`

महेश बस्नेत भक्तपुर–२ र गोकुल बास्कोटा काभ्रे–२ बाट एकल सिफारिस

Nepal One HD २१ पुष २०८२ ११:०२
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर–२ र काभ्रे क्षेत्र नम्बर–२ मा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । पार्टीको क्षेत्रीय तहका बैठकहरूले दुवै निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस गर्ने निर्णय गरेका हुन् ।

भक्तपुर–२ मा पार्टी सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई ‘एकल र सर्वसम्मत’ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । आइतबार राति सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकले पार्टीको संगठनात्मक एकता र निर्वाचन जित सुनिश्चित गर्ने लक्ष्यसहित बस्नेतको नाम अघि सारेको हो । यसअघि अनुभवी नेता राजेन्द्र राजथला र युवा नेता अनिल श्रेष्ठले पनि उम्मेदवारी दाबी प्रस्तुत गरेका थिए । तर, पार्टी हितलाई प्राथमिकतामा राख्दै दुवै नेताले आफ्नो दाबी फिर्ता लिएपछि बस्नेतको नाममा सर्वसम्मति जुटेको हो ।

निर्णय सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत दाबी त्याग गर्ने सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै एकताबद्ध ढंगले निर्वाचनमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले पार्टीभित्रको सहकार्य र विश्वासलाई आगामी प्रतिस्पर्धामा बलियो आधार बनाइने संकेत दिएका छन् । यस्तै, काभ्रे–२ मा एमालेका नेता गोकुल बास्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । सचिव पदमा पराजित भए पनि बास्कोटा यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निरन्तर प्रतिष्पर्धा गर्दै आएका अनुभवी नेता हुन् । उनले २०७४ र २०७९ का निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका थिए ।

महेश बस्नेत र गोकुल बास्कोटा दुवै २०७० सालदेखि आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् । बस्नेत २०७४ मा भक्तपुर–२ बाट निर्वाचित भएका थिए । पार्टी नेतृत्वका अनुसार, दुवै क्षेत्रमा एकल नाम सिफारिस हुनु संगठनात्मक एकता, अनुशासन र चुनावी तयारीको संकेत हो । एमालेले अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । पार्टी स्रोतका अनुसार, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वयमा उम्मेदवार चयन गरी जितमुखी रणनीतिका साथ चुनावी अभियान अघि बढाइनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *