`

निर्वाचन एमालेका लागि परीक्षा, टिकटको विषय गौण : विष्णु रिमाल

Nepal One HD ४ माघ २०८२ १०:३१
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक मोडको रूपमा चित्रण गर्दै टिकटको विषयलाई गौण बनाएर पार्टी एकताको पक्षमा उभिन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले यो निर्वाचन केवल उम्मेदवारको प्रतिष्पर्धा मात्र नभई पार्टीको संगठनात्मक शक्ति र वैचारिक प्रतिबद्धताको परीक्षा पनि भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता रिमालले आम निर्वाचनमा एमालेले संगठित र अनुशासित रूपमा मैदानमा उत्रिनुपर्ने उल्लेख गरेका छन् । पार्टीलाई जिताउन सबैले आ–आफ्नो भूमिकाबाट सक्रिय हुनुपर्ने बताउँदै उनले उम्मेदवार, परिचालक वा प्रचारक जुनसुकै हैसियतमा रहे पनि लक्ष्य एउटै हुनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीभित्र एक लयमा अघि बढ्न नसके उम्मेदवार मात्र होइन, समग्र संगठन नै कमजोर हुने चेतावनी दिएका छन् । एकता बिना न त उम्मेदवारले जित हात पार्ने अवस्था रहन्छ न त संगठनले उपलब्धिको श्रेय पाउने भन्दै उनले आन्तरिक मतभेद र असन्तुष्टिलाई अहिलेका लागि थाती राख्न आग्रह गरेका छन् ।

टिकट वितरणको विषयमा उठ्ने असन्तुष्टिलाई सम्बोधन गर्दै नेता रिमालले यस पटक अवसर नपाएकाले आगामी निर्वाचनमा अवसर पाउने विश्वास व्यक्त गरेका छन् । वर्तमान अवस्थामा पार्टीमाथि घेराबन्दी र आक्रमण तीव्र रहेको उल्लेख गर्दै उनले तत्कालीन चुनौती सामना गर्न सबै ऊर्जा चुनावी अभियानमै केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।

एमाले निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म देश रूपान्तरणका बाँकी कार्यहरू अधुरा रहने बताउँदै उनले यस निर्वाचनलाई सत्ता प्राप्तिको साधारण प्रतिष्पर्धा मात्र नभई वैचारिक जनमत संग्रहका रूपमा व्याख्या गरेका छन् । ‘यो चुनाव बनाउने र भत्काउने, जोगाउने र जलाउने शक्तिहरूबीचको छनोट हो,’ उनको भनाइ छ । नेता रिमालले आम निर्वाचनमा एमालेका सबै उम्मेदवारहरूलाई जितको शुभकामना व्यक्त गर्दै पार्टीलाई पहिलो शक्ति बनाउने साझा लक्ष्यका लागि सम्पूर्ण पंक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *