मतदानअघि विष्णु पौडेलको अर्थपूर्ण अभिव्यक्ति : नेतृत्वले सन्तुलित भूमिका खेल्नु पर्छ
काठमाडौं । नेकपा (एमाले) को जारी एघारौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद पौडेलले अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाटै उपाध्यक्षमा दोहोरिने गरी उम्मेदवारी दिएका पौडेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेतृत्व पंक्तिलाई सन्तुलित र प्रभावकारी बन्न सुझाव दिएका हुन् ।
नेतृत्व चयनको यो घडी निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ ।’ पार्टीलाई अनुशासित र गतिशील बनाउन नेतृत्वले खेल्ने भूमिका नै निर्णायक हुने उनको संकेत छ । अध्यक्ष ओलीले सोमबार सार्वजनिक गरेको पदाधिकारी सूचीमा महासचिव पदको दाबेदार मानिएका प्रदीप ज्ञवाली नसमेटिएपछि ओली समूहभित्रै असन्तुष्टिको स्वर सुनिएको थियो । ज्ञवालीले आफू दुःखी भए पनि अध्यक्षको साथ नछोड्ने बताइसकेका छन् भने उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राजेन्द्र गौतमले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
