शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनु पर्छ : मन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै अग्रसर हुनुपर्ने बताएका छन् । मन्त्रालयबाट मात्र निर्देशन जारी गरेर स्थानीय तहका विद्यालयमा सुधार सम्भव नहुने भन्दै उनले अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखेका हुन् ।
सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्, ‘जबसम्म स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन गर्दैनन् र कडा चेतावनी दिंदैनन्, तबसम्म सुधार हुन गाह्रो छ ।’ उनका अनुसार विद्यालय सुधारका लागि अभिभावकको सामूहिक दबाब नै सबैभन्दा प्रभावकारी उपाय हो । उनले संविधानले दिएको अधिकार प्रयोग गर्न अभिभावकहरूलाई आग्रह गर्दै विद्यालयको अवस्था सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार नेपाली संविधानले नै सुनिश्चित गरेको बताए ।
शिक्षा क्षेत्रको सुधारमा अभिभावकको भूमिका केवल सरोकारवालाको मात्र नभई परिवर्तनका संवाहकको रूपमा रहेको उनको भनाइ छ । मन्त्री पुनले काठमाडौंबाट जारी हुने निर्देशनले मात्र स्थानीय विद्यालयको गुणस्तर उकास्न नसक्ने स्पष्ट पार्दै, ‘बालबालिकाको भविष्य सुधार्न अभिभावक आफैं लाग्नु पर्छ,’ भनेका छन् ।

