`

सरकार आफै चुनाव बिथोल्न लागिपरेको छ : रघुवीर महासेठ

Nepal One HD २० पुष २०८२ १४:५८
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार निर्वाचन बिथोल्ने योजनामा लागेको गम्भीर आरोप लगाएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार कैदीहरू फिर्ता नभएको अवस्थाले सरकार निर्वाचन गराउन इच्छुक नभएको पुष्टि हुने दाबी गरे ।

उपमहासचिव महासेठका अनुसार २३ र २४ गते लुटिएका हजारौं हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन भने फरार कैदीहरूको बहुसंख्यक अझै बाहिर छन् । यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ भन्दै उनले प्रश्न उठाए । ‘बाहिर रहेका कैदी र हतियारहरू कसको विरुद्ध प्रयोग हुन्छन् ? यो सोचनीय विषय हो,’ उनले भने ।

एमाले निर्वाचनबाट भाग्ने पक्षमा नरहेको स्पष्ट पार्दै महासेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन तयार रहेको बताए । तर, उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विगतको नजिरअनुसार फैसला गर्नुपर्ने माग राखे । ‘संसद् विघटनपछि अदालतले स्थापित गरेको नजिर फेरि कायम होस्,’ उनले भने । उनले संघीयता, लोकतन्त्र र गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । महासेठले सरकारको भूमिकालाई लिएर चर्को आलोचना गर्दै निर्वाचनको तयारीमा गम्भीरता नदेखाएको आरोप लगाए ।

उपमहासचिव महासेठले आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् । उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।
आगामी चुनावमा कांग्रेस र एमाले मिलेर जान सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उत्तरमा महासेठले भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *