`

भवन निर्माणमा भ्रष्टाचार : पूर्व मेयरसहित १४ जनाविरुद्ध मुद्दा, सवा तीन करोड बिगो

बाजुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता ठहर गर्दै तत्कालीन नगर प्रमुखसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन नगर प्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथलगायत १४ जना विरुद्ध अख्तियारले आरोप–पत्र दायर गरेको हो ।

पूर्व निर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिली देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रूपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको उजुरी छानबिन गर्दा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।
जाग्रिति-एम.के. नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप–पत्रमा उल्लेख छ । अख्तियारले तीन करोड २६ लाख ७८ हजार १७१ रुपैयाँ अनियमितता गरेको ठहर गरेको छ ।

भूमि आयोग कास्कीका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, भूमि आयोगका तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोग कास्कीका तत्कालीन सदस्यहरु आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम बहादुर नेपाली र भिम बहादुर बिकविरुद्ध मुद्दा दायर गरेको हो ।

नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा आयोगले उनीहरुविरुद्ध आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले गैरसुकुम्बासीलाई झुटा विवरणका आधारमा सुकुम्बासी बनाएको देखिएको जनाएको छ । भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले एक करोड ४० लाख रुपैंया हानी नोक्सानी भएको दावी गरेको छ । आयोगले जग्गा पाउने भीमबहादुर विकलाई पनि मुद्दा चलाएको छ ।

भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी लिचीबारी जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । त्यतिबेला उनीहरुविचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाई कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो । त्यही कुराकानीमा प्रसंग निस्किएको भूमी आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल सहित सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्दामा परेका हुन् ।

पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको आरोप छ । आयोगले दायर गरेको आरोप पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुले बदनियत राखी गैरसुकुम्वासी भिमबहादुर विकलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क. को उपदफा (१), भूमि सम्बन्धी नियमहरु, २०२१ को नियम ४१ख. राष्ट्रिय भूमि आयोग, गठन आदेश, २०७८ र यस सम्बन्धी कार्यविधिहरु विपरीत जग्गा दिने निर्णय गरी गराई, जग्गा धनी श्रेस्ता पूर्जाको प्रमाण संकेतमा विगतको सुकुम्बासी समस्या समाधान आयोगको अधुरो काम अन्तर्गत सुकुम्बासी समस्या समाधान आयोग, जिल्ला समिति, कास्कीले मिति २०५२-५-१२ मा निर्णय गरी कित्ताकाट भई निर्णय कार्यान्वयन हुन बाँकी रही अधुरो रहेको झुट्टा ब्यहोरा उल्लेख गरी गराई साविक कन्धानीडाँडाँ गाउँ विकास समिति वडा नं.४ कि.नं. ७२५ क्षेत्रफल ३–३–०–० रोपनी जग्गाको श्रेस्ता-पूर्जा मिति २०८०-१२-५ मा मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीबाट प्रमाणित गरी गराई जग्गाधनी प्रमाण पूर्जा समेत उपलब्ध गराएकोमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका अध्यक्ष गंगाप्रसाद पोख्रेलले श्रेस्ता लागू गर्न पत्राचार गरे गराएको देखिएको छ ।’

नागरिक उडययन् प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुनकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध करिब ढाई करोड रुपैयाँ विगो कायम गरी, त्यसअनुसार जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने माग गरिएको छ । मुनकर्मीले २०५४।११।०१ देखि २०८०।०८।१४ सम्म सरकारी पदमा कार्यरत रहँदा आफ्नो पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋणरसापटी आय, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक आयका स्रोतहरूको कुल र ३ करोड ७३ लाख ८१ हजार ४४४।२० मात्र आर्जन गरेका थिए । तर सो अवधिमा मुनकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, सुनको गरगहना, विमा भुक्तानी, अध्ययन शुल्क, ऋण तिर्ने, व्यवसायमा लगानी तथा बैंकरसहकारी खातामा जम्मा रकम गरी ६ करोड २४ लाख १५ हजार ९६१।३९ खर्च गरेको देखियो । यस अनुसार कुल आय भन्दा कुल व्ययमा २ करोड ५० लाख ३४ हजार ५१७।१९ बढी भएको पाइएको छ ।

उक्त रकमको स्रोत पुष्टि भएको नदेखिएकोबाट मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको अनुसन्धानबाट देखिएको छ । उनले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको छ । मुनंकर्मी र उनको श्रीमती पूर्ण केशरी गोसाईमाथि बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो ।

 

पोखरा विमानस्थल भ्रष्टाचारबारे ओली : भीम आचार्य निर्दोष छन्, तर डामियो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भनिएको भ्रष्टाचार प्रकरणले नेकपा एमालेमा तरङ्ग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले नेता भीमप्रसाद आचार्यसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एमाले नेतृत्वले यसको कडा प्रतिवाद गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा आयोजित ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना–२’ कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता आचार्यलाई मुद्दामा तानिएको कार्यलाई ‘घोर अन्याय’ भन्दै विरोध जनाएका छन् । ओलीले आरोपको उद्देश्य भ्रष्टाचार उन्मूलन नभई ‘चरित्र हत्या र बदनाम गर्ने अभियान’ भएको दाबी गरे ।

ओलीले भने, ‘भीमप्रसाद आचार्य निर्दोष छन् । उनले सफाइ पाइहाल्छन् । तर अहिले त डामियो । मानिसले दोषी ठाने जस्तै भयो, प्रतिष्ठामाथि चोट पुर्‍याइयो ।’ अख्तियारले आचार्यमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहँदा-नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षका रूपमा-भ्रष्टाचारसम्बन्धी निर्णयमा संलग्नता रहेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो । आचार्य सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री रहेका थिए ।

आचार्यको असन्तुष्टि : पहिले नै तामेलीमा परेको मुद्दा किन पुनः ल्याइयो ?
सोही कार्यक्रममा नेता आचार्यले पनि आफूविरुद्ध मुद्दा दायर गरिएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले पोखरा विमानस्थलसम्बन्धी फाइल दुई–दुई मन्त्रिपरिषद्ले पारित गरिसकेको र प्राविधिक अध्ययनदेखि प्रक्रिया सबै पूरा भएको बताउँदै अख्तियारले पहिलेको छानबिनमै ‘कैफियत छैन’ भनी तामेलीमा राखेको दाबी दोहोर्‍याए ।

‘अख्तियारले त्यतिबेलै छानबिन गरेर तामेलीमा राखिएको पत्र पठाएको थियो’, आचार्यले भने, ‘पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको प्राविधिक रिपोर्ट, मन्त्रिपरिषद्को निर्णय-सबैका आधारमा नयाँ एग्रिमेन्टतर्फ जाने प्रक्रिया बनिसकेको थियो ।’ आचार्यले अहिलेको सरकारको दबाबमा मुद्दा पुनः अगाडि बढाइएको आरोप लगाए । ‘अहिलेको सरकारले दुई–तीन पटक बोलाएर अख्तियारलाई थर्काएर मुद्दा चलाउन लगाएको हो’, उनले आरोप लगाए ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा विघटित प्रतिनिधिसभाका सदस्य रहिसकेका आचार्य एमालेको ११औं महाधिवेशनमा पदाधिकारी पदका दाबेदार समेत हुन् । महाधिवेशनको संवेदनशील समयमा आफूविरुद्ध मुद्दा दायर हुनु राजनीतिक उद्देश्य बोकेको कदम भएको उनको आरोप छ । अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । तर यसबारे उत्पन्न विवादले राजनीतिक र कानुनी बहसलाई थप तीव्र बनाएको छ ।

भिजिट भिसा प्रकरणमा तानिए पूर्व गृहमन्त्री लेखक र पूर्व गृहसचिव दुवाडी

काठमाडौं । भिजिट भिसा काण्डमा ‘सेटिङ’ मार्फत घुस लिएर व्यक्तिहरूलाई विदेश पठाइएको आरोपमा पूर्व गृहमन्त्रीदेखि उच्च प्रशासकीय तहसम्म तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोग–पत्रसँगै यो प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलगायतका उच्च अधिकारी समेतको भूमिकाबारे गम्भीर छानबिन भइरहेको पुष्टि भएको हो ।

अख्तियारका अनुसार, छानबिनको क्रममा नियन्त्रणमा लिइएका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग भेटिएको डायरी र कल डिटेल्स (सीडीआर) को विश्लेषणपछि थप नामहरू अनुसन्धानको दायरामा आएका हुन् । भट्टराईसहितको अस्वाभाविक सम्पर्क, कल आदानप्रदान र आर्थिक लेनदेनको शंका उठेपछि तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी, स्वकीय सचिव जनक भट्ट, गृह मन्त्रालयका विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुख र गृहसचिवको सचिवालयका कर्मचारी समेत अनुसन्धानको सूचीमा परेका छन् ।

पहिलो चरणमा अख्तियारले भट्टराईसहित ७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । तर, यो प्रकरणमा उच्च तहबाटै निर्देशन, मिलेमतो र आर्थिक लेनदेन भएको आशंकाले तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, अध्यागमन विभागका तत्कालीन महानिर्देशक तथा शान्ति–सुरक्षा हेर्ने महाशाखाका प्रमुखको भूमिका विशेष निगरानीमा रहेको अख्तियारले अदालतलाई जानकारी गराएको छ ।

अख्तियारको दाबीअनुसार, विदेश पठाउने क्रममा भिजिट भिसा सहज बनाउन ‘सेटिङ’ गरी रकम उठाउने काममा ठूलो जालो सक्रिय थियो, जसमा मन्त्रालयका विभिन्न तहका कर्मचारीदेखि निजी सचिवालयसम्मको संलग्नता देखिएको छ । भट्टराईको डायरी र सीडीआरमै आधारित प्रमाणहरूले यस काण्डमा केन्द्रतिरैबाट दबाब वा समन्वय भएको संकेत दिएको अख्तियारको भनाइ छ ।

यसैबीच, ७९ लाख ८० हजार रुपैयाँ घुस लिएको आरोपमा भट्टराई मुख्य प्रतिवादी बनाइएका छन् । उनीमाथि ट्राभल कम्पनी सञ्चालक, बिचौलिया र विमानस्थल अध्यागमनका एक अधिकृतसहित ७ जनालाई प्रतिवादी बनाइएको हो । उनीहरूबाट रकम विभिन्न शीर्षकमा बिगो कायम गरिएको छ–कविता पौडेल र खेम सुवेदीलाई समान ७९ लाख ८० हजार, राम खड्कालाई ३० लाख २० हजार, बालकृष्ण खड्कालाई ३० लाख २० हजार, दिपक भण्डारीलाई १० लाख ६० हजार र यज्ञराज अर्याललाई ८ लाख ।

अख्तियारले जनाएको यो प्रकरण २०८१ असोज २३ देखि २०८२ जेठ ७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत भट्टराईले आयोजित गरेको ‘सेटिङ’ बाट सुरु भएको मानिएको छ । त्यो अवधिमा विभिन्न ट्राभल व्यवसायी र बिचौलियासँग मिलेर भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाउने नाममा ठूलो रकम उठाइएको दाबी गरिएको छ । मुद्दा दायर भइसके पनि यो काण्डको केन्द्रीय तहमा भएकाहरूको संलग्नताको अनुसन्धान अझै जारी रहेको छ । अख्तियारले यही आधारमा निकट भविष्यमा थप प्रतिवादी पनि बढ्न सक्ने संकेत दिएको छ ।

अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा

काठमाडौं । रिक्त रहेको एक सचिव पदमा सहसचिव राजेन्द्र पौडेल बढुवा भएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धानको प्रवक्ताको जिम्मेवारीमा छन् । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा पौडेलको नाम दोस्रोमा कोमल भट्टराई र तेस्रो नम्बरमा इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका थप तीन काण्डमा छुट्टै अनुसन्धान हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित विवाद अझै बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य मुद्दा बाहेक तीन छुट्टाछुट्टै अनियमितताका घटनामा पनि थप अनुसन्धान गर्ने निर्णय गरेको छ । फरक प्रकृति र समयका वारदात समेत समावेश भएकाले ती विषयमा अलग–अलग अनुसन्धान अधिकृत तोकिएको आयोगले जनाएको छ ।

आयोगले आइतबार ५५ जना व्यक्तिसहित एक कम्पनीलाई प्रतिवादी बनाउँदै ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित मुद्दा दर्ता गरेको थियो । प्रारम्भिक मुद्दा लागत बढाइएको शीर्षकमा केन्द्रित भए पनि, आयोगका अनुसार कर छुट, डाँडा कटान र परामर्शदाता नियुक्ति सम्बन्धी अनियमितता स्वतन्त्र रूपमा छानबिन गर्न बाँकी छ । पहिलो विषय कर छुटसम्बन्धी हो। विमानस्थल निर्माणका लागि भएको मूल सम्झौतामा सबै कर तथा महसुलको दायित्व ठेकेदार कम्पनीको हुने उल्लेख थियो ।

तर विभिन्न सरकार र पदाधिकारीको निर्णयमार्फत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिइएको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिले निकालेको थियो । लेखा समितिका अनुसार कर छुटको रकम मात्रै २ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जसलाई ‘सरासर भ्रष्टाचार देखिने काम’ भनेर समितिले व्याख्या गरेको थियो । यही आधारमा अख्तियारले यस विषयमा थप अनुसन्धानको प्रक्रियालाई औपचारिक बनाएको हो ।

दोस्रो विवाद विमानस्थलअगाडि रहेको छिनेडाँडा÷रिट्ठेपानी डाँडा कटानसँग जोडिएको छ । रनवे उचाइ वास्तविक मापभन्दा कम बनाइएकाले डाँडा काट्नुपर्ने अवस्था सिर्जना भएको भन्दै लेखा समितिले प्रश्न उठाएको थियो । सम्झौता अनुसार डाँडा कटानसहित आवश्यक पूर्वाधार तयार पार्ने दायित्व ठेकेदारकै थियो तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ३२ करोड २ लाख रुपैयाँ भुक्तानी गरी काम गराएको पाइएको छ । क्यानको उक्त भुक्तानीलाई समितिले ‘सिधै अनियमितता र भ्रष्टाचारजन्य कार्य’ भनेको छ । यही विषयमा पनि छुट्टै अनुसन्धान अघि बढाइने अख्तियारले स्पष्ट पारेको छ ।

तेस्रो मुद्दा परामर्शदाता नियुक्तिसँग सम्बन्धित छ । ठेक्का सम्झौताअनुसार चिनियाँ सीएएमसी इञ्जिनियरिङ कम्पनीले २८ लाख अमेरिकी डलरको परामर्शदाता स्वयं नियुक्त गर्नुपर्ने व्यवस्था थियो । तर प्राधिकरणले आफ्नै स्रोतबाट खर्च बेहोरेर अलगै परामर्शदाता नियुक्त गरेको तथ्य फेला परेको छ। खर्च ठेकेदारको दायित्व हुँदाहुँदै सरकारी बजेट प्रयोग गरिएको भन्दै लेखा समितिले यसलाई पनि अनियमितता भनेर टिप्पणी गरेको थियो । यो विषयमा पनि अख्तियारले छुट्टै अनुसन्धान सुरु गरेको छ ।

अख्तियारको अभिलेखमा उल्लेख भएअनुसार, यी तीन विषय मुख्य आरोप दाबीमा समेटिए पनि, ती फरक प्रकृतिका तथा फरक निर्णयकर्ताद्वारा विभिन्न समय र प्रक्रियामा भएका हुनाले पृथक रूपमा छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । आयोगका अनुसार मुख्य मुद्दाको कारबाहीसँगै यी तीन छुट्टाछुट्टै फाइलमा पनि अनुसन्धान अगाडि बढाइनेछ ।

 

 

वाइडबडीको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको निर्णयलाई त्रुटिपूर्ण ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । आयोगले विशेष अदालतले सम्पूर्ण अभियोग, बिगो निर्धारण र प्रतिवादीहरूको भूमिकाबारे समुचितरूपमा नबुझी आंशिक मात्र दोषी तोकिएको भन्दै पुनरावलोकन मागसहित पुनरावेदन दर्ता गरेको हो ।

आयोगले जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध करिब १ अर्ब ४७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगको दाबी अनुसार नेपाल वायुसेवा निगमका पदाधिकारीले आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी करिब ७४ करोड ५८ लाख रुपैयाँ अनियमित भुक्तानी गरेका थिए । त्यसैगरी, खरिद गरिएको विमानको तौल २४२ टनबाट २३० टनमा घटाइए पनि मूल्य समानुपातिक रूपमा नघटाई अतिरिक्त करिब ७२ करोड रुपैयाँ भुक्तानी गरिएको आरोप अख्तियारले लगाएको छ । यी दुवै शीर्षकका कारण निगमलाई १ अर्ब ४७ करोड १० लाखभन्दा बढीको प्रत्यक्ष हानी पुगेको आयोगको निष्कर्ष छ ।

विशेष अदालतले २०८१ मंसिर २० गते सुनाएको फैसलामा विमान खरिदलाई ‘राष्ट्रिय आवश्यकतासँग सम्बन्धित विषय’ उल्लेख गर्दै नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन सचिव शंकरप्रसाद अधिकारी, सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने तथा आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिहरूलाई दोषी ठहर गरेको थियो । तर तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अधिकांश सञ्चालक समितिका पदाधिकारी तथा १४ जना निगम कर्मचारीलाई संलग्नता नदेखिएको, बदनियत प्रमाणित नभएको तथा प्रारम्भिक चरणको भूमिकामात्र भएको आधारमा सफाइ दिएको थियो ।

यिनै सफाइ र आंशिक दोषी ठहरविरुद्ध असहमति जनाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो। आयोगका अनुसार अदालतले मागअनुसार दफा ९ सम्बन्धी कसूरबारे प्रस्ट रूपमा नबोलेको, प्रतिवादीहरूको भूमिकालाई पूर्ण मूल्यांकन नगरेको र बिगो निर्धारणमा त्रुटि भएको भन्दै फैसला उल्ट्याई सफाइ पाएकाहरूलाई समेत कारबाही योग्य ठहर गर्न माग गर्नु परेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार विशेष अदालतको फैसला मुद्दाको मूल सन्दर्भ र अभियोगसम्बन्धी मागदाबीलाई समग्र रूपमा सम्बोधन गर्न असफल भएकाले सर्वोच्च अदालतमा पुनरावलोकन मागिएको हो ।

 

 

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा भ्रष्टाचार : सात जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मकवानपुर, हेटौंडाको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो र बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा अधिकृत नेत्रनर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठविरूद्ध मुद्दा दर्ता भएको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयले सुचना प्रकाशित गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरू ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम भ्रष्टाचार गरेको देखिएको छ । त्यसैले उनीहरूविरूद्ध सोही अनुसारको बिगो माग दाबी गरिएको छ ।

खानेपानीका तत्कालीन हाकिम यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर –४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निशान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो माग गरिएको छ ।

अख्तियारका ‘नक्कली उपसचिव’ कीर्ते कागजातसहित पक्राउ

काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

डोटी घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महराले तारकेश्वर क्षेत्रमा आफू अख्तियारको उच्च पदस्थ कर्मचारी भएको र कीर्ते कागजपत्र देखाएर स्थानीयलाई धम्क्याउने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई तारकेश्वर नगरपालिका–९, टुसाल चोकबाट विभिन्न सरकारी निकायका नक्कली लेटरप्याड र कागजातसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेटरप्याड, राष्ट्रिय वाणिज्य बैंकको डेपुटी म्यानेजर पदको परिचयपत्र, विभिन्न बैंकका स्टेटमेन्ट, एटीएम कार्ड, चेकबुक र हिसाबकिताब राखिएको डायरी बरामद गरेको छ । पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

मन्त्रीमा चर्चा भएकी डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जेनजीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा भएकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो । ‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ र फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको अखितयार स्रोतले जानकारी दिएको छ ।

उनी स्वास्थ्य सचिवको आकांक्षी थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन् । जेनजीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

स्वभाविक स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो । त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेश गरेको हो ।

मृत्तकसहित सात सयको नक्कली श्रेस्ता खडा गरी ७३ लाख ‘झ्वाम’, वडाध्यक्षसहित आठविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट र वडा अध्यक्ष भण्डारी मिलेर ६८३ जना लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाएर करिब ७३ लाख ३७ हजार ६२७ रुपैयाँ अपचलन गरेको पाइएको हो ।

अख्तियारको अनुसन्धान अनुसार, मृत व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने अभिलेख तयार गरिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम निकालिएको पाइएको छ ।
वडा सचिव बुढाले लाभग्राहीका नाममा आफैंले ४७९ वटा औठाछाप लगाएको र कार्यालय सहयोगी कठरियाले २०४ वटा औठाछाप नक्कली रूपमा प्रयोग गरेको कुरा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको आयोगले जनाएको छ ।

मृत्यु दर्ता भएका व्यक्तिका नाममा समेत नवीकरण गरी बैंक खातामा रकम पठाइएको, त्यसबापतका भरपाईमा वडा अध्यक्ष भण्डारी र अन्य जनप्रतिनिधीले प्रमाणित हस्ताक्षर गरेको पाइएको छ । अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो ।

मधेशका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका सांसद सरोजकुमार सिंहसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरी प्रतिनिधि सभा क्षेत्र नं ४ को प्रदेश सभा २ बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य समेत रहेका सिंहले मधेश प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८ ७९ मा विनियोजन भएको बजेटबाट विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिको खातामा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव बिनोदकुमारलाल कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गराएका थिए ।

एक करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये करिब २८.२५ प्रतिशत अर्थात् ३ करोड ८५ लाख ३ सय १९ रुपैयाँ घुस तथा कमिसनबापत लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । यस प्रकरणमा, सिंहले आफ्ना अनुकूलका पदाधिकारीलाई उपभोक्ता समितिमा चयन गराई बैठकका निर्णय स्वकीय सचिव कायस्थबाटै तयार गराएको, बैंक खाता खोल्दा न्यूनतम शुल्क समेत आफैले तिरेको र भुक्तानी लिने व्यक्ति तथा मिति उल्लेख नगरी खाली चेकमा अध्यक्ष र कोषाध्यक्षको दस्तखत गराई रकम नियन्त्रणमा लिएको पाइएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरीत काम नगरी सिंहले खटाएका कामदारमार्फत योजनाका काम सम्पन्न गराएको र त्यस बापतको कमिसन संयुक्त खातामा जम्मा गरेको अख्तियारको आरोप छ । उक्त कार्यमा संलग्न सिंह, रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउतकुर्मी, भुपेन्द्रकुमार झा, मन्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवीसमेत १६ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा कैद, बिगो बराबर जरिवाना र बिगो जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।

 

 

साढे चार लाख घुससहित प्रधानाध्यापक र बिचौलिया पक्राउ

रौतहट । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख ५० हजार घुस लिएको आरोपमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानु पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो । उनले विचौलियामार्फत ४ लाख ५० हजार घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचौलिया साहुकानुलाई बुझाएका थिए ।

उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

 

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा विशेष अदालतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएको जनाएको छ । आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको प्रतिवेदनमा उक्त संख्यामा उजुरी कायम रहेको उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका २८ हजार ५ सय ५४ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८ हजार ४ सय ७२ वटा उजुरीको दर्ता कायम भएको आयोगले जनाएको छ ।

सबैभन्दा धेरै अनलाइनमार्फत २७.६७ प्रतिशत उजुरी प्राप्त भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । ५२.८३ प्रतिशत उजुरी आयोगको केन्द्रिय कार्यालयमा परेका छन्। आयोगका मातहत कार्यालयहरूमध्ये सबैभन्दा बढी १०.७२ प्रतिशत बर्दिबासमा र सबैभन्दा कम २.४४ उजुरी नेपालगञ्जमा रहेका छन् ।

आयोगकाअनुसार दर्ता भएका उजुरीमध्ये ५३.८४ प्रतिशत स्थानीय तहसम्बन्धी, ३३.६९ प्रतिशत संघीय निकायसम्बन्धी र १२.४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन् । प्रदेशगत हिसाबमा सबैभन्दा धेरै उजुरी वागमती प्रदेशमा परेको आयोगले जनाएको छ । आयोगकाअनुसार वागमतीमा ११ हजार २ सय ७७ वटा उजुरी दर्ता भएका छन् । सबैभन्दा कम भने गण्डकी प्रदेश २ हजार ४ सय १३ वटा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

संघीय मन्त्रालयहरूमध्ये सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित रहेको छन् । सो मन्त्रालय सम्बन्धित १७.१२ प्रतिशत उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि गृह, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयमा बढी उजुरी परेका छन् । प्रदेश सरकारसम्बन्धी उजुरी भने सबैभन्दा बढी २५.९९ प्रतिशत मधेस प्रदेशको रहेको छ । सबैभन्दा कम ७.४८ प्रतिशत उजुरी गण्डकी प्रदेशका छन् । विषय क्षेत्रगतरूपमा परेका उजुरी संख्याको आधारमा कोसी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै रहेका छन्। मधेस प्रदेशमा भने भौतिक पूर्वाधार तथा यातायत क्षेत्रसँग सम्बन्धित उजुरीको सङ्ख्या सबैभन्दा बढी रहेको छ ।

स्थानीय तहसम्बन्धी उजुरीमा पोखरा महानगरपालिका सबैभन्दा बढी ४ सय १३ वटा उजुरी परेको छ । त्यसपछि काठमाडौं महानगरपालिका, छिपहरमाई गाउँपालिका (पर्सा) र सुवर्ण गाउँपालिका (बारा) प्रमुख स्थानमा परेका छन् । आयोगका अनुसार सबैभन्दा बढी ३८.२३ प्रतिशत उजुरी स्थानीय तह (संघीय मामिला) सँग सम्बन्धित रहेका छन् भने ११.२७ प्रतिश उजुरी स्थानीय तहको शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् । त्यसपछि क्रमशः भूमि प्रशासन, स्वास्थ्य, वन र वातावरण, गृह प्रशासन लगायत विषय क्षेत्रहरू रहेका छन् ।

२९ हजार ७ सय ३ उजुरी फछ्र्यौट
आयोगले प्रारम्भिक छानबिनमार्फत २९ हजार ७०३ उजुरी फछ्र्यौट गरेको छ । यसमध्ये ९२७ वटा विस्तृत अनुसन्धानमा गएको छ भने १७ हजार १ सय ३० उजुरी तामेली गरिएको छ । ५ सय ८६ उजुरीउपर सुझाव दिई तामेली गरिएको छ भने ११ हजार ६० उजुरीलाई कानूनबमोजिम अन्य कारबाही गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक छानबिनको क्रममा रहेका ७ हजार ३ सय २३ उजुरी चालु आर्थिक वर्ष २०८२/८३ मा जिम्मेवारी सरेर आएका छन् ।
आयोगकाअनुसार गत वर्ष ९ सय ४७ फाइल विस्तृत अनुसन्धान सकिएको छ । तीमध्ये १ सय ३७ मुद्दा विशेष अदालतमा दायर गरिएको प्रतिवेदनमा उल्लेख छ । आयोगले भ्रष्टाचारजन्य कसुरमा १ सय ३५ वटा र सम्पती शुद्धीकरण कसुरमा २ वटा गरी १३७ वटा मुद्दा विशेष अदालतमा दायर गरेको हो ।

भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । गैरकानूनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पतीको हानि नोक्शानीसम्बन्धी २४ वटा, गैरकानूनी सम्पती आर्जनसम्बन्धी ८ वटा र विविध विषयका ४ वटा मुद्दा रहेका छन् । यी मुद्दामा ७ सय ५३ प्रतिवादीमाथि कारबाही माग दाबी गरिएको छ । जसमा राष्ट्रसेवक कर्मचारी ३९२, निर्वाचित जनप्रतिनिधि ४८ र राजनीतिक नियुक्ति १८ जना छन् । मुद्दामार्फत ६ अर्ब १ करोड ८४ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।

आर्थिक वर्ष २०८१ /८२ मा विशेष अदालतमा भएका ३ सय ९३ मुद्दामध्ये करिव ५३ प्रतिशतमा कसुर कायम भएको आयोगले जनाएको छ। सर्वोच्च अदालतको फैसलाले स्टिङ अपरेसन रोकिएपछि घुस सम्बन्धी मुद्दाको सफलतादर भने घटेको आयोगले प्रतिवेदनमार्फत प्रष्ट पारेको छ । विशेष अदालतको फैसला चित्त नबुझेपछि २ सय ५१ वटा मुद्दाको सम्बन्धमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । साथै सर्वोच्च अदालतले गरेको फैसलामा चित्त नबुझी आयोगले सोही अदालतमा ५ वटा पुनरावलोकन निवेदन दिएको छ ।

प्रतिवेदनमा अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक कार्यसँगै तीनै तहका सरकारलाई नीति तथा कानूनी सुधारका सुझाव दिएको उल्लेख छ । आयोगले भ्रष्टाचारका जोखिमयुक्त क्षेत्रमा प्रोएक्टिभ अनुसन्धान गर्ने प्रणालीलाई पूर्णरूपले अवलम्वन गर्न नसकिएको जनाएको छ । भ्रष्टाचारबाट आर्जित आर्थिक हैसियतको सामाजिक स्वीकार्यता घटाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ । भ्रष्टाचार नियन्त्रणलाई बहुआयामिक रूपमा आर्थिक–सामाजिक विकास एजेण्डामा समावेश गरी मूल प्रवाहीकरण गर्नुपर्ने आवश्यकता आयोगको प्रतिवेदनले औँल्याएको छ ।

प्रधानमन्त्री कार्कीसँग अख्तियार प्रमुख राईको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गरेका छन् । आयोगका प्रमुख आयुक्त राईले सबै किसिमका भ्रष्टाटाचारको छानबिन गर्न आफू तयार रहेको जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई दिएका छन् ।

जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीलाई हटाउनु पर्ने आवाज उठिरहेका बेला शनिबार राईले कार्कीलाई भेटेर भ्रष्टाचार छानबिनमा आयोगलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

जेनजीको मागअनुसार नेताहरुले गरेको भ्रष्टाचारको छानबिनका लागि न्यायिक आयोग बनाउँदा संवैधानिक आयोगको क्षेत्राधिकारमा प्रवेश गर्ने भएकाले राईसहितका विवादित पदाधिकारीलाई बिदाइ गर्ने मनस्थितिमा सरकार छ ।

यस्तो अवस्थामा राईले प्रधानमन्त्री कार्कीलाई भेटेर स्वतन्त्रपूर्वक भ्रष्टाचारमाथि छानबिन अघि बढाउन आफू तयार रहेको बताएको स्रोतले जानकारी दिएको छ । वाइडबढी खरिदमा भएको भ्रष्टाचारमा आफै मुछिएका राईले अरुलाई मुद्दा चलाएर आफूलाई जोगाएका थिए । त्यसमा विशेष अदालतले टिप्पणी गर्दै आयोगको छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो । राईले राजनीतिक प्रतिशोधका आधारमा छानबिन र मुद्दा चलाएको आरोप छ।

चोरी भएका सामान फिर्ता गर्नु नभए कारबाही गरिन्छ : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा चोरी भएका र हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ ।

आयोगले आज (सोमबार) सूचना जारी गर्दै आयोगको इटहरी, पोखरी, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाट आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएको जानकारी दिएको हो ।

तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिक्स, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा लगायतका सामानहरू लुटपाट एवं चोरी भएको आयोगले जनाएको छ ।

‘तोडफोड तथा चोरीमा संलग्नहरूको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नु भएको भए ती सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगाल र आयोगका मातहतका कार्यालयको हकमा तत् तत् कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा लगेर बुझाउन अनुरोध छ,’ आयोगको सूचनामा भनिएको छ । अन्यथा कानुन बमोजिम भइजाने चेतावनी समेत आयोगले दिएको छ ।

हेर्नुस् सूचना

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । आन्दोलनरत जेनजी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् । उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।

सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् । सामाजिक सञ्जाल बन्द व्याप्त बेथितीको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरू केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा समेत प्रदर्शन रोक्न तयार देखिएका छैनन् ।

 

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक) मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो ।

आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलीखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।