`

सिटिईभिटिका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड बढी खर्च लाग्नेः मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटिको विद्यार्थीको पुन परिक्षाको लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन् ।

मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जेन—जी आन्दोलनको क्रममा कोशी र वाग्मति प्रदेशका सिटिईभिटिका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए ।

यहाँका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको जानकारी दिदै उनले पुन परीक्षाको लागि तयारी भइरहेको बताए । परिक्षा दिनका लागि काठमाडौं आउननपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘अस्तीको आन्दोलन(जेन–जी आन्दोलन) मा सिटिईभिटिको विद्यार्थीहरुको उत्तरपुस्तीका जलेको हुनाले जो जसको कापी जलेको उनीहरुको फेरि परिक्षा लिने भन्ने कुरामा विद्याार्थीहरुको भीडभाड भयो । ती विद्यार्थीहरुको जाँच लिने भन्ने सहमति भएको छ । त्यो निर्णयमा कतिपय विद्यार्थीहरुको चित्त बुझेको छैन ।

उनीहरुको माग जाँच नदिई पास हुनुपर्छ भन्ने थियो । जाँच नदिई त कसरी पास गर्न सकिन्छ । खासगरि कोशी र बाग्मति प्रदेशको उत्तरपुस्तिका जलेको छ । करिब १० प्रतिशत विद्यार्थीको कापि जलेको रहेछ । त्यो जाँच उतै हुने, उतैको सेन्टरमा हुने, यता काठमाडौ आउन नपर्ने निर्णय भएको छ । त्यसको रुटिन पनि निस्किसकेको छ । सबै तयारी हुँदै छ । कापी जलेकाहरुको फेरि जाँच लिँदाखेरि झण्डै १ करोड ७५ लाख जतिको खर्च आउँदो रहेछ । त्यो सबै कुराहरुको व्यवस्था भएको छ ।’

उनले सिटिईभिटिको नयाँ सम्बन्धन दिनको लागि समिति गठन गरिएको पनि जानकारी दिए। सम्बन्धनका लागि २०६९ सालदेखी हालसम्म ४४२ वटा निवेदन परेकोले उक्त निवेदनहरुलाई छानविन गरेर दुई महिनाभित्र टुङ्याउने उनले दाबी गरे ।

उनले सिटिईभिटिको सम्बन्धन दिन र सिटिईभिटिलाई परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पनि जानकारी दिए ।

तलब पाइएन भन्ने गुनासो सबैभन्दा धेरै मधेशबाट आयो : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको गुनासो सबैभन्दा धेरै मधेश प्रदेशबाट आएको बताएका छन् ।

उनले आफूलाई तलब नखुवाएको ५०० बढी गुनासो फोन र इमेलबाट आएको जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै मधेशबाट आएको उनले लेखेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनेका भनेका छन्, ‘वर्ष दिनमा आउने दशैँ, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो ।’

शिक्षा मन्त्रालयले सबै पालिकालाई शिक्षकको तलबका पैसा पठाइसकेको मन्त्री पुनले उल्लेख गरेका छन् । ‘यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु’, मन्त्री पुनले लेखेका छन् ।

 

प्रत्यक्ष निर्वाचित कार्यकारीबारे अहिले सकिँदैन भन्ने कुरा छ : मन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा गरेको सम्बोधन अनुसार सरकारले काम गर्ने बताएका छन् । आज (शनिबार) आन्दोलनका घाइतेलाई भेट्न विभिन्न अस्पताल पुगेका मन्त्री पुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी पुस्ताको माग सम्बोधन गर्ने गरी सरकारले काम गर्ने जानकारी दिए ।

युवाहरूले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे अहिल्यै भन्न सक्ने अवस्था नभएको उनले बताएका छन् । उनले भने, ‘अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । आन्दोलनको माग सबैलाई थाहा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे पनि, अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन दिनमा कसरी परिवर्तन हुन्छ भन्न सकिँदैन ।’

उनले घाइतेहरूको स्वास्थ्यमा सुधार आइरहेको भन्दै पढाइको चिन्ता नगर्न भन्दै आवश्यक सहयोग सरकारले गर्ने बताए । उनले तत्कालीन सरकारमा संलग्नहरूलाई कारबाही गर्नको लागि आयोग गठन गरिसकेको भन्दै त्यसैको सिफारिस अनुसार प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

शिक्षामन्त्रीले सच्याए शिक्षकको तलवसम्बन्धी सूचना

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकको तलव रोक्कासम्बन्धी सूचना सच्याएका छन् । विद्यालय प्रधानाध्यापकले शिक्षकहरुको तलब रोकेको भन्दै गरिएको कारबाहीको सूचना मन्त्री पुनले सच्याएका हुन् । उनले यसअघि भोलिसम्म शिक्षकहरुलाई तलब निकासा नगरे प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।

तर, शिक्षकलाई तलब प्रअले नभइ पालिकाले दिने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै आलोचना भएपछि उनले यसअघि सामाजिक सञ्जालमा राखेको आफनो स्टाटस सच्याएका हुन् । शिक्षकलाई तलब कसले दिन्छ भन्ने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै आलोचना भएपछि उनले दोस्रो सूचना जारी गरेका हुन् ।

दोस्रो सूचनामा उनले भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धित पालिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् । मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् । उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको छ । तर पनि केही पालिकाले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरुको तलव निकासा नगर्ने प्रधानाध्यापकहरुलाई कारवाहीको चेतावनी दिएका छन् । उनले भोलिसम्ममा पनि शिक्षकहरुको तलब निकासा नगरे नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम दिएका छन् ।

मन्त्रालयबाट तलब निकासा गरिसकेको जानकारी गराउँदै तलब रोक्ने प्रअहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । दशैं–तिहारमा पनि कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् ।

उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो । तर पनि केही विद्यालयले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब नदिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति सदस्यहरूलाई नियमअनुसार कारवाही गरिनेछ’, पुनले भनेका छन् । दसैँ तिहार जस्तो ठूलो चाडपर्वमा शिक्षकहरूलाई तलब नदिएर मानसिक तनावमा पार्नु दुःखद भएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘तलव नखुवाउने प्रअहरुलाई सूचना – दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरुमा पठाईसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ ।

अब शिक्षा मन्त्रालय केशरमहलमा

काठमाडौं । भदौ २३ गतेबाट सुरु भएको जेन–जी युवाको आन्दोलनले सिंहदरबारभित्रका कयौँ सरकारी भवनहरूमा पुर्‍याएको क्षतिका कारण शिक्षा मन्त्रालय र गृह मन्त्रालयलाई तत्कालका लागि अन्यत्रै सार्ने तयारी गरिएको छ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले विशेषगरी शिक्षा मन्त्रालय र अन्य केही भवनहरूमा ठूलो क्षति पुगेको छ ।

शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार, सिंहदरबारभित्रको हालको भवन काम गर्न योग्य नभएपछि तत्कालका लागि मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनमा सार्ने तयारी गरिएको छ । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौँ ।’

यद्यपि, केशरमहलमा रहेको भवनमा शिक्षा मन्त्रालयका लागि पर्याप्त स्थान नभएको गुनासो पनि छ । त्यसैले, सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अन्यत्र सारेर भए पनि शिक्षा मन्त्रालयलाई त्यहाँ राख्ने तयारी भइरहेको बुझिएको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबारको मुख्य भवनसहित शिक्षा मन्त्रालय, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं जिल्ला अदालत लगायतका महत्वपूर्ण संरचनाहरूमा तोडफोड र आगजनी भएको थियो । शिक्षा मन्त्रालयका कतिपय कोठाहरू र काठका भर्‍याङहरू समेत जलेका छन् । आज शनिबार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।

आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई पनि नयाँ ठाउँमा सार्ने तयारी गरिएको छ । सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी गरिए पनि, प्राथमिकताका आधारमा गृह मन्त्रालयलाई उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयको टावरयुक्त भवनमा तत्काल व्यवस्थापन गर्न लागिएको छ ।

म्याग्दीका क्याम्पसमा विद्यार्थी संख्या निरन्तर ओरालो

म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी संख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ । सदरमुकाम बाहिर बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा एक सय १२ र घारको मुक्तिमार्ग क्याम्पसमा विद्यार्थी संख्या ५५ जना छ । समुदायस्तरबाट सञ्चालित तीनवटै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हुन् । विद्यार्थी संख्या कम भएपछि न्यू वेष्ट पोइन्ट फाउन्डेसनले व्यवस्थापन संकायमा सञ्चालन गर्दै आएको स्नातक तहको कक्षा दुई वर्षअघि बन्द गरेको थियो ।

पछिल्लो दुई दशकयताको न्यून जन्मदर, बढ्दो बसाइँसराइ र विद्यार्थीहरू रोजगारीसँगै अध्ययनको अवसर खोज्दै विदेश जाने क्रम बढेपछि निजी क्षेत्रले सञ्चालन गरेको क्याम्पस बन्द तथा समुदायको प्रयासमा सञ्चालन भएका क्याम्पसमा विद्यार्थी संख्या ओरालो लागेको हो ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले स्नातक तहमा नयाँ भर्ना हुने दर घटेको र भर्ना भए पनि अन्तिम वर्षसम्म नटिक्ने विद्यार्थी बढेका बताए । उनका अनुसार आर्थिक वर्ष २०७९ /८० मा स्नातक तहको मानविकी, व्यवस्थापन र शिक्षा संकायमा भर्ना हुने विद्यार्थीको संख्या आठ सय ८५ जना रहेकामा आव २०८०/ ८१ मा सात सय तीन र २०८१ / ८२ मा पाँच सय ५८ मा झरेको छ ।

स्नातक तहको कम्प्युटर विज्ञान विषयमा आव २०७९ / ८० मा २१, २०८० / ८१ मा २८ र २०८१ / ८२ मा २३ जना विद्यार्थी भर्ना भएका छन् । म्याग्दी क्याम्पसको व्यवस्थापन र शिक्षा संकायमा स्नाकोत्तर तह अध्ययनका लागि आव २०७९ / ८० मा ४५, २०८० /८१ मा ६० र २०८१ /८२ मा ४६ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसमा अध्ययनरत कुल छ सय २८ जनामध्ये ६४ दशमलव ९७ प्रतिशत छात्रा छन् । विद्यार्थी संख्या कम भए पनि क्याम्पसको उत्तीर्णदर बढेको प्रमुख सुवेदीले बताए । स्नातक तहमा २०७८ सालमा २८ दशमलव ६८, २०७९ मा ३५ दशमलव २२ र २०८० को उत्तीर्णदर ३७ दशमलव २२ छ । विसं २०८१ को नतिजा सार्वजनिक हुन बाँकी छ । स्नाकोत्तर तहमा सन् २०२३ को परीक्षामा सहभागी एक सय आठ विद्यार्थीले सबै विषय उत्तीर्ण गरेका क्याम्पस प्रमुख सुवेदीले बताए ।

‘विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको क्याम्पसमा उत्तीर्णदर बढे पनि विद्यार्थी संख्या बढाउन र टिकाउन चुनौती भएको छ’, उनले भने, ‘विद्यार्थीको संख्यासँगै शुल्कबाट हुने आम्दानी घट्दा क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन समस्या भएको छ ।’

म्याग्दी क्याम्पसका पूर्व प्रमुख समेत रहेका समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीका अनुसार त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त गरेका एक हजार ५०० मध्ये एक सयभन्दा कम विद्यार्थी रहेका क्याम्पसको संख्या चार सय छ । “पाँच सयदेखि माथि विद्यार्थी संख्या हुने सामुदायिक क्याम्पस एक सय पनि छैनन, करिब एक हजार जनाको हाराहारीमा विद्यार्थी हुने ४०–४५ वटा क्याम्पसमध्ये म्याग्दी क्याम्पस पनि एक हो’, उनले भने, ‘विसं २०७८ सम्म एक हजार ४०० को हाराहारीमा विद्यार्थी संख्या भएको क्याम्पसमा विद्यार्थी घट्नुको प्रमुख कारण वैदेशिक रोजगारी नै हो ।’

व्यवस्थापन संकायका ३५ विद्यार्थीले एकै वर्षमा जापान अध्ययन गर्न जानका लागि सिफारिसपत्र बनाएका उनले बताए । दश जोड दुई अध्ययन सकेपछि विद्यार्थी रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला सहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै जापान, अष्टे«लियाजस्ता देशमा जाने गरेका प्राध्यापक जिसीले बताए । ग्रामीण क्षेत्रका क्याम्पसमा अध्ययन गर्नेमा विपन्न समुदायका, छोरीबुहारी र जागिरेहरूको सङ्ख्या बाहुल्यता छ ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले छात्रावास, छात्रावृत्तिको सुविधा, उद्यमशीलता प्रवद्र्धन कार्यक्रम, लोकसेवा तयारी कक्षा, प्राविधिकतर्फ कम्प्युटर, विज्ञान विषयको कक्षा सञ्चालन गरेको बताए । ‘राज्यले नै उच्च शिक्षा अध्ययनसँगै रोजगारीको अवसर पाउने वातावरण नबनाए सामुदायिक क्याम्पसहरूमा विद्यार्थीको अभाव कायम रहन्छ’, उनले भने, ‘उच्च शिक्षाका लागि अन्य सहरमा जाने विद्यार्थीलाई जिल्लाकै क्याम्पसमा टिकाउन समुदाय केन्द्रित र स्थानीय तहसँग समन्वय गरेर अनुसन्धानमूलक परियोजनाको योजना बनाएका छौँ ।’

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा हटिसक्यो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन् । उनले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताए । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् ।

स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण यो क्याम्पसले प्रस्तुत गरेको छ ।’ कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्दैै उनले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताए । स्थापनाकालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७०० विद्यार्थीको शिक्षाको थलो बनेकाले आफैमा एक ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भने, ‘यस क्याम्पसले नारीको शिक्षामा मात्र नभई समग्र शिक्षा प्रणालीमै गुणस्तरीय योगदान पुर्‍याउँदै आएको छ । देशका करिब ६० भन्दा बढी जिल्लाका विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् । यसबाट नै यहाँको लोकप्रियता र प्रभाव स्पष्ट हुन्छ ।’

यस क्याम्पसबाट अध्ययन गरेर विद्यार्थीले देशका विभिन्न आयोग, सरकारी निकाय तथा निजी क्षेत्रसम्म सफलतापूर्वक रोजगार पाएका तत्थ्याङ्कले देखाएकाले यहाँ अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा उत्कृष्ट भएको आफूले महसुस गरेको उपप्रधानमन्त्री सिंहले बताए । हाल क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएकोप्रति पनि ध्यानाकर्षण गराउँदै उहाँले शिक्षा क्षेत्रमा थप स्तरोन्नतिको आवश्यकता औंल्याए ।

‘सरकार यस क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सशक्तीकरणमा आवश्यक सहयोग गर्न तत्पर छ । यस क्याम्पसलाई अझ बलियो र आधुनिक बनाउन राज्यले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ । शिक्षाको स्तरोन्नति र गुणस्तर वृद्धिका लागि सरकारले सक्दो सहयोग गर्नेछ’, उनले भने ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसकी प्रमुख अपराजिता अर्यालले क्याम्पसले हाल विभिन्न चुनौतीका बाबजुद पनि शैक्षिकस्तरलाई उत्कृष्ट बनाउन सफल भएको बताए । ‘विविध चुनौतीबीच पनि हाम्रो क्याम्पसले देशभरिमा आफूलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनेतर्फ कदम चालेको छ’, उनले भने ।

कार्यक्रममा विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको थियो भने केही प्राध्यापक र कर्मचारीलाई लामो समयको योगदानका लागि कदरपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

शिक्षाविदहरूले भेटे राष्ट्रपति, शिक्षा विधेयकमा राखे पाँच असहमति

काठमाडौं । शिक्षाविदहरूले आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनीले राष्ट्रपति पौडेललाई भेट्दै प्रस्तावित विद्यालय शिक्षा विधेयकमा संविधान रक्षकको भूमिका खेल्न आग्रह गरेका छन् । उनीहरूले प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा विधेयकले संविधान प्रदत्त सामाजिक न्याय र समतामूलक सिद्धान्तको मर्मलाई समेट्न नसकेको जानकारी गराएका छन् ।

उनीहरूले राष्ट्रपतिलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘यो दृष्टिकोणले हेर्दा यो विधेयकले खास सैद्धान्तिक वा वैचारिक आधार समाएको छैन । आधा शताब्दी लामो समयपछि आएको यो विधेयक बिलकुलै अग्रगामी छैन । भएका एकाध प्रावधानहरू पनि आखिरी अवस्थामा उल्ट्याउने दुष्प्रयत्न हुँदै गरेको विषय पनि सार्वजनिक भएको छ । समग्रमा हामी सविधान र त्यसको मर्मका संरक्षकको हैसियतले सम्माननीय राष्ट्रपति समक्ष निम्न विषयहरूमा ठोस ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

शिक्षाविद्हरूले नेपाल शिक्षक महासंघलाई राजनीतिक दलका भ्रातृ संगठनहरूको महासंघ भनी टिप्पणी समेत गरेका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘शिक्षक महासंघ दलीय भ्रातृ संगठनहरूको महासंघ हो । ट्रेड युनियन र पेसागत संगठनबीचको फरक स्पष्ट पार्नुपर्छ, अन्यथा शिक्षाको दलीयकरण नियन्त्रण गर्न सकिँदैन ।’

राष्ट्रपति भेट्न मंगलबार साँझ शीतल निवास पुगेको टोलीमा प्रा केदारभक्त माथेमा (शिक्षाविद्, पूर्वराजदूत, पूर्व उपकुलपति) प्राडा विद्यानाथ कोइराला (त्रिभुवन विश्वविद्यालय, शिक्षाविद्, शिक्षा अभियन्ता), प्राडा सुशन आचार्य (त्रिभुवन विश्वविद्यालय शिक्षाविद्, शिक्षा अभियन्ता), डा. अमिना सिंह (शिक्षा संकाय, काठमाण्डौ विश्वविद्यालय, शिक्षाविद्), राजेन्द्र दाहाल (सम्पादक– शिक्षक मासिक) र टीका भट्टराई (स्वतन्त्र शिक्षाकर्मी) थिए ।

भेटमा राष्ट्रपति पौडेलले अहिलेको अवस्थामा शिक्षा विधेयक मूलतः व्यवस्थापिकीय तथा कार्यकारी विषय भएको तर पनि यसलाई आफूले पनि गम्भीरतापूर्वक लिएको बताउँदै उचित समयमा आफ्नो भूमिका खेल्न नछाड्ने आश्वासन दिए ।

हेर्नुस् शिक्षाविदहरुको ध्यानाकर्षण पत्र
१. सर्वसाधारणका छोराछोरी पढ्ने विद्यालयमा गतिला शिक्षक भित्र्याउनु राज्यको दायित्व हो । असक्षम शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट मात्रै स्थायी बनाउनु राज्य स्रोतको दोहन मात्र नभई सर्वसाधारण अभिभावक र तिनका छोराछोरीलाई राज्यले ठग्नु पनि हो । तसर्थ सार्वजनिक विद्यालयमा आन्तरिकबाट बढीमा ६० र बाह्य प्रतिस्पर्धाबाट ४० प्रतिशत नै शिक्षक छानिनु पर्छ ।

२. यो विधेयक निःशुल्क तथा अनिवार्य शिक्षा विधेयक ऐन २०७५ सँग पनि बाझ्ने देखिन्छ । अन्य केही प्रावधानहरू संविधानद्वारा प्रत्याभूत संघीयताका मर्म अनुकूल पनि छैनन् ।

३. निजी र सार्वजनिक विद्यालय सहअस्तित्वका साथ अगाडि बढ्न सक्छन् तर पहिलाको दुष्प्रभाव दोस्रोमा नपर्ने गरी व्यवस्थापन गर्ने ढाँचाहरू खोज्नु पर्छ । तसर्थ ढाँचाहरू खोज्ने र र प्रयोग गर्ने बाटो विधेयकले बन्द गर्नु हुँदैन ।

४. विधेयकमा धेरै विरोधाभासहरू छन् । तिनलाई सच्याउनु पर्छ, जस्तैः निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लगिने भनेपछि फेरि नयाँ खोलिने निजी विद्यालय कम्पनीअन्तर्गत पनि खोल्न पाउने भन्ने कुरा पहिला दृष्टिमै मेल खाँदैन । यदि निजी विद्यालयलाई कम्पनी अन्तर्गत नै कायम राख्ने हो भने निजी कम्पनी अन्तर्गत दर्ता भएका विद्यालयहरूले राज्यको कम्पनी ऐनअन्तर्गत सञ्चालित हुनु पर्दछ, जस्तैः कर तिर्नुपर्दछ, पारदर्शी ढंगले लेखा परीक्षण गराउनु पर्दछ, शैक्षिक संस्थाले पाउने कर छुट माग गर्न मिल्दैन । कम्पनीअन्तर्गत दर्ता भएका अन्य संस्था, जस्तैः सामाजिक उत्तरदायित्व पनि वहन गर्नु पर्दछ ।

५. नेपालमा बहुसंख्यक बालबालिका बहुभाषिक छन्, यो अवस्थामा शिक्षणको माध्यम यो अथवा त्यो भाषा भन्न मिल्दैन । शिक्षणको माध्यम बहुभाषिक हुनु पर्दछ ।

रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिएको छ । महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ मंगलबार पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन गर्न दबाब दिनका लागि आफूहरू आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् । महासंघले यसअघि सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिइसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि महासंघले धर्ना दिएको थियो ।

सार्वजनिक शिक्षालाई उन्नत गराउनका लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको महासंघले बताएको छ । महासंघले २० भदौसम्म धर्ना कार्यक्रम जारी राख्ने जनाएको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग गरेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधिसभामा पठाएको छ ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो । विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।