`

बालेन, रवि, कुलमानलक्षित ओलीको टिप्पणी : २० वर्ष चुनाव जित्नेवाला छैनन्, डम्फु बजाउनु बेग्लै कुरा

Nepal One HD २३ पुष २०८२ १६:५०
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै २० वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन) ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए ।

उनले एमाले–कांग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताए । उनले भने, ‘चुनाव भयो भने हामी सहभागी हुन्छौँ । र चुनाव जित्छौ । म सुन्छु–एमाले–कांग्रेसले जित्छ भने चुनाव नगराराउने रे । अनि फलानाले जित्छ भने मात्रै गराउने रे । ती फलाना, फलानाले अब आउँदो २० वर्ष कमसेकम जित्नेवाला छैनन् । के गर्ने त ? चुनाव नगराउने २० वर्ष ? अब २० वर्ष तीनले चुनाव जित्नेवाला छैनन् । यो डम्फु बजाउन बेग्लै कुरा हो । के गर्ने त ।’

म फेरि दोहोर्‍याएर भन्छु–चुनाव गराए एमालेले चुनाव जित्छ ल । अब के गर्ने त ? कि हामीले यो नभनिदिनु पर्ने ? चुनावमा हामीले के भनिदिनु पर्ने ? उहाँहरुले नै जित्नु हुन्छ भनिदिनु पर्ने ? उहाँहरुले अगाडि सारेका प्रधानमन्त्रीलाई यस्तो महान काम गरेको छ, देश बनाएको छ, बाटो हेर्‍यो, उहाँहरुले अगाडि सारेको मान्छे देखिन्छ, पुल उसैले बनाएको छ । एयरपोर्ट उसले बनाएको छ । कृषिको आधुनिकिकरण उसैले गरेको छ । यो गरेको छ । त्यो गरेको छ । भन्ने कि के भन्ने ?’ अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गरे । सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उनको आरोप थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *