एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के–के छन् एजेण्डा ?
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज (शनिबार) देखि ललितपुरमा सुरु हुँदैछ । ११ औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि नीतिगत र सांगठनिक निर्णय लिन यो बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे बैठक सुरु हुनेछ । पुस २८ गतेसम्म चल्ने यस बैठकले मुख्य गरी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नेछ ।
महाधिवेशन लगत्तै पुस ४ गते बसेको पहिलो बैठकले तय गरेको कार्यतालिका अनुसार बस्न लागेको यो बैठकमा चुनावी तयारीका साथै आन्तरिक सांगठनिक व्यवस्थापनका विषयमा पनि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ । विशेष गरी पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठनको विषय बैठकको प्रमुख एजेण्डामा रहेको छ ।
एमालेले निर्वाचनमा पराजित भएका, पार्टीमा लामो योगदान गरेका पाका नेताहरू र कार्यकारी भूमिकाबाट विश्राम लिएका व्यक्तित्वहरूलाई समेटेर शक्तिशाली सल्लाहकार परिषद् बनाउने तयारी गरेको छ । यसअघि नै अध्यक्ष ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भइसकेको सन्दर्भमा, आजको बैठकले चुनावी अभियानलाई थप तीव्रता दिनेछ ।
