`

६ करोड बढी अकूत सम्पत्ति, भरतपुरका पूर्व इन्जिनियर अख्तियारको फन्दामा

Nepal One HD १३ माघ २०८२ १५:१२
प्रमुख खबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आचार्यले २०४८ साल माघ ६ गते राष्ट्रसेवकको रूपमा सेवामा प्रवेश गरेदेखि २०८० असार ६ गतेसम्मको अवधिमा आफ्नो वैधानिक आम्दानीभन्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ । सो रकमको स्रोत खुल्न नसकेपछि मंगलबार मुद्दा दायर गरिएको हो ।

अख्तियारले गरेको आय–व्यय विश्लेषणमा आचार्य र उनको एकाघर परिवारको वैधानिक आम्दानी ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ १८ पैसा मात्र देखिएको छ । यसमा तलब, भत्ता, जग्गा तथा सवारी बिक्री, श्रीमतीको पारिश्रमिक बचत, बैंक कर्जा, घर भाडा, लगानीबाट आएको नाफा र ब्याज आम्दानीसमेत समेटिएको छ ।

तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमा शुल्क, सन्तानको शिक्षा खर्च, कर्जा साँवा–ब्याज, विभिन्न फर्म तथा कम्पनीमा लगानी र बैंक खातामा मौज्दातसहित १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ १२ पैसा खर्च भएको देखिएको आयोगले जनाएको छ ।

सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा समेत सम्पत्ति खरिद गरिएको ठहर गर्दै आयोगले दुवैजनाविरुद्ध आरोपपत्र दायर गरेको हो । आयोगले आचार्यविरुद्ध बिगो रकम बराबर कैद र जरिवाना माग गर्दै लुकाइछिपाइ राखिएको सम्पत्ति जफत गर्नसमेत मागदाबी लिएको छ । उनकी श्रीमती सुवेदीको हकमा भने खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *