`

‘आसन्न निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्र जोगाउने निर्णायक संघर्ष’

काठमाडौं । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आगामी निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने निर्णायक संघर्ष भएको बताउँदै पार्टीको विजयका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । माघ ६ गते मनोनयन दर्तासँगै देश निर्वाचनको निर्णायक मोडमा पुगेको उल्लेख गर्दै पोखरेलले यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रको दिशानिर्देश गर्ने ऐतिहासिक अवसर भएको धारणा राखेका छन् ।

उनले वर्तमान अवस्थामा राष्ट्रियता कमजोर बनाउने, संविधानमाथि प्रहार गर्ने र जनताको भरोसा तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता चुनौतीका बिच नेकपा (एमाले) जनताको आशा, भरोसा र संघर्षको नेतृत्वकर्ता बनेर उभिएको बताए। पोखरेलका अनुसार नेकपा (एमाले) ले यस निर्वाचनलाई प्रतिष्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने वर्गसंघर्षको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ । उनले निर्वाचनलाई अराजकता, विध्वंस र अस्थिरताविरुद्धको निर्णायक लडाइँको संज्ञा दिँदै श्रमिक, किसान, युवा, महिला र आम नागरिकको हक–अधिकार सुरक्षित राख्ने शक्ति एमाले नै भएको दाबी गरे ।

‘एमालेको जित भनेकै संविधानको जित हो, लोकतन्त्रको जित हो र राष्ट्रको उज्यालो भविष्यको सुनिश्चितता हो,’ पोखरेलले भने । उनले यस ऐतिहासिक घडीमा नेकपा (एमाले) को विजय अपरिहार्य रहेको जोड दिए । नेता पोखरेलले सबै नेता, कार्यकर्ता, शुभेच्छुक र सचेत नागरिकलाई आपसी एकता, अनुशासन र दृढ संकल्पका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे । घर–घरमा एमालेको विचार पुर्‍याएर जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याउँदै उनले निर्वाचनलाई ऐतिहासिक विजयमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । उनले ‘संविधान बचाऔँ, लोकतन्त्र जोगाऔँ, देशको भविष्य सुरक्षित गरौँ’ भन्ने आह्वान गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) लाई विजयी बनाउन सबैलाई एकताबद्ध हुन आग्रह गरे ।

 

 

संकटमा पनि सतिसालझै उभिने पार्टी एमाले : पार्वत गुरुङ

दोलखा । नेकपा (एमाले) का नेता तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका उम्मेदवार पार्वत गुरुङले संकटका बेला पनि नेकपा (एमाले) सतिसालझैं अडिग भएर उभिने पार्टी भएको बताएका छन् । चुनावी सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले संविधान, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामथ्र्य एमालेसँग मात्रै रहेको दाबी गरे ।

उनका अनुसार विभिन्न चुनौती र दबाबका बीच पनि एमालेले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र जनताको अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्दै आएको छ । गुरुङले आगामी निर्वाचनलाई संविधान, राष्ट्रियता र जनहितको पक्षमा निर्णय गर्ने अवसरका रूपमा उल्लेख गर्दै दोलखाली जनतालाई विकास, स्थायित्व र सुशासनको मार्गमा अघि बढ्न एमालेको साथ दिन आग्रह गरेका छन् ।

 

 

अध्यक्ष ओली मतदाता भेटघाटमा व्यस्त

झापा । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धामा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक गृहनगर दमक पुगेका अध्यक्ष ओलीले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका थिए । आज बिहानैदेखि पनि उनी अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् ।

स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । झापा–५ सँगै सीमा जोडिएको इलाम–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुगेका थिए । उनले पार्टी अध्यक्ष ओलीको अभियानमा साथ दिइरहेका छन् । मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आज बिहानदेखि भेटघाट छलफललाई पुनः निरन्तरता दिएका छन् । अध्यक्ष ओली पर्सिसम्म दमकमा रहने कार्यक्रम छ ।

शंकर पोखरेल र प्रकाण्डको क्षेत्रमा एमाले–माओवादीबीच चुनावी तालमेल

दाङ । नेकपा (एमाले) र नेकपा (माओवादी) बीच प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने राजनीतिक सहमति भएको छ । सहमतिअनुसार दाङ–२ र कालीकोटमा दुवै पार्टीले एक–अर्काका उम्मेदवारलाई प्रत्यक्षतर्फ समर्थन गर्ने भएका छन् भने समानुपातिक निर्वाचनमा भने आ–आफ्नै चुनाव चिन्ह कायम राखेर प्रतिष्पर्धा गर्ने निर्णय गरिएको छ ।

माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले महासचिव शंकर पोखरेलबीच भएको समझदारीअनुसार दाङ–२ मा माओवादीले प्रत्यक्षतर्फ उम्मेदवारी नदिई एमालेका उम्मेदवार तथा पार्टी महासचिव शंकर पोखरेललाई समर्थन गर्ने भएको छ । यही सहमतिका कारण माओवादीले दाङ–२ मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता स्थगित गरेको माओवादी निकट अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सीले जानकारी दिए ।

उता कालीकोटमा भने एमालेले माओवादीका उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई समर्थन गर्ने सहमति भएको छ । माओवादीका प्रवक्ता समेत रहेका प्रकाण्डले कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् ।

माओवादी दाङका इन्चार्ज सविन पोखरेलका अनुसार दाङ–२ मा माओवादीका करिब १ हजार ६ सय पार्टी सदस्य र झण्डै ५ हजार शुभेच्छुक मतदाता रहेका छन् । उनले ती मतदाताले सहमतिअनुसार एमाले उम्मेदवार पोखरेललाई समर्थन गर्ने दाबी गरे । उनका अनुसार यो सहमति हाल मौखिक रहेको भए पनि केही दिनभित्रै लिखित रूपमा टुंग्याउने तयारी भइरहेको छ ।

यद्यपि, एमालेका शीर्ष नेताहरूले यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहेका छैनन् । माओवादी पक्ष भने दुई क्षेत्रमा आपसी समर्थन मात्रै भएको र समानुपातिक मत भने आफ्नै चुनाव चिन्हमा हाल्नुपर्ने स्पष्ट नीति रहेको बताइरहेको छ। उल्लेखनीय छ, विप्लव नेतृत्वको माओवादी यसअघि (स्थानीय तहको पछिल्लो निर्वाचनबाहेक) लामो समयसम्म संसदीय निर्वाचन बहिष्कार गर्दै आएको थियो । यस पटक भने प्रकाण्डको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै एमालेसँग सीमित क्षेत्रीय तालमेल गरेको छ ।

 

ओलीले गरे झापामा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गरेका छन्। जेन–जी आन्दोलनपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले क्षति भएको सम्पतिको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताए।

गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो। सो घटनापछि ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्ध लगाइएको थियो। जुन हालै मात्र हटाइएको छ।

प्रतिवन्ध फुकुवापछि झापा आएका ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी समेत थालेका छन्। झापा–५ बाट नै उम्मेदवारी दिने तयारीमा रहेका ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ। निरीक्षणपछि अध्यक्ष ओलीले शान्ति र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले हिंसात्मक घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग पनि गरेका छन्।

शंकर पोखरेललाई हराएकी रेखाले यस पटक चुनाव नलड्ने, एमालेलाई राहत

दाङ । तीन वर्षअघि दाङ क्षेत्र नम्बर–२ मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रेखा शर्माले यस पटकको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेकी छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १९६ मतको अत्यन्त सानो अन्तरले शंकर पोखरेललाई पराजित गरेकी थिइन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी थिइन् भने पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए ।

यसपालि पनि दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेल उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिद्वन्द्वी रेखा शर्माले चुनाव नलड्ने भएपछि एमालेका लागि यो क्षेत्र केही हदसम्म सहज हुने अनुमान छ । नेपाली कम्युनिष्ट पार्टीले भने यस पटक माओवादी र अन्य गठबन्धन दलसँग मिलेर यहाँ निर्मल आचार्यलाई उम्मेदवार बनाउने योजना टुंगोमा पुगेको छ । रेखा शर्माले चुनाव नलड्ने निर्णयको कारणका रूपमा आफू दुई पटक समानुपातिक र एक पटक प्रत्यक्ष निर्वाचन जितिसकेको अनुभवलाई औंल्याएकी छन् ।

उनले भनिन्, ‘म दुईचोटी समानुपातिक सांसद भएँ, एक पटक प्रत्यक्ष चुनाव जितें । यसपालिको चुनावमा उम्मेदवारी दिन्नँ ।’ साथै, यसपालि उनलाई क्षेत्रले सिफारिस पनि नगरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङ-२ बाट सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यस प्रकार, यस क्षेत्रको चुनावी प्रतिष्पर्धामा नयाँ उम्मेदवार र गठबन्धनको भूमिका महत्वपूर्ण हुने देखिएको छ, जसले आगामी निर्वाचनलाई अझ रोचक र असमान बनाएको छ।

 

 

 

 

 

रवि सहकारी ठग हुन्, निर्वाचनमा बहिष्कार गर्छौं, लखेट्छौं : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिएका छन् । सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उनले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन केन्द्रिय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको पक्षमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहकारी अभियान शुरु गरे पनि त्यसमा ठगी गरेकाले एमालेले आगामी निर्वाचनमा त्यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने अवस्था आएको जिकिर गरे ।

उनले भने, ‘सहकारीको अभियन्ता मनमोहन अधिकारी हो, एमाले हो । आज त्यो सहकारी ठग ती साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने ती हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय रुपमा दमन गर्ने, त्यो सहकारीलाई समाप्त गर्ने, त्यो सहकारी ठग रवि लामिछानेलाई त्यो सहकारी अभियन्ता एमाले अध्यक्ष केपी ओली । हाम्रो भोट त्यसलाई हो । सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेटने हो । यसपालीको आन्दोलनका एजेण्डा यही हो । १० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमति लिएर हिँडेको छ ।’ सचिव बस्नेतले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत बताए ।

निर्वाचन एमालेका लागि परीक्षा, टिकटको विषय गौण : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक मोडको रूपमा चित्रण गर्दै टिकटको विषयलाई गौण बनाएर पार्टी एकताको पक्षमा उभिन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले यो निर्वाचन केवल उम्मेदवारको प्रतिष्पर्धा मात्र नभई पार्टीको संगठनात्मक शक्ति र वैचारिक प्रतिबद्धताको परीक्षा पनि भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता रिमालले आम निर्वाचनमा एमालेले संगठित र अनुशासित रूपमा मैदानमा उत्रिनुपर्ने उल्लेख गरेका छन् । पार्टीलाई जिताउन सबैले आ–आफ्नो भूमिकाबाट सक्रिय हुनुपर्ने बताउँदै उनले उम्मेदवार, परिचालक वा प्रचारक जुनसुकै हैसियतमा रहे पनि लक्ष्य एउटै हुनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीभित्र एक लयमा अघि बढ्न नसके उम्मेदवार मात्र होइन, समग्र संगठन नै कमजोर हुने चेतावनी दिएका छन् । एकता बिना न त उम्मेदवारले जित हात पार्ने अवस्था रहन्छ न त संगठनले उपलब्धिको श्रेय पाउने भन्दै उनले आन्तरिक मतभेद र असन्तुष्टिलाई अहिलेका लागि थाती राख्न आग्रह गरेका छन् ।

टिकट वितरणको विषयमा उठ्ने असन्तुष्टिलाई सम्बोधन गर्दै नेता रिमालले यस पटक अवसर नपाएकाले आगामी निर्वाचनमा अवसर पाउने विश्वास व्यक्त गरेका छन् । वर्तमान अवस्थामा पार्टीमाथि घेराबन्दी र आक्रमण तीव्र रहेको उल्लेख गर्दै उनले तत्कालीन चुनौती सामना गर्न सबै ऊर्जा चुनावी अभियानमै केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।

एमाले निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म देश रूपान्तरणका बाँकी कार्यहरू अधुरा रहने बताउँदै उनले यस निर्वाचनलाई सत्ता प्राप्तिको साधारण प्रतिष्पर्धा मात्र नभई वैचारिक जनमत संग्रहका रूपमा व्याख्या गरेका छन् । ‘यो चुनाव बनाउने र भत्काउने, जोगाउने र जलाउने शक्तिहरूबीचको छनोट हो,’ उनको भनाइ छ । नेता रिमालले आम निर्वाचनमा एमालेका सबै उम्मेदवारहरूलाई जितको शुभकामना व्यक्त गर्दै पार्टीलाई पहिलो शक्ति बनाउने साझा लक्ष्यका लागि सम्पूर्ण पंक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस विभाजनबारे ओली : कसैले सडकमा बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन् । पार्टीको विधान, विधि र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै सडकको भीडलाई बहुमत ठान्ने प्रवृत्तिले लोकतन्त्र नै संकटमा पर्ने उनको चेतावनी थियो ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विशेष महाधिवेशनको नाममा पार्टी विधान लत्याउने र सडकबाट बहुमत प्रमाणित गर्न खोज्ने अभ्यासले समाजलाई अराजकतर्फ लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए । ‘बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने भन्ने थिति हुन्छ। बहुमत–अल्पमत टुंग्याउने विधि हुन्छ’, उनले भने, ‘कसैले सडकमा बहुमत पुगेको छ भनिदिँदैमा बहुमत पुग्छ ?’

कांग्रेस विभाजनको अवस्थामा पुग्नु आफूलाई आश्चर्य र पीडादायी लागेको उल्लेख गर्दै ओलीले लोकतन्त्र, संविधान र कानूनी शासन मिचिएको वर्तमान अवस्थामा कांग्रेस जस्तो पार्टीले आन्तरिक झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘लोकतन्त्रका लागि लड्नुपर्ने बेला पार्टी फुटाउने स्थितिमा कांग्रेस पुगेको छ’, उनले प्रश्न गरे, ‘यो कांग्रेसका नेता–कार्यकर्ताका लागि चिन्ताको विषय होइन र ?’ अध्यक्ष ओलीले एमालेभित्र पनि सानातिना असन्तुष्टि थाती राखेर एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे । ‘अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन’, उनले भने, ‘देश, जनता, लोकतन्त्र, शान्ति र सुशासनका लागि दिल खोलेर लड्ने बेला हो ।’

सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन

कार्यक्रममै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन विशेष निर्देशन दिएका छन् । ‘अबको लडाइँ सामाजिक सञ्जालबाट पनि लड्नुपर्छ’, उनले भने, ‘दिनमा कम्तिमा १० वटा मेसेज गर्नुस्, १० वटा स्टाटस लेख्नुस् । राम्रो कामको प्रशंसा गर्नुस्, लाइक थिच्न कञ्जुस्याइँ नगर्नुस् ।’ अहिले विश्राम गर्ने समय नभएको उल्लेख गर्दै उनले ‘४० कटेपछि रमाऔंला’ गीतको उदाहरण दिए ।

‘अहिले थकाइ मार्ने बेला होइन, चुनावपछि थकाइ मारौंला’, उनले भने । आगामी प्रतिनिधिसभा निर्वाचन जुनसुकै महिनामा भए पनि एमालेले ‘स्विप आउट’ गर्ने दाबी गर्दै उनले सानो अन्तरले होइन, ठूलो मतान्तरले जित्नुपर्नेमा जोड दिए ।एमाले नै देशको सबैभन्दा सशक्त, संगठित र एकीकृत पार्टी भएको दाबी गर्दै ओलीले भने, ‘वडा–टोलसम्म संगठन भएको पार्टी अरू कसैको छैन । उम्मेदवार खोज्न हात उठाउनु पर्ने अवस्था अरूको छ ।’ आगामी चुनावपछि एमाले प्रमुख दल बन्ने उनको विश्वास थियो ।

 

 

 

निर्वाचनको सहज वातावरण बनेको छैन : एमाले

काठमाडौं । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रवार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई सो भनाई राखेका हुन् ।

उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्न समेत गरे । उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको समेत स्मरण गराए ।

उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो ? यो आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि को मनिटरिङ सिष्टम प्रभावकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन । निर्वाचन सहज बनेको छैन ।’

उनले भने, ‘विशेष गरी पैसाको चललेख र अघि भने जस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ? यो एउटा पक्ष रह्यो भने अर्को यो निर्वाचनका लागि उम्मेदवारी ढुक्कका साथ जनतामा जान पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भईसकेको छैन हाम्रो मान्यता रहेको छ । त्यसकारण त्यो विश्वास दिलाउने कुरामा निर्वाचन आयोगको भूमिका के कस्तो रहेको छ ?’ सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धि आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए ।

 

 

 

 

एमालेको आरोप : सुशीला सरकार रविको दललाई बलियो बनाउने गतिविधिमा

काठमाडौं । नेकपा (एमाले) यही माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ । पार्टी सचिव महेश बस्नेतले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराए ।

उनले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताए । उनले अझै पनि जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरु फिर्ता गर्न नसकिएको उल्लेख गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाए । लामिछानेलाई सम्पती शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गरे ।

उनले भने, ‘यही माघ ४ गते हामी खुला सभामार्फत नेकपा (एमाले) चुनावमा होमिएको सन्देश दिँदैछौँ । हामीले चुनावमा भाग लिन्नौँ भनेर कहिले पनि भनेका छैनौँ । अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले प्रहरी र प्रशासनको मनोबल कमजोर छ । न्यायालय र सेनाको मनोबल कमजोर छ । प्रहरीहरु घाइते छन् । लुटिएका हतियार र भागेका कैदीहरु अझै फिर्ता भएका छैनन् । अपराधिक गतिविधिहरु अहिले पनि बढिरेहका छन् । अदालत जल्ने कुरा आफ्नो ठाउँमा छ । न्याय नै जलिरहेको छ। सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ । रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरु मन्त्रीहरुको चाला अहिले पनि सुध्रिएको छैन । सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरुको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठुला दलहरुका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले–काँग्रेसलाई कमजोर बनाउने प्रयत्न हो ।’ उनले कांग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरुको चालामाला ठिक नभएको उनको जिकिर छ ।

 

 

 

 

 

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के–के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज (शनिबार) देखि ललितपुरमा सुरु हुँदैछ । ११ औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि नीतिगत र सांगठनिक निर्णय लिन यो बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे बैठक सुरु हुनेछ । पुस २८ गतेसम्म चल्ने यस बैठकले मुख्य गरी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नेछ ।

महाधिवेशन लगत्तै पुस ४ गते बसेको पहिलो बैठकले तय गरेको कार्यतालिका अनुसार बस्न लागेको यो बैठकमा चुनावी तयारीका साथै आन्तरिक सांगठनिक व्यवस्थापनका विषयमा पनि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ । विशेष गरी पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठनको विषय बैठकको प्रमुख एजेण्डामा रहेको छ ।

एमालेले निर्वाचनमा पराजित भएका, पार्टीमा लामो योगदान गरेका पाका नेताहरू र कार्यकारी भूमिकाबाट विश्राम लिएका व्यक्तित्वहरूलाई समेटेर शक्तिशाली सल्लाहकार परिषद् बनाउने तयारी गरेको छ । यसअघि नै अध्यक्ष ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भइसकेको सन्दर्भमा, आजको बैठकले चुनावी अभियानलाई थप तीव्रता दिनेछ ।

बालेन, रवि, कुलमानलक्षित ओलीको टिप्पणी : २० वर्ष चुनाव जित्नेवाला छैनन्, डम्फु बजाउनु बेग्लै कुरा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै २० वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन) ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए ।

उनले एमाले–कांग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताए । उनले भने, ‘चुनाव भयो भने हामी सहभागी हुन्छौँ । र चुनाव जित्छौ । म सुन्छु–एमाले–कांग्रेसले जित्छ भने चुनाव नगराराउने रे । अनि फलानाले जित्छ भने मात्रै गराउने रे । ती फलाना, फलानाले अब आउँदो २० वर्ष कमसेकम जित्नेवाला छैनन् । के गर्ने त ? चुनाव नगराउने २० वर्ष ? अब २० वर्ष तीनले चुनाव जित्नेवाला छैनन् । यो डम्फु बजाउन बेग्लै कुरा हो । के गर्ने त ।’

म फेरि दोहोर्‍याएर भन्छु–चुनाव गराए एमालेले चुनाव जित्छ ल । अब के गर्ने त ? कि हामीले यो नभनिदिनु पर्ने ? चुनावमा हामीले के भनिदिनु पर्ने ? उहाँहरुले नै जित्नु हुन्छ भनिदिनु पर्ने ? उहाँहरुले अगाडि सारेका प्रधानमन्त्रीलाई यस्तो महान काम गरेको छ, देश बनाएको छ, बाटो हेर्‍यो, उहाँहरुले अगाडि सारेको मान्छे देखिन्छ, पुल उसैले बनाएको छ । एयरपोर्ट उसले बनाएको छ । कृषिको आधुनिकिकरण उसैले गरेको छ । यो गरेको छ । त्यो गरेको छ । भन्ने कि के भन्ने ?’ अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गरे । सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उनको आरोप थियो ।

 

 

एमाले सचिवालय बैठक जारी, यस्ता छन् आठ एजेण्डा (तस्वीरहरु)

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिको समग्र समीक्षा गर्दै आगामी निर्वाचन र संगठनात्मक तयारीलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

बैठकको मुख्य केन्द्रबिन्दु माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन रहेको छ । यसअन्तर्गत एमालेले उम्मेदवार चयन गर्ने निर्णय आजै टुंगो लगाउने तयारी गरेको छ । यसअघि नेपाली कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच सिट बाँडफाँडका विषयमा छलफल भइसकेको सन्दर्भमा आजको बैठकले सहकार्यको मोडालिटी र उम्मेदवारीलाई अन्तिम रूप दिनेछ ।

सचिवालय बैठकमा प्रस्तुत आठ कार्यसूचीमध्ये दोस्रो र तेस्रो एजेन्डामा आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन घोषणा–पत्र तयारी समिति र निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव छ । साथै निर्वाचन केन्द्रित भूगोलको कार्य विभाजन गरी पार्टी संगठनलाई थप सक्रिय बनाउने योजना पनि बैठकमा छलफल भइरहेको छ ।

युवालाई लक्षित विशेष निर्वाचन परिचालन रणनीति बनाउने विषय पाँचौं कार्यसूचीका रूपमा समेटिएको छ । पार्टीले आगामी निर्वाचनमा युवा सहभागिता र परिचालनलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ । संगठनात्मक पक्षमा पनि बैठक महत्वपूर्ण छ । संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी तथा सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने प्रस्ताव बैठकमा छ । यससँगै पार्टी नियमावली र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्ने एजेण्डा पनि सचिवालय बैठकमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकका लागि प्रस्तावहरूलाई अन्तिम रूप दिने विषयमा पनि सचिवालय बैठकमा छलफल भइरहेको छ । समग्रमा, आजको बैठकले एमालेको आन्तरिक संगठन सुदृढीकरणदेखि बाह्य राजनीतिक रणनीतिसम्मका विषयमा दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
हेर्नुस् तस्वीरहरु

महेश बस्नेत भक्तपुर–२ र गोकुल बास्कोटा काभ्रे–२ बाट एकल सिफारिस

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर–२ र काभ्रे क्षेत्र नम्बर–२ मा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । पार्टीको क्षेत्रीय तहका बैठकहरूले दुवै निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस गर्ने निर्णय गरेका हुन् ।

भक्तपुर–२ मा पार्टी सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई ‘एकल र सर्वसम्मत’ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । आइतबार राति सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकले पार्टीको संगठनात्मक एकता र निर्वाचन जित सुनिश्चित गर्ने लक्ष्यसहित बस्नेतको नाम अघि सारेको हो । यसअघि अनुभवी नेता राजेन्द्र राजथला र युवा नेता अनिल श्रेष्ठले पनि उम्मेदवारी दाबी प्रस्तुत गरेका थिए । तर, पार्टी हितलाई प्राथमिकतामा राख्दै दुवै नेताले आफ्नो दाबी फिर्ता लिएपछि बस्नेतको नाममा सर्वसम्मति जुटेको हो ।

निर्णय सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत दाबी त्याग गर्ने सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै एकताबद्ध ढंगले निर्वाचनमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले पार्टीभित्रको सहकार्य र विश्वासलाई आगामी प्रतिस्पर्धामा बलियो आधार बनाइने संकेत दिएका छन् । यस्तै, काभ्रे–२ मा एमालेका नेता गोकुल बास्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । सचिव पदमा पराजित भए पनि बास्कोटा यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निरन्तर प्रतिष्पर्धा गर्दै आएका अनुभवी नेता हुन् । उनले २०७४ र २०७९ का निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका थिए ।

महेश बस्नेत र गोकुल बास्कोटा दुवै २०७० सालदेखि आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् । बस्नेत २०७४ मा भक्तपुर–२ बाट निर्वाचित भएका थिए । पार्टी नेतृत्वका अनुसार, दुवै क्षेत्रमा एकल नाम सिफारिस हुनु संगठनात्मक एकता, अनुशासन र चुनावी तयारीको संकेत हो । एमालेले अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । पार्टी स्रोतका अनुसार, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वयमा उम्मेदवार चयन गरी जितमुखी रणनीतिका साथ चुनावी अभियान अघि बढाइनेछ ।

 

सरकार आफै चुनाव बिथोल्न लागिपरेको छ : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार निर्वाचन बिथोल्ने योजनामा लागेको गम्भीर आरोप लगाएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार कैदीहरू फिर्ता नभएको अवस्थाले सरकार निर्वाचन गराउन इच्छुक नभएको पुष्टि हुने दाबी गरे ।

उपमहासचिव महासेठका अनुसार २३ र २४ गते लुटिएका हजारौं हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन भने फरार कैदीहरूको बहुसंख्यक अझै बाहिर छन् । यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ भन्दै उनले प्रश्न उठाए । ‘बाहिर रहेका कैदी र हतियारहरू कसको विरुद्ध प्रयोग हुन्छन् ? यो सोचनीय विषय हो,’ उनले भने ।

एमाले निर्वाचनबाट भाग्ने पक्षमा नरहेको स्पष्ट पार्दै महासेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन तयार रहेको बताए । तर, उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विगतको नजिरअनुसार फैसला गर्नुपर्ने माग राखे । ‘संसद् विघटनपछि अदालतले स्थापित गरेको नजिर फेरि कायम होस्,’ उनले भने । उनले संघीयता, लोकतन्त्र र गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । महासेठले सरकारको भूमिकालाई लिएर चर्को आलोचना गर्दै निर्वाचनको तयारीमा गम्भीरता नदेखाएको आरोप लगाए ।

उपमहासचिव महासेठले आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् । उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।
आगामी चुनावमा कांग्रेस र एमाले मिलेर जान सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उत्तरमा महासेठले भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ ।’

 

महाधिवेशनपछि पहिलो एमाले सचिवालय बैठक {तस्वीरहरु}

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि अन्तिम रूप दिने एजेण्डा रहेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको छ ।

जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आजको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ । बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने बताइएको छ । महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।
तस्वीरहरु : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउँछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहना रहेको उनको भनाइ छ । उनले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे ।

उनले भने, ‘हामी जस्तो परिस्थिति आउँछ त्यसरी नै जाने हो । यदि निर्वाचनको वतवरण बनाउँछ सरकारले हामी निर्वाचनमा सहभागि हुन्छौं, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनाव होस् भन्ने पर्खिरहेका छौँ । तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन ।’ उनले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गरे ।

 

निर्वाचनको सम्भावना छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको ११औँ महाधिवेशन सफल बनाउन भूमिका खेलेका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले निर्वाचनका लागि अनुकूल वातावरण नबनेको बताए । अध्यक्ष ओलीले सरकारको गतिविधिले समाजमा भय र त्रासको वातावरण सिर्जना भएको आरोप लगाए । उनका अनुसार नेताहरूमाथि प्रतिबन्ध लगाउने, अखबारबाजी गर्ने, सामाजिक सञ्जालमार्फत दुस्प्रचार गर्ने तथा मिडिया ट्रायल जस्ता कार्यहरू निरन्तर भइरहेका छन्, जसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले निर्वाचनविरोधी नभई प्रतिगमनविरोधी भएको धारणा स्पष्ट रूपमा राखिएको जानकारी दिए । उनले असंवैधानिक ढंगले सरकार गठन भएको आरोप लगाउँदै सकेसम्म छिटो संसद्को पुनःस्थापना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापनाको मागमा एमाले अडिग रहेको बताउँदै अदालतले गर्ने निर्णयको कार्यान्वयन सबैले स्वीकार गर्नुपर्ने सहमति भएको पनि उल्लेख गरे । ‘हामीले चुनाव हुनु हुँदैन भनेका छैनौँ, प्रतिगमन हुनु हुँदैन भनेका हौं’, उनले भने ।

उनले पछिल्लो समय ‘जेन–जी’ को नाममा केही व्यक्तिहरूले समाजमा अराजकता फैलाउने र भय सिर्जना गर्ने गतिविधि गरिरहेको टिप्पणी पनि गरे । नव युवाहरूको नाम बेचेर केही ‘छट्टु टाठाबाठा’ हरूले आफ्नो स्वार्थ पूरा गरिरहेको उनको आरोप थियो । अध्यक्ष ओलीका अनुसार वर्तमान अवस्थामा न त निर्वाचनको वातावरण बनेको छ, न त बन्ने कुनै लक्षण देखिएको छ । त्यसैले तत्काल निर्वाचनको सम्भावना नरहेको उनको निष्कर्ष थियो ।

 

 

योगेश भट्टराईको ६ शब्दको स्टाटसले एमालेमा तरङ्ग

काठमाडौं । एमालेका नव निर्वाचित उपमहासचिव योगेश भट्टराईको ६ शब्दको एउटा स्टाटसले कार्यकर्तामा तरङ्ग सिर्जना गरेको छ । नेता भट्टराईले मंगलबार साँझ आफ्ना दुई तस्बिरसहित लेखेको ६ शब्दको स्टाटसलाई लिएर एमालेका नेता कार्यकर्ताले विभिन्न टिप्पणी गरिरहेका छन्। मंगलबार साँझ घाम अस्ताउँदै गरेको दृश्यसहित भट्टराईले सामाजिक सञ्जालमा आफ्ना दुई तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘मित्रहरू, घाम अस्ताएको हो, जीवन होइन!’

उनको यो स्टाटस द्विअर्थी भएको भन्दै एमालेकै नेता–कार्यकर्ताले विभिन्न टिप्पणी गरिरहेका छन् । कतिपयले यस्ता अभिव्यक्तिले एमालेलाई कमजोर बनाउने भन्दै ख्याल गर्न भनेका छन् । एमालेकै केही कार्यकर्ताले भने पार्टीलाई मजबुद बनाउनेतिर लाग्नु भन्दा कमजोर बनाउनेतिर लागेको भन्दै उनको आलोचना गरेका छन् । भट्टराई एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट एमाले उपमहासचिवमा विजयी भएका नेता हुन् । महाधिवेशनपछि अध्यक्ष ओलीले आइन्दा पार्टी नेतृत्वको आलोचना नगर्न भने पनि ईश्वर पोखरेल पक्षका नेताहरूले भने ओलीको आलोचना गर्न छाडेका छैनन् ।

 

एमालेले आज सातै प्रदेश र ७७ जिल्ला कमिटीको ‘भर्चुअल’ बैठक गर्दै

काठमाडौं । नेकपा (एमाले) ले एघारौं महाधिवेशनबाट पारित निर्णय र राजनीतिक सन्देश संगठनका सबै तहसम्म प्रवाह गर्ने उद्देश्यका साथ आज सातै प्रदेश र देशभरका ७७ वटै जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ। पार्टी संगठनलाई एकै पटक सम्बोधन गर्ने लक्ष्यसहित जुममार्फत हुने यो बैठक मंगलबार दिउँसो २ बजे सुरु हुने बताइएको छ ।

बैठकलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनपछि पहिलो पटक यति ठूलो संख्यामा पार्टी संरचनालाई एउटै मञ्चबाट जोड्ने उद्देश्यले भर्चुअल बैठकको आयोजना गरिएको हो । उनका अनुसार जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्यसम्म तथा प्रदेश कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यलाई बैठकमा सहभागी हुन आवश्यक जुम आइडी र विवरण पठाइसकिएको छ ।

महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व, त्यसको जिम्मेवारी, वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भूमिकालगायत विषयमा महासचिव पोखरेलले स्पष्ट धारणा राख्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए । उनले महाधिवेशनका प्रारम्भिक निर्णय र राजनीतिक निष्कर्ष जनस्तर र पार्टीपंक्तिसम्म पुर्‍याउने उद्देश्यले बैठक राखिएको बताए । बैठकमार्फत स्थानीय तहमा भइरहेका पार्टी गतिविधि, जनप्रतिनिधि र संगठनबीचको समन्वय, तथा महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशालाई व्यवहारमा उतार्ने विषयमा समेत निर्देशन दिइने एमालेले जनाएको छ । पार्टीले संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न कार्यकर्ता पंक्तिलाई स्पष्ट मार्गदर्शन दिन यस बैठकलाई महत्वपूर्ण रूपमा लिएको बताइएको छ ।

 

 

अरु दलका चार दर्जन नेता प्रचण्डतिर

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जन बढी नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुङ्गा लगायत विभिन्न जिल्लाका एमाले नेताहरू नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टी संयोजक प्रचण्ड तथा सहसंयोजक माधव नेपालले टीका लगाएर पार्टीमा भित्र्याएका छन् । पार्टी प्रवेश गर्नेहरूलाई बधाई दिँदै प्रचण्डले उचित समयमा उचित निर्णय गरेकोमा धन्यवाद व्यक्त गरे । देश संकटमा परेको अवस्थामा राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यो प्रवेशले पार्टीलाई थप ऊर्जा प्राप्त भएको बताए । देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति सकारात्मक प्रभाव र आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिको पक्षमा जनतासँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा सबैलाई सम्मान मिल्ने र पद तथा अवसर पाउन दबाब दिनु नपर्ने वातावरण रहेको बताए । पार्टी प्रवेश गर्नेहरूमध्ये २०७४ सालको प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरि, डा. अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिकाका पूर्व प्रमुख श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, हनिफ अन्सारी (पूर्व वडा अध्यक्ष) तथा राजकुमार गुप्ता (सांसद प्रतिनिधि) छन् ।

यस्तै विन्ध्यवासिनीका पूर्व वडा अध्यक्ष सञ्जय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडा अध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडा अध्यक्ष रामरेखा सिंह, वडा अध्यक्ष वीरेन्द्र यादव (वडा नं. ७), राधा बैठा, मिना देवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ तथा ओखलढुङ्गाका एमाले नेता सिताराम गुरुङलगायत पनि पार्टी प्रवेश गरेका छन् ।

 

कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुन्छ : शेरधन राई

काठमाडौं । नेकपा (एमाले) का नव निर्वाचित सचिव शेरधन राईले कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनपछि विराटनगर आएका सचिव राईले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार नेपाली कांग्रेससँग एक–दुई दिनभित्र छलफल हुने बताएका हुन् । यसअघि नै कोशी पुनर्गठनको तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएको उनको भनाइ थियो ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे सोधिएको एक प्रश्नको जवाफमा राईले एमाले चुनावमा सहभागी हुने बताए । सरकारले चुनाव गराउने दिशामा काम नगरेको आरोप लगाउँदै उनले भने, ‘यो सरकार चुनाव गराउन बनेकै होइन ।’ महाधिवेशनपछि एमाले एकढिक्का भएको उनको भनाइ थियो । आन्तरिक प्रतिष्पर्धामा दुई समूह देखिए पनि त्यो अब अन्त्य भएको उनको दाबी थियो । आउँदो केन्द्रीय कमिटीको बैठकबाट पराजितलाई पनि समेटेर कार्यविभाजन हुने उनले जानकारी दिए ।

मेरो हार न अस्वाभाविक हो, न त चिन्ताको विषय : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै त्यसका राजनीतिक सन्देशहरू पनि क्रमशः सार्वजनिक हुन थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित प्यानलमा समावेश तथा उनका निकट मानिने नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएपछि पार्टीभित्र र बाहिर चर्चा स्वाभाविक बनेको छ । तर, पराजयपछिको रिमालको धारणा र अभिव्यक्तिले राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको छ ।

उपमहासचिव पदका लागि भएको प्रतिस्पर्धामा योगेश भट्टराईसँग पराजित भएका रिमालले परिणामलाई अस्वाभाविक वा चिन्ताजनक नभई लोकतान्त्रिक अभ्यासको अनिवार्य पाटोका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले चुनावी नतिजालाई शालीनता र आत्मविश्वासका साथ स्वीकार गर्दै भनेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय । यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् ।’

सामान्यतया अध्यक्षको ‘कोर टिम’ मा रहेर पनि पराजित हुँदा नेताहरू असन्तुष्ट देखिने परम्परा रहँदै आएको सन्दर्भमा रिमालको यो अभिव्यक्ति फरक र परिपक्व देखिएको छ । उनले अध्यक्ष ओलीले प्रस्ताव गरेको टिममध्ये आफू (उपमहासचिव) र एक उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको यथार्थलाई खुलेर स्वीकार गरेका छन् ।

यस नतिजालाई रिमालले एमालेको वैचारिक मार्गदर्शन—जनताको बहुदलीय जनवाद (जबज)—सँग जोड्दै व्याख्या गरेका छन् । ‘हामी जनताको बहुदलीय जनवादको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौं— प्रतिस्पर्धालाई आत्मसात गर्ने, पहल गर्ने, आफ्नो श्रेष्ठता प्रमाणित गर्ने र नेतृत्वका लागि म्यान्डेट प्राप्त गर्ने’, उनले लेखेका छन्, ‘यही भावना अनुरूप हामीले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौं ।’

महाधिवेशनबाट कार्यकारी पदमा पुग्न नसके पनि रिमालले आफ्नो राजनीतिक प्रतिबद्धता र यात्रामा कुनै कमी नआउने स्पष्ट पारेका छन् । पार्टीभित्रको औपचारिक जिम्मेवारी फेरिए पनि साझा लक्ष्य, विचार र कमरेड्ली भावना यथावत् रहने उनको भनाइ छ । महाधिवेशनलाई उनले पार्टीको सामूहिक उपलब्धि, गरिमा र उत्साहको रूपमा चित्रण गर्दै सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् । ‘आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ’, रिमालको सन्देशले एमालेभित्र एकता र निरन्तरताको संकेत गर्छ । पराजयलाई सहज स्वीकार गर्दै पार्टीप्रतिको निष्ठा र वैचारिक दृढता पुनः पुष्टि गरेको रिमालको अभिव्यक्तिलाई अहिले एमालेभित्र लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा हेरिन थालिएको छ ।

 

 

अध्यक्षमा पराजित पोखरेल र महासचिवमा हारेका पाण्डे केन्द्रीय सदस्य पनि बनेनन्

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन वरिष्ठ नेताहरूका लागि अप्रत्याशित नतिजा बोकेर आएको छ । अध्यक्ष पदमा भारी मतान्तरले पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा समेत निर्वाचित हुन सकेनन् । त्यस्तै महासचिवमा पराजित सुरेन्द्र पाण्डे पनि केन्द्रीय सदस्यमा असफल भएका छन् । अध्यक्ष पदको निर्वाचनमा केपी शर्मा ओलीले १,६६३ मतसहित पुनः नेतृत्व सम्हाल्दा पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका थिए । कुल २,२६३ मतदातामध्ये २,२२७ जनाले मतदान गरेका थिए ।

पदाधिकारी उम्मेदवार स्वतः केन्द्रीय सदस्यका उम्मेदवार हुने व्यवस्थाअनुसार पोखरेल खुला केन्द्रीय सदस्यतर्फ पनि प्रतिस्पर्धामा थिए । केन्द्रीय सदस्यमा उनले १,०८८ मत ल्याए, जुन अध्यक्ष ओलीले पाएको ९७९ मतभन्दा बढी भए पनि आवश्यक न्यूनतम मत नपुगेकाले उनी निर्वाचित हुन सकेनन् । लामो समयदेखि पार्टीको शीर्ष तहमा रहँदै आएका पोखरेल यस महाधिवेशनमा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका थिए । तर, उनको प्यानलबाट अधिकांश पदाधिकारी उम्मेदवारहरू पराजित भए । पराजयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टीको अभियानमा आफ्नो भूमिका निरन्तर रहने बताएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलसँग पराजित भएका सुरेन्द्र पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । महासचिवमा ९९९ मत पाएका पाण्डेले केन्द्रीय सदस्यमा ९६१ मत मात्र प्राप्त गरे । केन्द्रीय सदस्यका लागि करिब १५ सयभन्दा बढी मत आवश्यक पर्ने भएकाले उनी स्वतः पराजित भएका हुन् । महाधिवेशनको यो नतिजाले एमालेको नेतृत्व संरचनामा पुस्तान्तरण र शक्ति सन्तुलनमा स्पष्ट परिवर्तन देखाएको विश्लेषण गरिएको छ ।

विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकट तथा विश्वास पात्र मानिने नेता विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका छन् । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा रिमालले उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए तर सफल हुन सकेनन् । उपमहासचिवमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि उनले हार व्यहोरेका हुन् ।

लामो समयदेखि ओलीको टिममा रहेर काम गर्दै आएका रिमाल पार्टीको प्रचार विभागमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेता हुन् । ओली नेतृत्वको सरकारमा सल्लाहकारको भूमिका समेत निर्वाह गरेका उनी पार्टीभित्र ओलीका निकटतम नेताका रूपमा चिनिन्छन् । केपी शर्मा ओली ठूलो मतान्तरले पुनः अध्यक्षमा निर्वाचित भएको यस महाधिवेशनमा पदाधिकारीका अधिकांश पदमा ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । यद्यपि, केही निकटस्थ नेताहरूले अप्रत्याशित हार व्यहोर्नु परेको छ ।

ओलीका ‘विश्वास पात्र’ रिमाल एमाले उपमहासचिवमा पराजित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका ‘विश्वास पात्र’ विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । लेखराजले १ हजार ४५२, रघुवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन् ।

एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ । उपमहासचिवमा ७ जनको उम्मेदवारी परेको थियो । ओली निकट नेता विष्णु रिमाल चौथो नम्बरमा रहे । उनले एक हजार ९१ मत पाएका छन् । त्यस्तै, पाँचौँ नम्बरमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ र छैटौँ रहेका वैजनाथ चौधरीले ५१७ मत पाए। त्यस्तै, अन्तिममा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन् ।

हेर्नुस् उपमहासचिवको मत

लेखराज भट्ट – १४५२

रघुवीर महासेठ – १३६८

योगेस भट्टराई – १३४८

विष्णुप्रसाद रिमाल – १०९१

आनन्दप्रसाद पोख्रेल – ६३५

वैजनाथ चौधरी – ५१७

राजेन्द्रप्रसाद गौतम – २७०

एमाले उपमहासचिवमा लेखराज भट्टको अग्रता, योगेश र रघुवीर पछ्याउँदै

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको पछिल्लो मतपरिणाम अनुसार उपमहासचिव पदमा लेखराज भट्टले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन समितिको प्रारम्भिक विवरण अनुसार भट्टले हालसम्म सबैभन्दा बढी १४७ मत प्राप्त गरेका छन् ।
हेर्नुस् प्रारम्भिक मत
लेखराज भट्ट–१४७
योगेश भट्टराई–१४०
रघुवीर महासेठ–१२६
विष्णुप्रसाद रिमाल–१०५
आनन्दप्रसाद पोख्रेल–७१
वैजनाथ चौधरी–५४
राजेन्द्रप्रसाद गौतम–२६

एमाले सचिवमा पद्मा सबैभन्दा अगाडि, महेश दोस्रो, गोकुलको कति ?

काठमाडौं । एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना प्रतिष्पर्धामा छन्।
हालसम्म कसको कति मत ?
सचिव
अग्निप्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल – १२७
रचना खड्का – ८३
राजन भट्टराई – ११३
लालबाबु पण्डित – ७३
विनोदप्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मतकुमार कार्की – १३८

एमाले महाधिवेशन : मतगणनाको घडी सुरु, कति बजेसम्ममा आउला नतिजा ?

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मत गणनाको तयारी तीव्र पारिएको छ। साढे २१ घण्टा लामो मतदान प्रक्रिया बिहीबार बिहान करिब ७ बजे सकिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९ः२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समय चलेर आज बिहान सम्पन्न भएको हो । मतदान सकिएलगत्तै मतगणनाको तयारी थालिएको र आवश्यक प्राविधिक तथा प्रक्रियागत काम पूरा भएपछि गणना सुरु गरिने उनले जानकारी दिए । उनका अनुसार मतगणना सुरु भएको करिब दुईदेखि तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसैबीच केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको पुष्टि गर्दै बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । मतगणनाअघि मुचुल्का उठाउने र उम्मेदवार तथा प्रतिनिधिबीच आवश्यक सहमति कायम गर्न केही समय लाग्ने भएकाले नतिजा आउन तीन घण्टा जति लाग्न सक्ने उनको भनाइ छ ।

महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र मतदान गरेका छन् । विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । यस बाहेक दुवै प्यानलमा नअटाएका केही उम्मेदवारहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । लामो समय चलेको मतदानपछि अब सबैको चासो मतगणनाको परिणामतर्फ केन्द्रित भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतगणनाको अन्तिम तयारी भइरहेकाले आजै नयाँ नेतृत्वको चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ ।

सकियो एमालेको मतदान, ३६ प्रतिनिधि अनुपस्थित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान प्रक्रिया सम्पन्न भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे टुंगिएको हो । लामो समयसम्म चलेको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनका लागि कुल २ हजार २ सय ६३ जना प्रतिनिधि चयन भए पनि सबैको सहभागिता भने हुन सकेन । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार जम्मा २ हजार २२७ मत मात्र खसेका छन् । उनका अनुसार ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुन अनुपस्थित रहे । ‘कुल प्रतिनिधिमध्ये २ हजार २२७ मत खसेको छ भने ३६ जना अनुपस्थित हुनुहुन्छ’, उनले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डप परिसरमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो । ठूलो संख्यामा प्रतिनिधि सहभागी भएकाले मतदान प्रक्रिया व्यवस्थित बनाउन इलेक्ट्रोनिक प्रणाली अपनाइएको निर्वाचन समितिको भनाइ छ । लामो समयसम्म चलेको मतदानका क्रममा कुनै ठूलो अवरोध वा विवाद नआएको जनाइएको छ ।

मतदान सकिएसँगै अब मतगणनाको अन्तिम तयारी पूरा भइसकेको छ । निर्वाचन समितिका अनुसार मतपरिणाम आजै सार्वजनिक गरिनेछ । बिहान ११ बजे भृकुटीमण्डपमै औपचारिक कार्यक्रम आयोजना गरी मतपरिणाम घोषणा गर्ने, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने तथा शपथग्रहण गराउने कार्यतालिका तय गरिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै नेताले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन् भने केही प्रतिनिधिहरूले प्यानल बाहिर रहेर स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका छन् । यस महाधिवेशनलाई एमालेको आगामी राजनीतिक दिशा र नेतृत्व संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार यी हुन् अनुपस्थित :

केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी

अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)

निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय

लेखा आयोग
१. अशोक केसी

विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’, लिस्ट फेरबदलको आरोपमा एक जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ भने मतदान गरेर निस्किएका धेरै प्रतिनिधिले प्यानल नहेरी ‘क्रस भोटिङ’ गरेको बताएका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्ने प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध राख्न दुवै पक्षका सक्षम उम्मेदवारलाई मत दिएको बताएका हुन् । अध्यक्षमा भने प्यानलअनुसार मत हालिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा मिश्रित रूपमा मतदान भएको उनीहरूको भनाइ छ । महासचिवमा कडा प्रतिष्पर्धा देखिएको भन्दै प्यानलभन्दा व्यक्ति हेरेर मत दिएको प्रतिक्रिया पनि आएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा छन् । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । एमालेको १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि दुवै पक्षले प्यानल बनाएर प्रतिष्पर्धा गरिरहेका छन् । महाधिवेशनमा ६ सय बढी उम्मेदवार छन् भने २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेका छन् । मतदान राति १० बजेसम्म चल्ने र त्यसलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यहीबीच, प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार अछाम घर भएका शंकर सावदलाई मतदान केन्द्र परिसरबाट नियन्त्रणमा लिइएको हो । सावदले दुवै प्यानलका उम्मेदवारहरूको नाम अदलबदल गरेर तयार पारेको सूची वितरण गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मतदानस्थलमा प्रतिनिधिहरू लामबद्ध देखिन्छन् भने दुवै समूहका नेता तथा समर्थकहरू आफ्ना उम्मेदवारका पक्षमा मत माग्दै सक्रिय छन् । ‘क्रस भोटिङ’ को चर्चा र लिस्ट फेरबदल प्रकरणले महाधिवेशनको प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

 

 

एमाले पदाधिकारीमा ३८ पुरुषसँग भिड्दै चार महिला

काठमाडौं । नेकपा (एमाले) को ११ औं अधिवेशनअन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिलाको सहभागिता अत्यन्त न्यून देखिएको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा रहे पनि महिला उम्मेदवारको संख्या चार जनामा मात्र सीमित हुँदा पार्टीको शीर्ष नेतृत्वमा महिलाको उपस्थिति कमजोर बन्ने आशंका बढेको छ ।

एमालेको विधानअनुसार कम्तीमा एक जना महिला पदाधिकारी अनिवार्य हुने व्यवस्था रहे पनि कुन पदमा महिला हुनुपर्ने भन्ने स्पष्टता छैन । यही अस्पष्ट व्यवस्थाको असर पदाधिकारी उम्मेदवारीमा देखिएको छ । हाल १९ पदाधिकारीका लागि ३८ जना पुरुषसँग प्रतिष्पर्धा गर्दै चार जना मात्र महिला उम्मेदवार चुनावी मैदानमा छन् । उपाध्यक्ष पदमा पाँच सिटका लागि ११ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । तीमध्ये महिला उम्मेदवारका रूपमा डा. बिन्दा पाण्डे एक्ली उम्मेदवार हुन् ।

उनी ईश्वर पोखरेल नेतृत्वको प्यानलबाट उम्मेदवार बनेकी हुन् भने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उपाध्यक्षमा एक जना पनि महिला उम्मेदवार अघि सारिएको छैन । आरक्षणको व्यवस्था नभएकाले पाण्डे निर्वाचित हुन ११ जनामध्ये उत्कृष्ट पाँचमा पर्नुपर्नेछ । यसअघि उपाध्यक्ष भइसकेका अनुभवी नेताहरूसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले उनको यात्रा चुनौतीपूर्ण देखिन्छ । सचिव पदमा पनि महिलाको स्थिति कमजोर छ । नौं सचिव पदका लागि २० जना उम्मेदवार प्रतिष्पर्धामा रहेकामा तीन जना महिला उम्मेदवार छन् । ओली प्यानलबाट पद्मा अर्याल दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी छिन् भने पोखरेल प्यानलबाट रचना खड्का मैदानमा छिन् ।

पेम्बा लामाले पनि सचिव पदमा उम्मेदवारी दिएकी छन् । तर, सचिव पदमा पनि महिला आरक्षणको व्यवस्था नरहेकाले उत्कृष्ट नाैं जनाभित्र पर्न नसके महिलाको प्रतिनिधित्व सचिव तहमा शून्य हुने जोखिम कायमै छ । महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ भने तीन उपमहासचिव पदका लागि सात जना पुरुष उम्मेदवार मात्रै मैदानमा छन् । एमालेको यो अधिवेशन आगामी पार्टी नेतृत्व, शक्ति सन्तुलन र राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ ।

तर, पदाधिकारी चयनको प्रक्रियामा महिलाको न्यून सहभागिताले पार्टीको समावेशी नेतृत्व निर्माणसम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । पार्टीभित्रै आरक्षणको स्पष्ट व्यवस्था नहुनु र प्यानल राजनीतिले महिलालाई प्रतिस्पर्धामा कमजोर बनाएको भन्दै असन्तुष्टि बढ्न थालेको छ । यसअघि दशौँ महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका थिए । तर, यस पटक शाक्यले उम्मेदवारी नदिने मात्र होइन सक्रिय राजनीतिबाट बिदा नै लिएकी छिन् । यस्तो अवस्थामा ११औँ अधिवेशनबाट महिला पदाधिकारीको संख्या घट्ने वा सीमित हुने सम्भावनाले एमालेको नेतृत्व संरचनामा लैंगिक सन्तुलन झनै कमजोर हुने संकेत देखिएको छ ।

 

मतदानअघि विष्णु पौडेलको अर्थपूर्ण अभिव्यक्ति : नेतृत्वले सन्तुलित भूमिका खेल्नु पर्छ

काठमाडौं । नेकपा (एमाले) को जारी एघारौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद पौडेलले अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाटै उपाध्यक्षमा दोहोरिने गरी उम्मेदवारी दिएका पौडेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेतृत्व पंक्तिलाई सन्तुलित र प्रभावकारी बन्न सुझाव दिएका हुन् ।

नेतृत्व चयनको यो घडी निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ ।’ पार्टीलाई अनुशासित र गतिशील बनाउन नेतृत्वले खेल्ने भूमिका नै निर्णायक हुने उनको संकेत छ । अध्यक्ष ओलीले सोमबार सार्वजनिक गरेको पदाधिकारी सूचीमा महासचिव पदको दाबेदार मानिएका प्रदीप ज्ञवाली नसमेटिएपछि ओली समूहभित्रै असन्तुष्टिको स्वर सुनिएको थियो । ज्ञवालीले आफू दुःखी भए पनि अध्यक्षको साथ नछोड्ने बताइसकेका छन् भने उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राजेन्द्र गौतमले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

 

 

 

दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार दलिततर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेमा खुलातर्फ ७ जना, महिलातर्फ ४ जना र एक जना युवातर्फ निर्वाचित हुनेछन् । ती सबै पदका लागि २८ जनाको उम्मेदवारी परेको हो ।

जसमा दलित खुलातर्फ ७ पदका लागि १६ जना, दलित महिलातर्फ ४ पदका लागि ८ जना र ४० वर्षमुनिको दलित युवातर्फ एक जनाका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको हो । दलित खुलातर्फ अफिलाल ओखेडा, खेमराज नेपाली, गोविन्दबहादुर नेपाली, चक्रबहादुर स्नेही, जंगबहादुर नेपाली, ज्यानु कालिकोटे, तुलसीप्रसाद पासी, दानसिंह परियार, प्रदिप रम्तेल, प्रभु हजरा, बुद्धिमान परियार, बोमबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा (पौडेल), मेघराज हजरा, मोती विक (महेन्द्र) र हिक्मतबहादुर विकको उम्मेदवारी दर्ता भएको हो । अफिलाल ओखेडा, गोविन्दबहादुर नेपाली, जंगबहादुर नेपाली, प्रभु हजरा र बोमबहादुर विश्वकर्मा अहिले पनि केन्द्रीय सदस्य छन् ।

यस्तै, दलित महिलातर्फ आशाकुमारी विक, दशरथ राम, नन्दा बस्याल, पार्वती विसुंखे, मीनाकुमारी परियार, रुक्मणी राना (बराइली), बिष्णुमाया विक र सरिता जिरेल (खाती) को उम्मेदवारी दर्ता भएको छ । ४० वर्षमुनिको दलित युवामा देवकृष्ण विक, निता घतानी, सरोज विक र हिरालाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । जसमा आशाकुमारी विक, विष्णुमाया विक र रुक्मणी राना (बराइली) अहिले पनि केन्द्रीय सदस्य छन् ।

केन्द्रीय सदस्य खुलातर्फ १ सय २६ पदमा लागि हुने निर्वाचनमा १ सय ६८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दलित समुदायबाट जगतबहादुर विश्वकर्मा, जितु गौतम, यमबहादुर परियार, इश्वरबहादुर रिजाल र भागवत विश्वासी नेपाली गरेर ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा विश्वकर्मा, गौतम र रिजाल अहिले पोलिट ब्यूरो सदस्य छन् । यस्तै केन्द्रीय सदस्य खुलाको महिलातर्फ ५२ पदका लागि ७२ जनाले उम्मेदवारी दिएका छन् । जसमा दलित समुदायबाट बिमला विक र सीताकुमारी सुन्दास छन् । यस्तै, १९ जना पदाधिकारीमा सचिवमा एक्ला उम्मेदवार छविलाल विश्वकर्मा छन् । उनी यसअघि खुलातर्फ सचिवमै निर्वाचित भएका थिए । अहिले खुलातर्फ नै सचिव पदमा दोहोरिएर उम्मेदवार बनेका हुन् ।

 

 

एमाले लक्षित गृहमन्त्रीको चेतावनी : निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन् । सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि स्पष्ट पारे । उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए ।

मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभुति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिए । मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराए ।

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टीपंक्तिको प्रमुख दायित्व भएको बताएकी छन् । सोमवार पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो टिप्पणी गरेकी हुन् । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमाले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उनले जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पारिन् ।

नेतृ झाँक्रीले भनिन्, ‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’ नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताइन् ।

 

पुरानै नेतृत्वले पार्टी सम्हाल्न सक्ने अवस्था छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनु पर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गरे ।

उनले भने, ‘भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्न सक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरु उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनु पर्छ भन्ने नै मुख्य कुरा हो । त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ । पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टीका सदस्यहरुको गरिमालाई बढाउने विषय पनि महत्वपूर्ण छ । पार्टी अहिले नेतातिर फर्किएको छ । अब पार्टी नेतातिर फर्किर भएन, अब जनतातिर फर्काउने र जनताबाट आउने निर्वाचनमा अनुमोदित भएर आउने नेताले नेकपा एमालेलाई राज्यसत्ताको समेत नेतृत्व गर्ने उद्देश्यका साथ हामी चुनावी प्रतिस्पर्धामा छौँ ।’ महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्य सत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरु आन्तरिक प्रतिष्पर्धामा रहेको उनको भनाइ छ ।

 

सहोदर दाजु–भाइसहित यी हुन् ओली पक्षका खुला केन्द्रीय सदस्यका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट तयार पारिएको केन्द्रीय सदस्यको उम्मेदवार सूची सार्वजनिक भएको छ । कुल ३०१ उम्मेदवारमध्ये १२५ जनाले खुला प्रतिष्पर्धाबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसै क्रममा, जाजरकोटका दुई सहोदर दाजुभाइ चन्द्रप्रकाश घर्ती (सीपी) र नारायण घर्ती ओली पक्षबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् । दाजु चन्द्रप्रकाश घर्ती यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए भने उनका भाइ नारायण घर्ती पहिलो पटक उक्त पदमा उम्मेदवार बनेका छन् ।

सीपी घर्ती खुला जनजाति समूहबाट र नारायण घर्ती कर्णाली प्रदेशको युवा समूहबाट उम्मेदवार बनेका हुन् । नारायण घर्ती अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष समेत हुन् । उनी जाजरकोटबाट प्रतिनिधि बनेका थिए भने सीपी घर्ती केन्द्रीय सदस्यको रुपमा आयोजकका हिसाबले प्रतिनिधि बनेका थिए ।

हाल दाजु सीपी घर्ती भेरी नगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् र दोस्रो कार्यकालका लागि सेवा दिइरहेका छन् । उनी अखिल नेपाल कम्युनिष्ट संगठन (अखिलको) सचिवालय सदस्यबाट बिदा भइसकेका छन् । ओली पक्षले स्पष्ट रूपमा आफ्नो पक्षका उम्मेदवारको सूची तयार गरी सबैले उम्मेदवारी मनोनयन गर्न निर्देशन दिएका छन् । यसैगरी, ईश्वर पोखरेल पक्षले पनि महाधिवेशनका सबै पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । विशेष रूपमा, जाजरकोटका दाजुभाइको उम्मेदवारीले आगामी निर्वाचनमा दुवै उम्मेदवारको विजयी हुने प्रबल सम्भावना बनाएको विश्लेषकहरू बताउँछन् ।

ओली पक्षबाट खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार :
१) राजेन्द्र गौतम, संखुवासभा
२) भिम आचार्य, सुनसरी
३) अग्नी खरेल, झापा
४) लिलानाथ श्रेष्ठ, सिरहा
५) शेरवहादुर तामाङ, सिन्धुपाल्चोक
६) कृष्णगोपाल श्रेष्ठ, काठमाडौं
७) रघुजी पन्त, काठमाडौं
८) किरण गुरुङ, तनहु
९) गोरख वोगटी, हुम्ला
१०) लालवावु पण्डित, मोरङ
११) तुलसी न्यौपाने, संखुवासभा
१२) प्रेम दंगाल, सुनसरी
१३) देवेन्द्र दाहाल, झापा
१४) जितवहादुर दर्जी, झापा
१५) गोविन्द थापा, झापा
१६) दिपक कार्की, झापा
१७) विशाल भट्टराई, खोटाङ
१८) सुमन प्याकुरेल, सप्तरी
१९) अच्युत मैनाली, बारा
२०) इश्वरबहादुर रिजाल, दोलखा
२१) पार्वत गुरुङ, दोलखा
२२) माधव ढुंगेल, रामेछाप
२३) महेश वर्तौला, मकवानपुर
२४) यज्ञराज सुनुवार, ओखलढुङ्गा
२५) देवी ज्ञवाली, चितवन
२६) सुभाष देवकोटा, सिन्धुली
२७) यामवहादुर परियार, चितवन
२८) जगन्नाथ थपलिया, चितवन
२९) नारायणवहादुर सिलवाल, काठमाडौं
३०) किरण पौडेल, काठमाडौं
३१) डा. सूर्य पाठक, बागलुङ
३२) कृष्णवहादुर केसी, बागलुङ
३३) जीवन गौतम, दाङ
३४) पदम गिरी, पर्वत
३५) जगतबहादुर सुनार, कास्की
३६) खेममान खडका, रुकुम (पूर्व)
३७) सूर्यवहादुर थापा क्षेत्री, प्युठान
३८) खिमलाल भट्टराई, रुपन्देही
३९) दधिराम न्यौपाने, रुपन्देही
४०) सूर्य ढकाल, बाँके
४१) चेतनारायण आचार्य, रुपन्देही
४२) वलराम अधिकारी, कपिलवस्तु
४३) लक्ष्मीप्रसाद पोखरेल, दैलेख
४४) राजवहादुर वुढाक्षेत्री, दैलेख
४५) धर्मराज रेग्मी, सुर्खेत
४६) दलबहादुर रावल, हुम्ला
४७) निरज आचार्य, जाजरकोट
४८) दामोदर भण्डारी, बैतडी
४९) ऐनबहादुर महर, बझाङ
५०) भूमी त्रिपाठी, धादिङ
५१) लालवहादुर थापा, बाजुरा
५२) गणेश ठगुन्ना, दार्चुला
५३) हरदेव जोशी, दार्चुला
५४) झपटवहादुर वोहरा, अछाम
५५) राजेन्द्रसिंह रावल, कञ्चनपुर
५६) भागवत विश्वकर्मा, दाङ
५७) राजिव पहारी, कास्की
५८) गिरीधारीलाल न्यौपाने,
५९) अमन मास्के, काठमाडौं
६०) रस्मी आचार्य, कास्की
६१) खिम थापा,
६२) वालसिंह काउचा,
६३) नारायण मरासनी, स्याङ्जा
६४) कृष्ण अधिकारी, लमजुङ
६५) भिष्म अधिकारी, लमजुङ
६६) चिन्तन पठाक, झापा
६७) ऋषिकेश पोखरेल, मोरङ
६८) होमवहादुर थापा, झापा
६९) मिनवहादुर शाही, कालिकोट
७०) किसन श्रेष्ठ, तनहुँ
७१) शिवराज सुवेदी, रुपन्देही

युवा :

१) नरेश रोकाय, बाजुरा
२) सुशील थापा, दैलेख

महिला :

१) एलिजा गौतम, झापा
२) भगवति चौधरी –सुनसरी
३) गिता अधिकारी–झापा
४) सुनिता वराल–झापा
५) भारती पाठक–मकवानपुर
६) प्रभा वराल– चितवन
७) पार्वती रावल– चितवन
८) वालिका गिरी– चितवन
९) सिताकुमारी सुन्दास– स्यांजा
१०) मनकुमारी जिसी– वागलुङ
११) टुकाभद्र हमाल–लमजुङ
१२) प्रभा कोइराला – कास्की
१३) भगवती न्यौपाने– तनहू
१४) शोभा ज्ञवाली– वर्दिया
१५) कोमल वली– दाङ
१६) सरिता भुसाल –अर्घाखाँची
१७) सरिता भुसाल खनाल, नवलपरासी
१८) विमला अर्याल, नवलपरासी
१९) सन्तोषकुमारी शर्मा थापा, कैलाली
२०) निरुदेवी पाल –कंचनपुर
२१) लक्ष्मी केसी–नवलपरासी
२२) निर्मला पाठक (नर्मदा), झापा
२३) ज्ञानु केसी –रुपन्देही
२४) राधिका खतिवडा –सर्लाही
२५) सन्तना दाहाल, ललितपुर
२६) डोल्मा तामाङ –सिन्धुपाल्चोक
२७) विन्दु महर्जन– काठमाण्डौ
२८) विनादेवी राई, खोटाङ
२९) विना ज्ञवाली,
३०) सिता सुवेदी, वारा
३१) क्रान्ति वुर्लाकोटी, कास्की
३२) टीका ढकाल,
३३) देवका पहारी, कास्की
३४) विमला विक, बर्दिया
३५) सुशिला नेपाल, ललितपुर
३६) पद्या खडका, सुर्खेत
३७) वसन्ती अधिकारी,
३८) आरती पौडेल,
३९) रामकुमारी झाक्री, गुल्मी
४०) यसोदा रिमाल, लमजुङ
४१) उर्मिला सुनुवार, दोलखा
४२) सकुन्तला लेप्चा, इलाम
४३) कमलाकुमारी बोहरा, कंचनपुर
४४) तारा संजेल, ललितपुर
४५) शिवाकुमारी चौधरी,
४६) जलवर्षा राजवंशी, झापा
४७) अस्मिता थापा, ओखलढुङ्गा
४८) शिल्पा निराला कार्की, मोरङ
४९) सूर्यकुमारी श्रेष्ठ, दैलेख
५०) सरस्वती चिदी, पाल्पा
५१) सिता सिग्देल न्यौपाने, दाङ
५२) सकुन्तला श्रेष्ठ, भक्तपुर

एमाले महाधिवेशन : कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क ?

काठमाडौं । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिष्पर्धामा छन् । ओली र पोख्रेल दुवै प्यानलै बनाएर प्रतिष्पर्धामा उत्रिँदै छन् । दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् ।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ । मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ ।