काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग एकता नगर्ने स्पष्ट घोषणा गरेका छन् । उनले श्रम संस्कृति पार्टीले मिसावटविहीन, स्वदेशी विचारमा आधारित र मौलिक राजनीतिको अभ्यास गर्ने दाबी गर्दै सत्तामुखी र प्रतिशोधको राजनीतिबाट टाढा रहने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले पछिल्लो समय बढिरहेको चुनावी माहोल र विभिन्न राजनीतिक एकताको चर्चाप्रति प्रतिक्रिया जनाएका हुन् । उनले भने, ‘अहिले धेरै अड्कल–अन्दाज भइरहेका छन्–कसले कससँग मिल्छ भनेर । जसलाई जहाँ मिल्न मन छ, मिलून् । तर श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन ।’
उनका अनुसार श्रम संस्कृति पार्टीको राजनीति देशको माटो, ढुंगा र श्रमसँग जोडिएको छ । ‘हामी ढुंगाको, माटोको राजनीति गर्छौं । स्वदेशी विचार र मौलिकपन हाम्रो आधार हो’, उनले भने, ‘मिसावटको राजनीति हाम्रो चरित्र होइन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता सार्वजनिक भएको केही घण्टापछि आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । साम्पाङले उक्त सन्दर्भ नखुलाए पनि ‘नयाँ भनिएका’ राजनीतिक शक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
उनले श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ भनिएका पार्टीहरू पनि पुराना जस्तै काम नलाग्ने दाबी गरे । ‘पुराना त काम नलाग्ने नै हुन् । श्रम संस्कृतिबाहेक अहिलेका नयाँ पनि उस्तै छन्’, साम्पाङले भने, ‘उनीहरूमा देश र जनताप्रतिको माया छैन । छ भने सत्ताको कुर्सीप्रतिको मोह छ र प्रतिशोध साँध्ने सोच छ ।’ साम्पाङले आफ्नो पार्टीलाई प्रतिशोधको राजनीतिसँग जोड्ने प्रयास भइरहेको आरोप पनि लगाए ।
उनका अनुसार विदेशी डलरबाट पालिएका र भ्रष्टाचारमार्फत अकुत सम्पत्ति थुपार्ने समूहहरूले श्रम संस्कृति पार्टी पनि अरू दलसँग मिल्छ भन्ने अफवाह फैलाइरहेका छन् । ‘हामी त्यस्तो राजनीतिमा विश्वास गर्दैनौं’, उनले स्पष्ट पारे । उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई पनि एकता वा गठबन्धनको विषयमा भ्रममा नपर्न आग्रह गरे । ‘हामी कसैसँग मिल्छौं कि मिल्दैनौं भनेर अलमलिनु पर्दैन’, उनले भने, ‘जो–जो जहाँ मिल्छन्, मिलून् । श्रम संस्कृति पार्टी आफ्नो बाटोमा एक्लै हिँड्छ ।’ साम्पाङको यो अभिव्यक्तिले आगामी दिनमा श्रम संस्कृति पार्टीले आफूलाई वैकल्पिक मात्र होइन, फरक राजनीतिक धारको रूपमा स्थापित गर्न खोजिरहेको संकेत गर्छ । सत्ताको समीकरणभन्दा बाहिर रहेर ‘श्रम, स्वदेशीपन र मौलिकता’लाई केन्द्रमा राख्ने उनको दाबीले नेपाली राजनीतिमा छुट्टै बहस सिर्जना गरिरहेको छ ।

