`

मेरो हार न अस्वाभाविक हो, न त चिन्ताको विषय : विष्णु रिमाल

Nepal One HD ४ पुष २०८२ १२:२२
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै त्यसका राजनीतिक सन्देशहरू पनि क्रमशः सार्वजनिक हुन थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित प्यानलमा समावेश तथा उनका निकट मानिने नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएपछि पार्टीभित्र र बाहिर चर्चा स्वाभाविक बनेको छ । तर, पराजयपछिको रिमालको धारणा र अभिव्यक्तिले राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको छ ।

उपमहासचिव पदका लागि भएको प्रतिस्पर्धामा योगेश भट्टराईसँग पराजित भएका रिमालले परिणामलाई अस्वाभाविक वा चिन्ताजनक नभई लोकतान्त्रिक अभ्यासको अनिवार्य पाटोका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले चुनावी नतिजालाई शालीनता र आत्मविश्वासका साथ स्वीकार गर्दै भनेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय । यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् ।’

सामान्यतया अध्यक्षको ‘कोर टिम’ मा रहेर पनि पराजित हुँदा नेताहरू असन्तुष्ट देखिने परम्परा रहँदै आएको सन्दर्भमा रिमालको यो अभिव्यक्ति फरक र परिपक्व देखिएको छ । उनले अध्यक्ष ओलीले प्रस्ताव गरेको टिममध्ये आफू (उपमहासचिव) र एक उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको यथार्थलाई खुलेर स्वीकार गरेका छन् ।

यस नतिजालाई रिमालले एमालेको वैचारिक मार्गदर्शन—जनताको बहुदलीय जनवाद (जबज)—सँग जोड्दै व्याख्या गरेका छन् । ‘हामी जनताको बहुदलीय जनवादको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौं— प्रतिस्पर्धालाई आत्मसात गर्ने, पहल गर्ने, आफ्नो श्रेष्ठता प्रमाणित गर्ने र नेतृत्वका लागि म्यान्डेट प्राप्त गर्ने’, उनले लेखेका छन्, ‘यही भावना अनुरूप हामीले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौं ।’

महाधिवेशनबाट कार्यकारी पदमा पुग्न नसके पनि रिमालले आफ्नो राजनीतिक प्रतिबद्धता र यात्रामा कुनै कमी नआउने स्पष्ट पारेका छन् । पार्टीभित्रको औपचारिक जिम्मेवारी फेरिए पनि साझा लक्ष्य, विचार र कमरेड्ली भावना यथावत् रहने उनको भनाइ छ । महाधिवेशनलाई उनले पार्टीको सामूहिक उपलब्धि, गरिमा र उत्साहको रूपमा चित्रण गर्दै सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् । ‘आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ’, रिमालको सन्देशले एमालेभित्र एकता र निरन्तरताको संकेत गर्छ । पराजयलाई सहज स्वीकार गर्दै पार्टीप्रतिको निष्ठा र वैचारिक दृढता पुनः पुष्टि गरेको रिमालको अभिव्यक्तिलाई अहिले एमालेभित्र लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा हेरिन थालिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *