेन्टी ।
निःशर्त मात्र विदेशी लगानी स्वीकार ।
सुशासन, धर्मनिरपेक्षता र प्रशासनिक सुधार
राज्य धर्मनिरपेक्ष रहने तर कसैलाई करकापमा धर्म परिवर्तन गर्न नदिने व्यवस्था कडाईका साथ लागू गरिनेछ ।
पत्रकार, सरकारी कर्मचारी र न्यायालयलाई गैरराजनीतिक बनाइनेछ ।
गल्ती गर्ने कर्मचारीलाई सरुवा मात्र होइन, जागिर नै खोसिने कडा अनुशासन ।
सरकारी बैठक तथा निर्णय प्रक्रियालाई खुलेर लाइभ प्रसारण गर्ने पारदर्शिता ।
हर्क साम्पाङले प्रस्तुत गरेको ‘हर्कवाद’ आधारित शासन मोडेल देशको समृद्धि, समानता र श्रम–संस्कृतिमा आधारित नवीन वैकल्पिक राजनीतिक धारा भएको दाबी पार्टीले गरेको छ ।
