चोरी भएका सामान फिर्ता गर्नु नभए कारबाही गरिन्छ : अख्तियार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा चोरी भएका र हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ ।
आयोगले आज (सोमबार) सूचना जारी गर्दै आयोगको इटहरी, पोखरी, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाट आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएको जानकारी दिएको हो ।
तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिक्स, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा लगायतका सामानहरू लुटपाट एवं चोरी भएको आयोगले जनाएको छ ।
‘तोडफोड तथा चोरीमा संलग्नहरूको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नु भएको भए ती सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगाल र आयोगका मातहतका कार्यालयको हकमा तत् तत् कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा लगेर बुझाउन अनुरोध छ,’ आयोगको सूचनामा भनिएको छ । अन्यथा कानुन बमोजिम भइजाने चेतावनी समेत आयोगले दिएको छ ।
हेर्नुस् सूचना