दलमा आवद्ध शिक्षक–कर्मचारीलाई बर्खास्त गर्ने सरकारको चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र संलग्न भए पदबाट वर्खास्त गर्न सकिने जानकारी गराएका छन् ।
मन्त्रालयले शिक्षक संघ सङ्गठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरेको छ । ‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखे समेत जानकारी गराउँदछु,’ ध्यानकर्षण पत्रमा भनिएको छ ।
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको मन्त्री पुनको दाबी छ । ‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट वर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु,’ मन्त्री पुनले भनेका छन् ।
शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ सङ्गगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय भएको मन्त्री पुनले जनाएका छन् । ‘संघ सङ्गठनहरुलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानूनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ उनले भनेका छन् ।
हेर्नुस् विज्ञप्ति

