`

एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’, लिस्ट फेरबदलको आरोपमा एक जना पक्राउ

Nepal One HD २ पुष २०८२ १३:०८
नेकपा एमाले

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ भने मतदान गरेर निस्किएका धेरै प्रतिनिधिले प्यानल नहेरी ‘क्रस भोटिङ’ गरेको बताएका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्ने प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध राख्न दुवै पक्षका सक्षम उम्मेदवारलाई मत दिएको बताएका हुन् । अध्यक्षमा भने प्यानलअनुसार मत हालिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा मिश्रित रूपमा मतदान भएको उनीहरूको भनाइ छ । महासचिवमा कडा प्रतिष्पर्धा देखिएको भन्दै प्यानलभन्दा व्यक्ति हेरेर मत दिएको प्रतिक्रिया पनि आएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा छन् । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । एमालेको १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि दुवै पक्षले प्यानल बनाएर प्रतिष्पर्धा गरिरहेका छन् । महाधिवेशनमा ६ सय बढी उम्मेदवार छन् भने २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेका छन् । मतदान राति १० बजेसम्म चल्ने र त्यसलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यहीबीच, प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार अछाम घर भएका शंकर सावदलाई मतदान केन्द्र परिसरबाट नियन्त्रणमा लिइएको हो । सावदले दुवै प्यानलका उम्मेदवारहरूको नाम अदलबदल गरेर तयार पारेको सूची वितरण गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मतदानस्थलमा प्रतिनिधिहरू लामबद्ध देखिन्छन् भने दुवै समूहका नेता तथा समर्थकहरू आफ्ना उम्मेदवारका पक्षमा मत माग्दै सक्रिय छन् । ‘क्रस भोटिङ’ को चर्चा र लिस्ट फेरबदल प्रकरणले महाधिवेशनको प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *