मृत्तकसहित सात सयको नक्कली श्रेस्ता खडा गरी ७३ लाख ‘झ्वाम’, वडाध्यक्षसहित आठविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट र वडा अध्यक्ष भण्डारी मिलेर ६८३ जना लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाएर करिब ७३ लाख ३७ हजार ६२७ रुपैयाँ अपचलन गरेको पाइएको हो ।
अख्तियारको अनुसन्धान अनुसार, मृत व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने अभिलेख तयार गरिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम निकालिएको पाइएको छ ।
वडा सचिव बुढाले लाभग्राहीका नाममा आफैंले ४७९ वटा औठाछाप लगाएको र कार्यालय सहयोगी कठरियाले २०४ वटा औठाछाप नक्कली रूपमा प्रयोग गरेको कुरा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको आयोगले जनाएको छ ।
मृत्यु दर्ता भएका व्यक्तिका नाममा समेत नवीकरण गरी बैंक खातामा रकम पठाइएको, त्यसबापतका भरपाईमा वडा अध्यक्ष भण्डारी र अन्य जनप्रतिनिधीले प्रमाणित हस्ताक्षर गरेको पाइएको छ । अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो ।