सिटिईभिटिका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड बढी खर्च लाग्नेः मन्त्री पुन


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटिको विद्यार्थीको पुन परिक्षाको लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन् ।
मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जेन—जी आन्दोलनको क्रममा कोशी र वाग्मति प्रदेशका सिटिईभिटिका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए ।
यहाँका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको जानकारी दिदै उनले पुन परीक्षाको लागि तयारी भइरहेको बताए । परिक्षा दिनका लागि काठमाडौं आउननपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
उनले भने, ‘अस्तीको आन्दोलन(जेन–जी आन्दोलन) मा सिटिईभिटिको विद्यार्थीहरुको उत्तरपुस्तीका जलेको हुनाले जो जसको कापी जलेको उनीहरुको फेरि परिक्षा लिने भन्ने कुरामा विद्याार्थीहरुको भीडभाड भयो । ती विद्यार्थीहरुको जाँच लिने भन्ने सहमति भएको छ । त्यो निर्णयमा कतिपय विद्यार्थीहरुको चित्त बुझेको छैन ।
उनीहरुको माग जाँच नदिई पास हुनुपर्छ भन्ने थियो । जाँच नदिई त कसरी पास गर्न सकिन्छ । खासगरि कोशी र बाग्मति प्रदेशको उत्तरपुस्तिका जलेको छ । करिब १० प्रतिशत विद्यार्थीको कापि जलेको रहेछ । त्यो जाँच उतै हुने, उतैको सेन्टरमा हुने, यता काठमाडौ आउन नपर्ने निर्णय भएको छ । त्यसको रुटिन पनि निस्किसकेको छ । सबै तयारी हुँदै छ । कापी जलेकाहरुको फेरि जाँच लिँदाखेरि झण्डै १ करोड ७५ लाख जतिको खर्च आउँदो रहेछ । त्यो सबै कुराहरुको व्यवस्था भएको छ ।’
उनले सिटिईभिटिको नयाँ सम्बन्धन दिनको लागि समिति गठन गरिएको पनि जानकारी दिए। सम्बन्धनका लागि २०६९ सालदेखी हालसम्म ४४२ वटा निवेदन परेकोले उक्त निवेदनहरुलाई छानविन गरेर दुई महिनाभित्र टुङ्याउने उनले दाबी गरे ।
उनले सिटिईभिटिको सम्बन्धन दिन र सिटिईभिटिलाई परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पनि जानकारी दिए ।