अध्यक्ष ओली मतदाता भेटघाटमा व्यस्त
झापा । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धामा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक गृहनगर दमक पुगेका अध्यक्ष ओलीले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका थिए । आज बिहानैदेखि पनि उनी अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् ।

स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । झापा–५ सँगै सीमा जोडिएको इलाम–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुगेका थिए । उनले पार्टी अध्यक्ष ओलीको अभियानमा साथ दिइरहेका छन् । मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आज बिहानदेखि भेटघाट छलफललाई पुनः निरन्तरता दिएका छन् । अध्यक्ष ओली पर्सिसम्म दमकमा रहने कार्यक्रम छ ।
