`

अध्यक्षमा पराजित पोखरेल र महासचिवमा हारेका पाण्डे केन्द्रीय सदस्य पनि बनेनन्

Nepal One HD ३ पुष २०८२ १५:२७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन वरिष्ठ नेताहरूका लागि अप्रत्याशित नतिजा बोकेर आएको छ । अध्यक्ष पदमा भारी मतान्तरले पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा समेत निर्वाचित हुन सकेनन् । त्यस्तै महासचिवमा पराजित सुरेन्द्र पाण्डे पनि केन्द्रीय सदस्यमा असफल भएका छन् । अध्यक्ष पदको निर्वाचनमा केपी शर्मा ओलीले १,६६३ मतसहित पुनः नेतृत्व सम्हाल्दा पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका थिए । कुल २,२६३ मतदातामध्ये २,२२७ जनाले मतदान गरेका थिए ।

पदाधिकारी उम्मेदवार स्वतः केन्द्रीय सदस्यका उम्मेदवार हुने व्यवस्थाअनुसार पोखरेल खुला केन्द्रीय सदस्यतर्फ पनि प्रतिस्पर्धामा थिए । केन्द्रीय सदस्यमा उनले १,०८८ मत ल्याए, जुन अध्यक्ष ओलीले पाएको ९७९ मतभन्दा बढी भए पनि आवश्यक न्यूनतम मत नपुगेकाले उनी निर्वाचित हुन सकेनन् । लामो समयदेखि पार्टीको शीर्ष तहमा रहँदै आएका पोखरेल यस महाधिवेशनमा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका थिए । तर, उनको प्यानलबाट अधिकांश पदाधिकारी उम्मेदवारहरू पराजित भए । पराजयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टीको अभियानमा आफ्नो भूमिका निरन्तर रहने बताएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलसँग पराजित भएका सुरेन्द्र पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । महासचिवमा ९९९ मत पाएका पाण्डेले केन्द्रीय सदस्यमा ९६१ मत मात्र प्राप्त गरे । केन्द्रीय सदस्यका लागि करिब १५ सयभन्दा बढी मत आवश्यक पर्ने भएकाले उनी स्वतः पराजित भएका हुन् । महाधिवेशनको यो नतिजाले एमालेको नेतृत्व संरचनामा पुस्तान्तरण र शक्ति सन्तुलनमा स्पष्ट परिवर्तन देखाएको विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *