`

सुशीला कार्की सरकारप्रति ओलीको टिप्पणी : ‘बाघको छालामा स्यालको रजाँइ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन भड्काएको भन्दै टीओबी (तिब्बतीयन ओरिजिनल ग्रुप) प्रति आक्रोश पोखेका छन् । आज (मंगलबार) एमालेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकमा दलका नेता ओलीले तिब्बती शरणार्थीहरूप्रति आक्रोश व्यक्त गरेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ ग्रुपका युवाले ‘मलाई मेरो देश चाहिन्छ’ भनेर चिच्याएको भिडिओ भाइरल भएको थियो भने आन्दोलन भड्काउन सो समूह सक्रिय भएको आरोप छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारलाई ‘बाघको छालामा स्यालको रजाँइ’ को संज्ञा दिए । ‘यो सरकार बनायो कसले ? जनताले बनाएको होइन । सरकार टेलिफोनबाट, डिस्कर्डबाट बनेको हो’ उनले भने, ‘सरकार राजनीतिबाट बन्छ । चुनावबाट बन्छ । त्यसैले यो असंवैधानिक छ ।’ उनले राजनीति, सामाजिक, आर्थिक रुपले पछाडी धकेल्न खोजिएको बताए । यस्तै, उनले अहिले भ्रष्टाचार बढेको दाबी पनि गरे ।

‘देश दोबाटोमा छ । देशको स्वाधीनता, स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा अघि बढाउने कि वा नेपाललाई विनास र बर्बादीको बाटोमा लैजाने यो महत्वपूर्ण प्रश्न हो’ उनले भने, ‘देशमा भ्रष्टाचार अहिले बढेको छ । देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो । अहिले गलत तरिकाले नेपो बेबी भनेर बच्चा बच्चीमा त्रास फैलाइयो ।’ उनले भदौ २३ र २४ को घटना बालबालिका विरोधी अपराध भएको बताए । उनीहरूलाई मानसिक दबाब दिइएको बताएका छन् । ‘बाबुआमाले भ्रष्टाचार गरेका रहेछन् भने पनि बालबालिकाको के दोष ?’ उनले भने ।

अध्यक्ष ओलीले आफूलाई भदौ २३÷२४ गतेको घटना जिम्मा लिनुपर्छ भन्नेहरू पार्टी विरोधी र नेतृत्व विरोधी भएको बताए । अध्यक्ष ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाए ।

उनले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकिर समेत गरे । अध्यक्ष ओलीले भने ‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँ निरको भ्रष्टाचार रु कुन केस रु अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका विद्युत् विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त रु अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहीनता, राजनीति, अन्योलग्रस्त, अराजक यस्तो त थिएन त ।’ अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहीनता, अराजकता र अन्योलग्रस्त अवस्थामा पुर्‍याएको समेत बताए ।

प्रतिनिधि सभा पुनर्स्थापनामा दबाब बढाउँदै एमाले, विघटित दलको आज च्यासलमा बैठक

काठमाडौं । प्रतिनिधि सभाको विघटन असंवैधानिक रहेको दाबी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) आज विघटित संसदीय दलको विस्तृत बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन हुने जनाइएको छ। दल स्रोतका अनुसार संसद् विघटनविरुद्ध पार्टीले प्रारम्भमै उठाएको विरोधलाई संस्थागत रूप दिन तथा पुनर्स्थापनाका लागि उत्पन्न संवैधानिक र कानुनी पक्षमा ठोस निर्णय लिन बैठक आह्वान गरिएको हो ।

विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको पृष्ठभूमि, त्यसप्रति पार्टीको धारणा र सम्भावित कानुनी कदमबारे सांसदहरूलाई विस्तृत जानकारी गराउने छन् ।

उनका अनुसार संसद् विघटनको संवैधानिक परीक्षण अझै बाँकी रहेकोले पार्टीका तर्फबाट दल वा व्यक्तिगत सांसदमार्फत सर्वोच्च अदालतमा जाने विकल्पलाई आजको बैठकले प्राथमिकताका साथ छलफल गर्नेछ । एमालेले विघटनलाई ‘असंवैधानिक कदम’ भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने आफ्नो अडानलाई दृढ बनाउँदै आएको छ । आजको बैठकपछि अदालत जाने सम्बन्धमा औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ ।

 

एमाले नहुने निर्वाचनमा समय खेर फाल्दैन : शंकर पोखरेल

रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कहिल्यै पनि निर्वाचनबाट भाग्ने दल नभए पनि नहुने चुनावको पक्षमा प्रचार गरेर समय खर्च खेर नफाल्ने बताएका छन् । सोमबार रुपन्देहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान अन्तरिम सरकार चुनाव गराउने उद्देश्यले नबनेको आरोप लगाए ।

पोखरेलका अनुसार सरकारका गतिविधि निर्वाचनअनुकूल नभएकाले निर्वाचन आयोग सक्रिय भएर मात्र चुनाव हुन नसक्ने अवस्था बनेको छ । ‘निर्वाचन आयोगले तयारी तिव्र पारे पनि सरकार निर्वाचनतर्फ उन्मुख छैन,’ उनले भने ।

पोखरेलले केही दलका नेताहरू जनआक्रोश, विशेषगरी जेनजी आन्दोलन नबढोस् भनेर मात्रै ‘चुनाव हुन्छ’ भन्ने नारामा सीमित रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘एमाले कसैसँग डराउँदैन । हामी जनता माझ छौं, सडकमा छौं । स्पष्ट एजेण्डासहित अघि बढेको एक मात्र पार्टी एमाले हो ।’

उनीले एमाले प्रतिस्पर्धाबाट नभाग्ने, जनतासँगै रहेर राजनीतिक एजेण्डा अघि बढाउने धारणा दोहोर्‍याउँदै अन्तरिम सरकारको निष्क्रियताका कारण चुनावको सम्भावना कमजोर रहेको निष्कर्ष प्रस्तुत गरे ।

प्रधानमन्त्रीलाई विश्वकर्माको प्रश्न : अपराधमा संलग्नहरूलाई कारबाही गर्नु पर्दैन ?

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।

आज (शनिबार) बुटवलमा आयोजित जनसभा कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्तिलाई धराशायी बनाउनेहरूलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।

उनले भने, ‘जसले घुसपैठ गरे । जसले यस खालको गुण्डागर्दी गरे । जसले यस खालको आतंकित गतिविधि गरे । जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरू । यसलाई धराशायी बनाउने काम गरे । अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन ? ती अपराधीहरूलाई कानुनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौँ कैदीहरू छुटेका छन् । तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामथ्र्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुनुपर्छ कि पर्दैन ?’ सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरेका छन् ।

राजनीतिक दललाई निषेध गरेर चुनाव हुन सक्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको राजनीतिक स्थायित्व र विकास सुनिश्चित गर्न सबै राजनीतिक दल र युवापुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी गुल्मी शाखाद्वारा आज तम्घासमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देशको विकासको पहिलो सर्त राजनीतिक स्थायित्व रहेको बताएका हुन् । ज्ञवालीले भने, ‘देश विकासको मार्ग प्रशस्त गर्न सबै दल र युवा एकसाथ भएर काम गर्नु जरुरी छ, अनि पार्टीलाई सशक्त र जनमुखी बनाउने अभियान जारी रहनेछ ।’

उनले हालैको जेनजी आन्दोलनमा घुसपैठ भएको र सुनियोजित ढंगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी पनि गरेका छन् । उनले भने, ‘वर्तमान सरकारलाई संविधानले मान्यता दिएको होइन । चुनावमा पनि अग्रसर छैन । पुरानै नेताहरू आए खारेज गर्छौं भन्ने चेतावनी दिँदै चुनावको मिति तोक्ने, तर शीर्ष नेताहरूलाई उपत्यका बाहिर जान नदिने काम भइरहेको छ । यसरी कसरी चुनाव हुन्छ भनेर जनता कसरी विश्वास गर्ने ? दलीय व्यवस्थामा राजनीतिक दललाई निषेध गरेर चुनाव हुन सक्दैन ।’

ज्ञवालीले वर्तमान प्रधानमन्त्री र उनको वरपरको समूहले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चुनाव रोक्ने वातावरण बनाइरहेको बताएका छन् ।

कुलमानलाई इंगित गर्दै शंकर पोखरेलको प्रश्न : मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उर्जामन्त्री कुलमान घिसिङलाई मन्त्री पदमा राखिराख्न उचित नहुने बताएका छन् । महासचिव पोखरेलले पार्टी खोलेर चुनावमा जाने घोषणा गरिसकेका व्यक्तिलाई चुनावी सरकारमा राख्न नहुने तर्क गरेका छन् ।

पोखरेलले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’ उर्जामन्त्री घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । उनले पूर्व ऊर्जासचिव अनुप उपाध्यायको नेतृत्वमा पार्टी गठन गरेका हुन् । चुनाव हुन केही समयअघि मात्रै मन्त्रीबाट राजीनामा दिने तयारीमा छन् ।

एमाले महासचिव पोखरेलले भने अहिले नै घिसिङलाई मन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै पार्टी खोलेको व्यक्तिले मन्त्री पदमा बस्न नैतिक रुपमा पनि उचित नभएको जिकिर गरेका छन् । पोखरेलले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका छन्, ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?’

 

प्रकाश शाहले एमाले छाडे, कहाँ जालान् प्रेम आले ?

काठमाडौं । एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले अन्ततः पार्टी त्यागेका छन् भने अर्का चर्चित नेता प्रेम आले भने अहिले पनि ‘राजनीतिक मौन’ मा छन् । शाहले एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ लागेको’ भन्दै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमार्फत नव गठित नेपाली कम्युनिष्ट पार्टीमा जाने घोषणा गरेका छन्।

अघिल्लो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित शाह एमाले सुदूरपश्चिमका संसदीय दलका नेता थिए । उनले चार वर्ष आन्तरिक मामिला तथा कानुन तथा आर्थिक मामिला मन्त्रालयको नेतृत्व समेत गरेका थिए । शाहको निर्णयले सुदूरपश्चिमको एमाले संगठनमा नयाँ तरङ्ग ल्याएको छ।

तर, यसबीचमा एकीकृत समाजवादीका सांसद प्रेम आले भने कुनै पनि राजनीतिक मञ्चमा खुलेका छैनन्। डोटीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका आले न त माधवकुमार नेपालसँग मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भए, न त रामकुमारी झाँक्रीसहित एमालेमा फर्किए । आले नजिकका स्रोतहरूका अनुसार, उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओली दुबै नेताले पार्टी रोज्न आग्रह गर्दै टेलिफोन गरेका थिए । तर, आलेले दुबै नेतालाई ‘निर्णय गर्न बाँकी छ’ भन्ने जवाफ मात्र दिएका हुन् । आलेले अहिले आफू प्रोस्टेट शल्यक्रियापछि आराममा रहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिले म कतै लागेको छैन । राजनीति धेरै फोहोर भएको महसुस गरेको छु । केही समयपछि मात्र निर्णय गर्छु ।’

उनले एमालेमा फर्किने सम्भावना अस्वीकार गर्दै भने, ‘एमालेमा जाने भए त म पहिले नै गइहाल्थें नि।’ पछिल्लो समय आले नेपाली कांग्रेसमा प्रवेश गर्ने सम्भावनाको पनि चर्चा चलेको छ, तर उनले त्यसबारे स्पष्ट जवाफ दिन मानेका छैनन् । ‘त्यस्तो त नहोला’, उनले छोटकरीमा भने । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित उनको निवासमा आगजनी भएपछि आले धनगढीमा बस्दै आएका छन् । उनी राजनीतिक रूपमा टाढा देखिए पनि डोटी र कैलाली क्षेत्रमा उनको बलियो जनसञ्जाल अझै कायम छ । उनका निकट नेताहरू भन्छन्, ‘आले डोटी नभए कैलाली–५ बाट पनि चुनाव उठ्न सक्ने स्थितिमा छन् ।’

राजनीतिमा लामो अनुभव भएका आले २०५४ सालमै डोटी जिल्ला विकास समितिका सदस्य बनेका थिए । २०७० र २०७४ सालमा संविधानसभा र प्रतिनिधिसभामा डोटीबाट निर्वाचित भएका उनले वन तथा वातावरण मन्त्री र पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व गरेका थिए। हालको राजनीतिक हलचलबीच शाहले नयाँ बाटो समातेका छन्, तर आले भने अझै ‘अवलोकन मोड’ मै छन्। शाहको निर्क्याेलपछि सुदूरपश्चिममा एमाले कमजोर हुँदै जाँदा, आले कुन दिशातिर मोडिन्छन् भन्ने जिज्ञासा अब नेपाली राजनीतिमा चासोको विषय बनेको छ।

 

 

झाँक्री र श्रेष्ठबारे ओली : कुर्सी होइन, गन्तव्यका लागि फर्किनु भएको हो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँकी, किसान श्रेष्ठलगायत नेताहरू पार्टीमा फर्किए पनि उनीहरूले कुनै पद वा सुविधा नचाहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभा गृहमा सोमबार आयोजित ‘एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ लाई सम्बोधन गर्दै ओलीले आफूले पनि उनीहरूलाई कुनै आश्वासन नदिएको र उनीहरू स्वेच्छाले, आफ्नो अनुभवका आधारमा फर्किएको बताएका हुन्।

‘हामीले आह्वान गरेका हौँ, तर फकाएर ल्याएका होइनौँ,’ ओलीले भने, ‘हामीले केही दिन्छु भनेका छैनौँ, उहाँहरूले पनि केही माग्नु भएको छैन । उहाँहरूले भनेका छन्–कुर्सी नभए चकटीमा बसौँला, चकटी नभए भुँइमै बसौँला । गन्तव्य ठूलो छ, त्यसकै लागि आएका हौं।’ ओलीले पार्टीलाई ‘राष्ट्रिय शक्ति’ बनाउने अभियानमा फर्किएका नेताहरूको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनका अनुसार रामकुमारी, किसान र अन्य नेता पदका लागि होइन, विचार र राष्ट्रिय गन्तव्यका लागि फर्किएका हुन् ।

त्यसै अवसरमा ओलीले पार्टी सानो चित्त भएको भन्ने आलोचनालाई पनि अस्वीकार गरे । उनले भने, ‘नेकपा एमाले सानो चित्त र सानो दिल भएको हल्ला चलाइन्छ । तर यो देशकै सबैभन्दा ठूलो जनमत पाएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टी हो । यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ठाउँ छ, सबैले मज्जाले काम गर्न सक्छन् ।’

प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ओलीले व्यङ्ग्यात्मक ढङ्गले भने, ‘अब त उहाँहरूले ज्येष्ठ नागरिक आश्रम नै बनाइसक्नु भयो । बागलुङ–प्युठानतिरका केही बाँकी छन्, ती पनि समेट्नु भयो भने कोष पूरा हुन्छ ।’ भीम रावलतर्फ संकेत गर्दै उनले थपे, ‘छैटौँ वरीयता पाएपछि कुद्न थालेको देखियो ।’ ओलीले अन्त्यमा भने, ‘एमालेमा फर्किनेहरूका लागि कुर्सी होइन, देश र विचारको माया प्रमुख कारण हो । यही भावना पार्टीले कदर गर्छ ।’

‘जेनजी आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन कुनै क्रान्ति नभएको भन्दै उपद्रवको संज्ञा दिएका छन् । ‘जेनजी आन्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन । यो समाज परिवर्तनका लागिको आन्दोलन होइन,’ ओलीले भने, ‘यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल माप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो । यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन । यो उपद्रव हो ।’ उनले क्रान्ति भन्ने कुरा सकारात्मक नतिजा दिनेगरी हुनुपर्ने बताउँदै २३ र २४ गते के प्रगति भयो ? भन्दै प्रश्न गरे । ‘क्रान्ति भनेको त गरिराख्नु पर्छ । क्रान्ति भनेको राम्रो कुरा हो । सकारात्मक नतिजा दिन्छ समाजलाई । २३ र २४ गते हामीले त्यो प्रगति पायौं ?,’ उनले भने ।

युवा संघलाई ओलीको निर्देशन : सरकारको अनुमति चाँहिदैन, प्रदर्शनमा उत्रिए हुन्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संविधानअनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत गराएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने जिकिर गरे । अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरुले सक्ने भए पनि स्वीकृति नभए पनि नडराई प्रर्दशनमा उत्रनुपर्ने बताए । उनले संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएकाले त्यसमा रोक लगाउने अधिकार कसैलाई पनि नभएको बताए ।

अध्यक्ष ओलीले भने, ‘युवाहरुले सरकारलाई यो कुरा भन्न लजाउनु पनि पर्दैन, डराउनु पनि पर्दैन । धक मान्नु पनि पर्दैन खुलेर भन्नुस्–शान्तिपूर्ण प्रर्दशन हाम्रो अधिकार हो । हामी नाजायज विरोध गर्दैनौं । जायज विरोध हाम्रो अधिकार हो भन्नुस् । प्रदर्शनमा जानकारी दिनुहोस् । प्रशासनलाई जानकारी दिनुहोस् । हामीलाई लुकेर गर्नु छैन । जानकारी दिनुस । अहिले पनि हामी यसरी गर्दैछौ स्वीकृति दिनुस् भनेर भन्नुस् । स्विकृति दिनु हुन्न भने स्विकृति चाहिँदैन, सडक उत्रनुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन । सीडीओको आदेशले संविधान काट्दैन । के भएर बन्नु भयो प्रधानमन्त्री ? संविधानले त दिँदैन । प्रधानमन्त्री पनि असंवैधानिक, सीडीओका कुरा पनि असंवैधानिक । मन्त्रीका कुरा पनि असंवैधानिक । यस्तो हुुनु हुँदैन ।’ अध्यक्ष ओलीले सरकारले जेनजी आन्दोलनका अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

देश जलाउनेहरुले नै सरकार चलाइरहेका छन् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेनजी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जेनजी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गरे । जलाउनेहरुले नै देश चलाउने तमासा देखाईरहेको अध्यक्ष ओलीको भनाई थियो । उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने त्यसले चलाउने । यस्तो तमासा भईराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक एक फिट माथि बुरुक्क उफ्रिएकै थिए । अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरु देखिएका छन् । जो संविधानले मिल्दै मिल्दैन, हुँदै हुँदैन भन्छ । तिनै व्यक्तिहरु ।’ अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पारे ।

नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहोर्‍याउन खोजिएको जिकिर गरे । उनले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत बताए ।

उनले भने, ‘जहाँ अधिनायकवाद शुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौं । म्यानमारमा हामीले देख्यौं । त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो । ६ वर्ष भयो त्यो मिति सरेको सर्‍यै छ । बंगलादेशमा ६ महिनाभित्र चुनाव गरिसक्ने भन्ने कुरा भयो । डेढ वर्ष सर्‍यो । अब चुनाव नगराउने कुरा अब आउँदो फेबु्रअरीमा पनि चुनाव नहुने देखिन्छ । त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोर्‍याउन खोजिएको छ । देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ । यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो । यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन । लामो समय चल्न दिनु हुँदैन ।’ अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वनद्वमा फसाउने प्रयास भईरहेको समेत दोहोर्‍याए ।

‘पार्टी सदस्यबाट निकाल्नेहरूलाई ल्याएर उपाध्यक्ष र सचिव बनाएँ, अहिले मेरै टाउकोमा कराँते सिक्दैछन्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताए । उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए । अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरे ।

उनले भने, ‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । कांग्रेससँग हाम्रो संवाद भईरहेको छ । कांग्रेस फाइनल्ली मेरो विश्वास छ–पुनर्स्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब कांग्रेसभित्र जटिलता छ । शेरबहादुरजी उता जानुभयो । लिडरसिप क्राईसेस छ । अब लिडरसिप भनेको यस्तो चिज हुँदोरहेछ शेरबहादुरजी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन । हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन् । पहिला नै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन् । सबैले भाग लिन्छन् बोल्नका लागि ।’ अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताए ।

‘सञ्चारमाध्यममा गएर  र्‍याईर्‍याई गर्नुको औचित्य छैन’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताएका छन् । शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पुनर्गठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्ने कुरा कार्यकर्ताहरुले स्पष्ट देखेको बताए । काम गर्नेहरु पार्टीमा रहने र काम नगर्ने अब विदा हुने पनि स्पष्ट पारे । सञ्चारमाध्यममा गएर  र्‍याईंर्‍याईं गर्नुको औचित्य नरहेको उनको स्पष्टोक्ति छ । संसद पुनस्र्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा अध्यक्ष र पार्टीका विरुद्धमा काम हुनु राम्रो नभएको बताए ।

उनले भने, ‘पार्टीमा पुनर्गठन चाहियो, चाहियो भनेर एकथरी साथीहरु धेरै कराएका हुनाले अनुशासनहिन ढंगले उपद्रव मचाएको हुनाले एक वर्षपछि गरे हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु । ठिक छ । पुनर्गठन गरौँ न त । काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ । को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ । को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्दछ । यो  र्‍याईं र्‍याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ । उता युट्युबमा गयो त्यस्तै छ । टेलिभिजनमा गयो  र्‍याईर्‍याईं गरेको छ । एउटा पत्रिका भनेको छ,  र्‍याईंर्‍याईं गरेको छ । यो  र्‍याईंर्‍याईं यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे । यो आज मात्रै भनेको हो र ?’
अध्यक्ष ओलीले आफूलाई सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने नेताहरुलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताए । उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरुले काम गरिरहेको बताए ।

 

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनर्स्थापना पनि उनी आफैले गर्नुपर्ने तर्क गरेका हुन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना अदालतले गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनु पर्ने समेत बताए । अध्यक्ष ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनु पर्दछ । प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तीब्र बनाउनु पर्दछ । जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ । कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनर्स्थापना गर्नुपर्‍यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्‍यो । यस कुरामा हामी लेख्न सक्नु पर्दछ । बोल्न सक्नु पर्दछ । सत्यको पक्षमा उभिन सक्नु पर्दछ ।’ अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गरे । उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहोर्‍याए ।

ओलीको आरोप : सुशीला कार्कीको सरकार असंवैधानिक र प्रतिगामी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक, प्रतिगामी र अराजक प्रवृत्तिबाट जन्मिएको सरकारको संज्ञा दिएका छन् । एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘केपी ओलीसँग अन्तर संवाद’ कार्यक्रममा बोल्दै उनले पूर्व प्रधानन्यायाधीश कार्कीले संविधान विपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।

ओलीका अनुसार संविधानले पूर्व प्रधानन्यायाधीशलाई कुनै पनि सरकारी जिम्मेवारी लिन निषेध गरेको भए पनि कार्कीले सो सीमालाई तोड्दै सत्ता सम्हालेकी हुन् । उनले भने, ‘कुनै संविधानले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न दिने कुरा गरेको छैन । मानव अधिकार आयोग बाहेक अन्य कुनै पदमा जान मिल्दैन भन्ने प्रावधान छ । त्यसो हुँदा पनि संविधान मिचेर प्रधानमन्त्री बन्नु प्रतिगमनको पराकाष्ठा हो ।’

डिस्कर्डमार्फत प्रधानमन्त्री चयन भएको भनाइप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘के सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री छानिन्छ ? दुई–तीन हजार केटाकेटीले डिस्कर्डमा भोट हाले र त्यसलाई सरकार मान्ने ? कसले गन्यो त्यो मत ? कस्तो मतपत्र थियो ?’ उनले त्यस किसिमको प्रक्रियालाई ‘हावाको भरको हाहुको सरकार’ भनेर टिप्पणी गरे । ओलीले अराजक आन्दोलन र आगजनीको भरमा बनेको सरकारले लोकतन्त्र, संविधान र संसदप्रति वैरभाव देखाएको आरोप पनि लगाए । उनले भने, ‘२४ गतेको आगजनी र तोडफोडपछि बनेको सरकार न जनअनुमोदनबाट बनेको हो, न संविधानअनुसार । यो लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग वैमनस्य राख्ने, प्रतिनिधिसभाको अस्तित्वलाई चुनौती दिने सत्ता हो ।’

राजतन्त्रकालीन प्रतिगमन देख्न सकिने भए पनि अहिलेको प्रतिगमन ‘अदृश्य र आधारहीन’ भएको उनको भनाइ थियो । ‘यी प्रतिगमनकारी न इतिहासमा छन्, न परम्परामा, न जनसमर्थनमा । हाहुमा आगो लगाउने, तोडफोड गर्ने, अराजक अभ्यास गर्नेहरूको भरमा बनेको सरकार देशका लागि खतरा हो’, उनले चेतावनी दिए । ओलीले अन्त्यमा एमालेले अराजकताका यी अभ्यासहरूविरुद्ध दृढतापूर्वक प्रतिवाद गर्ने स्पष्ट सन्देश दिएका थिए ।

भदौ अन्तिम साताको हिंसा र विध्वंसलाई परिवर्तन ठान्नु गलत : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन् । बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । भदौ २३ गतेको हिंसा र २४ गतेको देश दोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ । उनले जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताए ।

उनले भने, ‘नेपालको लागि हिंसा र विध्वंस एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेनजी युवाहरुले एउटा फूल पनि भाँच्दैनौं, प्रहरीसँग वादविवाद गर्दैनौं भनेर आन्दोलन शुरु गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहानलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ ।’ उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गरे । उनले २०४६ सालयताका भ्रष्टाचारका काण्डहरुको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए ।

नेकपा एसका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता हुँदैन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता नहुने प्रष्ट पारेका छन् । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायतका नेताहरू नयाँ पार्टी गठनको तयारीमा छन् । यो पंक्ति एमालेमा फर्कने चर्चा चलिरहेका बेला ओलीले यस्तो अडान सार्वजनिक गरेका हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले समूहका रूपमा आउनेहरूलाई स्वीकार नगर्ने तर कोही व्यक्ति व्यक्तिगत रूपमा एमालेमा फर्कन चाहेमा स्वागत गर्न तयार रहेको बताए । ‘कुनै अमुक समूहसँग एकता हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँहरूसँग मैले कुरा गरेको छु । तपाईंहरू आउनुहोस् भनेको छु । व्यक्तिगत रूपमा १०–२० जना आए पनि व्यक्तिगत नै हुनेछ । अलग्गै समूह बनाएर एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन ।’

अध्यक्ष ओलीले शुक्रबार नै विगतमा एमाले छाडेर गएका नेता कार्यकर्तालाई पुरानो घरमा फर्कन आह्वान गरेका थिए । उनको यो भनाइलाई एकीकृत समाजवादीभित्रको असन्तुष्ट पक्षलाई लक्षित गरिएको रूपमा हेरिएको छ । यद्यपि, ओलीले समूहगत एकतालाई अस्वीकार गरेर व्यक्तिगतरूपमा फर्कने ढोका खुला राखेका छन् । यसले एकीकृत समाजवादीको असन्तुष्ट समूहभित्र थप अन्योल सिर्जना गर्ने देखिन्छ । यसअघि, एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि खनाल–भूसाल पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । उनीहरूले नयाँ पार्टी गठनको तयारी गरिरहेको बुझिएको छ ।

 

योगेश भट्टराईको चेतावनी : राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राजनीतिलाई रोक्न खोजे ठूलो वितण्डा निम्तिन चेतावनी दिएका छन् । छठ पर्वको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश दिँदै उनले प्रकृतिलाई थुन्दा आउने विध्वंशको उदाहरण दिँदै यस्तो चेतावनी दिएका हुन् ।

‘जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई हामीले थुन्न थाल्यौं, छेक्न थाल्यौँ, यसको बाटो रोक्न थाल्यौँ भने राजनीतिमा पनि ठूलो बितण्डा आउन सक्दछ,’ फेसबुकमा सार्वजनिक भिडियो सन्देशमा भट्टराईले भनेका छन् । पार्टी र समाजमा राजनीतिको प्रकृतिक बहावलाई नरोकेर सहज ढंगले अगाडि बढ्न दिनुपर्ने उनले बताएका छन् । ‘त्यसकारणले चाहे पार्टीभित्र होस्, चाहे समाजमा राजनीतिलाई पनि यसको प्राकृतिक बहावलाई रोक्नु हुँदैन । यसलाई सहज ढंगले अगाडि बढ्न दिनु पर्दछ’, भट्टराईको भनाइ छ।

नेता भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलन मुलुक अकल्पनीय ढंगले अगाडि बढेको पनि टिप्पणी गरेका छन् । २३ र २४ भदौमा भएको घटनाबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाइ छ । ‘हामीले ती घटनाहरूबाट पाठ सिक्नु पर्दछ । आत्मसमीक्षा गर्नुपर्दछ,’ भिडियो सन्देशमा भनिएको छ, ‘नेपाललाई फेरि पनि लोकतान्त्रिक अभ्यासमा फर्काऔँ । हाम्रो संविधानलाई क्रियाशील बनाऔँ ।’

भट्टराईले सबै राजनीतकि दल र जेनजी आन्दोलनपछि आइरहेका नयाँ शक्तिबीच सहकार्य गरेर देशलाई सही दिशामा लैजानुपर्ने आवश्यकता पनि औंल्याएका छन् । ‘देशका सबै राजनीतिक शक्तिहरूका बीचमा र यो जेनजी आन्दोलनपछि आइरहेका नयाँ शक्तिहरूका बीचमा समेत सहकार्य गर्दै हामीले एउटा सही निकास निकाल्नुपर्ने छ’, उनले भनेका छन्, ‘त्यसक्रममा पनि यो छठले हामीलाई एकता सद्भावको बाटो देखाउन सकोस् ।’

जेनजीका माग सम्बोधन गर्न संसद पुनर्स्थापना हुनुपर्छ : प्रदीप ज्ञवाली

परासी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद पुनर्स्थापनाको एजेण्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद पुनर्स्थापना नै उत्तम विकल्प रहेको बताए ।

नेता ज्ञवालीले फागुन २१ मा तोकिएको चुनाव गराउने पक्षमा सरकार नदेखिएको दाबी गरे । ‘चुनाव हुने सम्भावना नेकपा एमालेले आजको मितिसम्म देखेको छैन, पहिलो कुरा चुनाव गराउने सरकारको मनसाय नै देखिँदैन्, चुनाव गराउँदा उनीहरुका उद्देश्य पूरा हुँदैनन्’, उनले भने, ‘सुरक्षाकर्मीबाट लुटिएको एक हजार बढी हतियार बाहिर छन्, भगाइएका १४ हजार कैदी मध्ये साढे ५ हजार अझै पनि बाहिरै छन्, गम्भीर अपराधमा संलग्न उनीहरुलाई कतिबेला कसले प्रयोग गर्छ, टुंगो छैन्, प्रहरीको मनोबल घटेको छ, यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कसरी कल्पना गर्ने ?’

भदौ २३ गतेको घटनालाई आधार बनाएर राजनीतिक दलहरुलाई जसरी पनि फसाउने र २४ गतेको घटनालाई विद्रोहको संज्ञा दिएर उन्मुक्ति दिने सरकारको नियत देखिएकाले चुनाव हुने वातावरण नदेखिएको उनले स्पष्ट पारे। उनले संसद पुनःस्थापनाका लागि एमालेले दबाबमूलक कार्यक्रमहरु अघि बढाउने बताउँदै विचलित नभइ उच्च मनोबलका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘पुनःस्थापित हुने संसदले सर्वदलीय सहमतिको सरकार बनाउने, त्यसले जेनजी लगायतका असन्तुष्ट पक्षसँग वार्ता गर्ने, त्यसको आधारमा संविधान संशोधन गर्ने, आवधिक चुनाव गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने, यो कोर्सबाट अघि बढ्दा मुलुकले निकास पाउँछ भन्ने हाम्रो पार्टीको धारणा हो’ उनले भने ।

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रुपमा मुलुकलाई कमजोर बनाउने गरी विध्वंसात्मक गतिविधि गरिएको बताउँदै एमाले उपमहासचिव ज्ञवालीले केही पात्रहरु संविधान र लोकतन्त्र समाप्त पार्ने खेलमा अझै पनि लागिरहेको जिकिर गरे । एमालेले महाधिवेसन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुंगो लगाउने उनले स्पष्ट पारे ।

कस्तो बन्छ महेश बस्नेतले घोषणा गरेको ‘ओली कुटी’ ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर ‘ओली कुटी’ निर्माण गर्न तयारी भएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओली कुटी बनाउने घोषणा गर्दै स्थानीय बासिन्दाको पहलमा आफू संयोजकका रूपमा रहने बताएका छन् ।

भदौ २३ र २४ गतेको देशव्यापी ‘जेनजी आन्दोलन’का क्रममा भक्तपुर–बालकोटस्थित ओलीको घर जलाएपछि उनी हाल भाडाको घरमा बस्दै आएका छन् । सोही घटनापछि स्थानीयले नयाँ घर बनाउने प्रस्ताव अघि सारेका हुन् । बस्नेतका अनुसार ‘ओली कुटी’ कस्तो देखिने भन्ने विषयमा देशभरबाट नमुना चित्र संकलन भइरहेको छ । उनले लेखेका छन्, ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन थालिसकेका छन्, म संयोजकको भूमिकामा रहनेछु ।’

यसअघि बुधबार बालकोटस्थित जलेको घरको अवलोकनमा पुगेका ओलीसँगै बस्नेतले उक्त घर अब मर्मत नहुने बताएका थिए । ओलीले आफूले सरकारको नाममा दिएको घर सरकारी सम्पत्ति भएकाले व्यक्तिगत खर्चमा मर्मत नगरिने बताएका थिए । बस्नेतले ओलीका जलेका सम्पूर्ण घरहरू राज्यले संरक्षण गर्नुपर्ने भन्दै सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेका छन् । ओली कुटी कस्तो बनाउने भन्ने विषयमा देशभर बाट नमुना चित्र संकलन भईरहेको बस्नेतले उल्लेख गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन म आफु संयोजकको भूमिकामा रहनेछु ।’

‘ओली कुटी कस्तो देखिन सक्छ ?’ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ । देशभरबाट सुझाव र समर्थन आउँदैछ ।’ भदौ २४ गते जलेको ओलीको बालकोटको घर भने मर्मत नहुने बस्नेतले बुधबार नै जानकारी गराएका थिए । बुधबार जेनजी आन्दोलनका क्रममा जलेको घरको अवलोकनमा पहिलो पटक ओली बालकोट आएका थिए । त्यसै क्रममा बस्नेतले जलेको घर मर्मत नहुने जानकारी दिएका थिए । ओलीले आफ्नो शेषपछि सरकारको नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले व्यक्तिगत खर्च लगाएर मर्मत नगरिने बस्नेतको भनाई थियो ।

बुधबार ओली निवास बालकोटमा पत्रकारहरुसँग कुराकनी गर्ने क्रममा ओलीको जलेको घर मर्मत नगरिने बताएका थिए । साथै बस्नेतले ओलीका जलाईएका सबै घर उनको रहको पनि जानकारी दिएका थिए । जसलाई सरकारले प्रोग गर्न समेत आग्रह गरेका छन् । ओलीले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताएका थिए । ‘हामीले यी घर आफ्नो नामबाट राजीनामा पास गरिदिसकेका थियौँ । हाम्रो निजी सम्पत्तिका रूपमा यी थिएनन् । हामी बाँचुञ्जेलसम्म निकाल्न नपाउने गरी बसेका थियौँ । हाम्रो निधनपछि यो सम्पत्ति सार्वजनिक हुन्थ्यो,’ उनले भनेका थिए, ‘हामीले यहाँको केही पनि चलाउने गरेका थिएनौँ । जसले क्षति ग¥यो उसले दण्डित हुनुपर्छ । यो त राज्यको क्षति हो ।’

अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि व्यक्तिगत दुष्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका थिए । ओलीले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे ।
ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गर्दै नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेको बताएकी थिइन् । तर, अब त्यो सपना खरानीमा परिणत भएको उनको गुनासो थियो ।

सरकारले अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् । बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ । उनले सरकारले आन्दोलनका पीडितहरुलाई न्याय दिलाउनुको सट्टा दुश्मनी साँधिरहेको आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

उनले भने, ‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरु वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरु विदेशका नभई यँही वरपरका थिए । अहिले पक्राउ गर्न सरकार तयार छैन । झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुश्मनी देखिन्छ । त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुश्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’ जेन–जी पुस्ताका अगुवाहरुमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरुलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उनको आशंका छ ।

‘यो आन्दोलन होइन, षड्यन्त्र हो’
अध्यक्ष ओलीले जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् । बुधवार बिहान पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले आवासको निरीक्षण गरेका हुन् । निजी निवास निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटापाटको घटना नेपालविरुद्धको योजनावद्ध षड्यन्त्र भएको टिप्पणी गरे । उनले यो घटना असोज २३ गतेको मात्र नभई पहिलेदेखिको एमालेमाथिको योजनाबद्ध तार्गेटिङको परिणाम भएको दाबी पनि गरे ।

उनले आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट र चोरीको घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप पनि लगाए । उनले निवासबाट चोरिएका सामानहरूको विवरण दिँदै आश्चर्य व्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विद्यार्थीहरूले सुरु गरेको सकारात्मक अभियानको फाइदा उठाउँदै अपराधिक समूहहरुले फाइदा उठाएको जिकिर गरे । उनले जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको भूमिका समेत शंकास्पद रहेको आरोप लगाए । उनले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्ने नभई पीडितहरुलाई नै दुःख दिने काम सरकारले गरिरहेको उनको आरोप छ ।

उनले भने, ‘मैले धेरै कुरा बोल्नु पर्दैन । तस्बिर आफैं बोल्छ । केही टनका फलामका मुर्ति समेत थिए । कसरी लगे भनेर आश्चर्य लागेको छ । शिव, सरस्वतीको मुर्ति चोरिएको छ । एक जनाले सक्दैन गाडीमै चोरी भएको छ । उनीहरुले काम लाग्ने कुरा चोरेर लगे काम नलाग्ने कुरामा आगजनी गरेर गए । नभए त मेटलको सामान पग्लिएर बस्नुपर्ने हो । केही अघिदेखि नै यहाँ तार्गेट गर्ने गरेका थिए । केही अपराधिक समूहहरु समय समयमा आउने गरेका थिए । यहाँ मात्र होइन सबैतिर एमाले पार्टी कार्यालय र नेताका घरहरु जलाइएको छ ।’

उनले थपे, ‘यो २३ गतेको घटना मात्र होइन पहिलेदेखि नै एमालेमाथि तार्गेट गरिएको थियो । यसअघि चैत १५ मा पनि प्रयास गरिएको थियो । त्यो बेला सफल भएन । यस पटक उनीहरु सफल हुने स्थिति बन्यो । यो नेपालका विरुद्ध गम्भीर षड्यन्त्र हो । शान्ती क्षेत्र भनिएका विद्यालय जलाइए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम होस् भनेर विद्यार्थीहरु मैदानमा उत्रिए । उनीहरुलाई प्रयोग गरेर योजनावद्ध ढंगले विध्वंस पारियो । लुटपात गर्नेहरु विदेशका नभई यतै कतैका थिए । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । अहिले पक्राउ गर्न सरकार तयार छैन । सरकार भ्रष्टाचार नियन्त्रणमा छैन ।’

 

ओलीले गरे जेनजी आन्दोलनमा ध्वस्त आफ्नो बालकोट निवासको अवलोकन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् ।

सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए । ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएकी थिइन् । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

भ्रष्टाचार नियन्त्रण कुशासनको अन्त्य तथा ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा उत्रिएको जेनजी आन्दोलनमा २३ गते गोली चलेपछि सडकमै १९ जना बालबालिका तथा युवाले ज्यान गुमाएका थिए । सोही दिनको सरकार र सुरक्षा निकायको दमनपछि आक्रोशित बनेको आन्दोलनले २४ गते उग्ररुप लिदा सरकारी कार्यालय नेताहरुका निजी निवास, उद्योग तथा सर्वेच्च अदालत सिंहदरबार लगायतका राष्ट्रिय सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।

त्यस बखतका तत्कालिन प्रधानमन्त्ती ओली लगायत अन्य नेताहरुर्ला सेनाले सुरक्षा दिदै सुरक्षित स्थानमा राखेको थियो । भने अन्तरिम सरकार गठन भेसकेपछि नेताहरु सार्वजनिक भएका थिए । उक्त आन्दोलनमा केपी ओलीको घरमा आन्दोलनकारीहरुले लुटपाट तथा आगजनी गरेका थिए । सोही घरको अवलोकनमा ओली आज पहिलो पटक त्यहा पुगेका हुन् । उनी हाल भक्तपुरस्थित गुण्डुमा भाडाको घरमा बसिरहेका छन् ।

 

महाधिवेशनले नै पार्टी नेतृत्वको फैसला गर्छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मंसिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् ।

हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवशनको मिति निर्धारण गरिएको सुनाए । ‘बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्ताहमा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ’, उनले भने ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

 

जेनजी आन्दोलनपछि पहिलोपटक सञ्चारकर्मीसँग अध्यक्ष ओली (लाइभ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा सहभागी भएका हुन् । छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ । त्यसपछि उनले जवाफ दिनेछन् ।

 

कोही यहाँ विद्या भण्डारीको माइती बनेर नआउनू, म भण्डारीलाई राम्रै जान्दछु : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन् । केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए ।

‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन । म विद्या भण्डारीलाई राम्रै जान्दछु । उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ,’ उनले भने । त्यतिबेला आफूले पाँच लाख रूपैयाँ सहयोग उठाइदिन्छु भनेर आग्रह समेत गरेको बताए।

‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ । कसैले यहाँ ठूलो कुरा नगरौं । म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने । पूर्व राष्ट्रपति भण्डारीले नै आफै आएर आफूलाई सघाउनु पर्ने उनले बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्न करिब ५० जना सदस्यहरूले माग गरेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पदाधिकारीहरू पनि उनको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए ।

राजीनामा माग्नेलाई ओलीको जवाफ : एउटा सानो टुक्रो आन्दोलन काँधमा बोकेर ल्याएको हुँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यलाई सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, काँधमा अझै जिम्मेवारी छ भन्ने जबाफ फर्काएका छन् । आज (शुक्रबार) केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा सदस्य एवम् पदाधिकारीहरूले उठाएका प्रश्नहरूको जबाफ दिने क्रममा उनले राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने बताएका हुन् ।

‘केही साथीले राजीनामा माग्नु भएको छ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छोड्दिनँ । मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । त्यहाँ छलफल होला । प्रतिनिधिहरूसँग फैसला माऔंला । उनले पार्टीलाई तिक्ततामा नलग्न पनि अनुरोध गरेका छन् । ‘मित्रता साथ जाऔं,’ उनले भने ।

मुलुकको संकट पार लगाउन सक्ने एक मात्र व्यक्ति ओली : पौडेल

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले मुलुकको वर्तमान संकट पार लगाउने र हरेक हमलाको सामना र प्रतिरोध गर्न सक्ने व्यक्ति केपी ओलीको मात्र भएको दावी गरेका छन्। शुक्रबार एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता पौडेलले ओलीलाई मात्र विस्थापित गर्ने उद्देश्यका लागि गलत भाष्य निर्माण गरिनु ठीक नभएको तर्क गरे ।

‘मुख्य दलका मुख्य नेताले बिदा लिएपछि देश सही बाटोमा लाग्छ भन्ने जुन अर्थ लगाउन खोजिँदै छ, यो मात्र केपी ओलीविरुद्धको षड्यन्त्र हो’, उनले भने, ‘देउवा बिदा लिने लाइनमै थिए । प्रचण्ड उनीहरूकै डिजाइनमा काम गर्ने भयपछि उनले पनि छोड्नु पर्ने थिएन ।’ आफ्ना भेस्टेड स्वार्थहरू नेपालमा लागु गर्न ओली प्रमुख बाधक राखेको र अनेक प्रयास गर्दा पनि उनलाई गलाउन नसकेपछि उमेर र पुस्ताको नाममा जनमानसमा भ्रम छर्दै गलत भाष्य निर्माण गर्न खोजिएको उनको तर्क छ ।

पौडेलले अमेरिका, रसिया, चीन र भारतलगायत विश्वका महाशक्ति राष्ट्रहरूमा उमेर र पुस्ताको कुरा नउठेको भन्दै नेपालमा गिरिजाप्रसाद, कृष्णप्रसाद, मनमोहन, देउवाहरू हावी हुने बेला पनि उमेरको कुरा नउठेको धारणा राखे । २३ र २४ भदौको घटना आन्दोलन नभई आन्दोलनको आवरणमा गरिएको हमला भएको उनको तर्क छ । ‘हमला देशको विरुद्ध थियो र देशको मुख्य पहरेदारी शक्ति भएको हुनाले नेकपा एमालेलाई सबैभन्दा बढी असर पर्न गयो र टार्गेटमा रह्यो’, पौडेलले भने ।

‘देशमा रामराज्य त थिएन, तर हमलाको ग्राउन्ड नेपालले तयार पारेका थिए कि विदेशीले तयार पारेका थिए भन्ने कुरामा क्लियर हुन जरुरी छ’, उनले अगाडि थपे । उनले आजसम्म ११ वटा देशमा यस्ता किसिमका हमला भएको उल्लेख गर्दै अझै केही देशमा यो किसिमको हमलाहरू जारी रहने अनुमान गरिएको समेत बताए । ‘लडाइँको मैदानमा चौतर्फी हमला र घेराबन्दी भइरहेको बेला दुश्मनको एजेण्डालाई बल पुर्‍याउने गतिविधि गर्नेहरूलाई भावी सन्ततिले धिक्कार्नेछ’, उनले भने ।

मेरो सिफारिस विपरीत संविधान बाहिरबाट सरकार गठन गरियो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिस विपरीत संविधान बाहिरबाट सरकार गठन भएको आरोप लगाएका छन् । आज (बुधबार) बाट ललितपुरस्थित रामबाघ महल पार्टी प्यालेसमा जारी केन्द्री कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए पनि त्यसलाई संसदमार्फत् संविधान संशोधन गरेर संवैधानिक प्रक्रियामार्फत् अगाडि बढाउन मात्रै सिफारिस दिएको दाबी गरेका हुन् ।

गत भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सम्मतिका आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको बताएका थिए । तर ओलीले राजनीतिक प्रतिवेदनमा संविधान बाहिरबाट सरकार बनाउन सिफारिस नदिएको दाबी गरेका छन् ।

‘असामान्य परिस्थितिका बीचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले राजीनामा दिइसकेपछिको अन्यौलपूर्ण अवस्थालाई निकास दिन हामीले संविधानसम्मत विकल्पहरू प्रस्तुत गरेका थियौं । असहज परिस्थितिका बीचमा गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भएका पनि त्यसलाई संसदमार्फत् संविधान संशोधन गरेर संवैधानिक प्रक्रिया मार्फत् अगाडि बढाउने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलहरूबीच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधि सभा विघटन गर्न नहुने हाम्रो स्पष्ट र दृढ अडान थियो । सोही अनुरूप संविधानसम्मत निकासका लागि काम चलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले सिफारिस गरेको थिएँ। त्यो सुझावविपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ,’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकायविहीन अवस्थामा पु¥याएको र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको बताएका छन् । ‘युुसले जनताकमा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ । हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनःस्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ,’ उनले भनेका छन् ।

 

 

भदौ २४ को घटना सुनियोजित भन्दै २३ को घटना छानविन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २३ गते संसद भवन अगाडि गोलीकाण्ड घटना भइसकेपछि मात्रै आफूले थाहा पाएको बताएका छन् । उनले गोली चलाउने आदेश कानुनत अधिकार प्राप्त संस्था वा अधिकारीले मात्रै दिन सक्ने र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट रहेको पनि बताए ।

‘भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो । दंगा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौंको संख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंश केका लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण हुनैपर्छ,’ उनले दशौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ । भदौ २३ गतेको घटनापछि मन्त्रिपरिषदको बैठक बसेको र बैठकले उक्त घटनाका सम्बन्धमा दुःख व्यक्त गरेको पनि उनले बताए ।

‘घाइतेका निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ । मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ । घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्री विरूद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमाले कडा प्रतिवाद र खारेज गर्छ,’ ओलीले भनेका छन् ।

 

चुनाव हुनेवाला छैन, गराउने बाटोमा सरकार छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन तोकिएको समयमा नहुने दावी गरेका छन् । आजदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सरकार नै चुनाव गराउने बाटोमा नरहेको बताएका हुन् ।

‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नु पर्दछ, चुनाव हुनेवाला छैन । चुनाव गराउने बाटो सरकारले समातेको छैन । अवैध ढङ्गको असंवैधानिक सरकार हो यो, हामी सबैलाई थाहा छ नि त, संविधानको धारा १३२ को १, २… यिनीहरूले छर्लङ्गै भनेका छन्, पूर्व प्रधानन्यायधीश के गर्न हुन्छ के गर्न हुँदैन, संविधानमा लेखेको छैन ? अनि पूर्व प्रधानन्याधीशले आफै फैसला गर्ने अनि आफै फेरि असंवैधानिक ढङ्गले प्रधानमन्त्री हुने । संवैधानिक भनेर संसद विघटन फैसला गर्ने उहाँहरू, अहिले आफैले असंवैधानिक ढङ्गले विघटन गर्ने ? त्यसैले यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो ।’

उनले जेनजीको माग र आन्दोलन यससँग नजोडिने बताएका छन् । उनले जेनजीका माग सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल भएको बताउँदै आन्दोलनमा अरु तत्वहरू सक्रिय भएको दाबी गरे । ‘त्यस कारण यतिबेला हाम्रो काँधमा असाधारण जिम्मेवारी छ । त्यो जिम्मेवारी बहन गर्न हामी अगाडि बढ्नु पर्छ । यो नै हाम्रो पार्टीको कर्तव्य हो’, ओलीले भने ।

 

गुण्डुमा एमाले सचिवालय बैठक सुरु (तस्वीरहरू)

काठमाडौं । नेकपा (एमाले) को सचिवालयको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेका बेला त्यसबारे कसरी अगाडि बढ्ने भन्नेमा आजको बैठकमा छलफल हुनेछ । सचिवालयका बहुमत सदस्य पार्टी पुनर्गठनको पक्षमा छन् ।

एमाले फेरि धुलो टक्टकाएर उठ्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले एमाले फेरि उठ्ने बताएका छन् । आफ्ना कमी कमजोरी स्वंयले नै सच्याउने भन्दै धुलो टक्टकाएर एमाले फेरि उठ्ने बताएका हुन् । ‘हाम्रा कमी–कमजोरी हामीले नै सच्याउने हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘धूलो टक्टकाएर नेकपा (एमाले) फेरि उठ्छ । हामी फेरि उठ्छौं ।’

महेश बस्नेतको चेतावनी : केपी ओलीलाई छोए देशभर आगो बल्ने छ

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमा देशभर आगो बल्ने चेतावनी दिएका छन् । आज (बिहीबार) भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका हुन् ।

‘केपी ओली पञ्चायतसँग र राजासँग लडेको आएको हो । अहिलेका नौटंकीले च्यालेन्ज गरेका छन्,’ बस्नेतले भने, ‘मैले हिजो पनि भनेको थिएँ, केपी ओलीलाई छोए देशभर आगो बल्ने छ ।’ एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आफूलाई पक्राउ गर्न सरकारले योजना बनाएको भन्दै बस्नेतले एमालेसँग नजिस्किन चेतावनी दिए ।

बस्नेतले असोज २५ गते काठमाडौंमा युवा संघले प्रदर्शन गरेर एमालेको शक्ति देखाउने बताए । अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भए कुलमान घिसिङबाट छानबिन शुरू गर्न उनले चुनौती दिए । ‘नेपालको नम्बर वान भ्रष्टाचारी कुलमानबाट छानबिन गर्नुस्, हामी छानबिनको दायरामा आउन तयार छौं,’ बस्नेतले भने । उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक–एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए ।

उनले अब एमालेले डिजीटल जेनरेसन फोर्स बनाएर देशव्यापी रुपमा उजुरी दिने त्यसको आधारमा कारबाही गर्न अनुरोध गरे । उनले भ्रष्टाचारको छानबिन गर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुवासीले जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘तपाईं आउनुहोस् हामी स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउँछौं ।’

खगराज अधिकारीको आरोप : सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कुनै कदम चालिए कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिएका छन् । पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘केपी ओलीलाई छोयो वा गिरफ्तार गर्‍यो भने कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउँदै विशाल जुलुस निकाल्नेछ ।’

पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका चारै सुरक्षा निकाय ‘बिकेका’ दाबी गर्दै गम्भीर आरोप पनि लगाए । डिपस्टेट स्टेकहोल्डरहरू र विदेशी प्रभावका कारण अहिलेको राजनीतिक संकट उत्पन्न भएको उनको भनाई छ । अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको आरोप लगाए ।

अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परिस्थिति सिर्जना भएको बताएका हुन् । अधिकारी प्रमुख वक्ता रहेको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय समितिको बैठकका लागि सुझाव भन्दै कार्यकर्तालाई बोल्ने अवसर समेत दिइएको थियो । कार्यकर्ताले एमाले पनि सच्चिनुपर्ने र अब थप परिस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

नेता–कार्यकर्ताको सुझावसँगै वर्तमान परिस्थिति, त्यसको कारण र अबको रणनीतिबारे संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहेका अधिकारी बोलेका हुन् । ओलीका कारण नभई देशमा उत्तर–दक्षिण (चीन र भारत) ले खेलेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको अधिकारीको भनाइ थियो । पूर्व गृहमन्त्री समेत भएका कारण आफूलाई सूचना आउने दावी गर्दै नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।

‘यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नै पर्छ, यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिपस्टेट स्टेकहोल्डरबाट,’ अधिकारीको गम्भीर आरोप थियो । उनले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको तर्क गरेका छन् ।

स्थायी कमिटीमा भइसकेको, सरकारमा भइसकेको मान्छेले यस्तो किन बोल्यो भन्ने लाग्न सक्ने बताउँदै अधिकारीले डिपस्टेटका अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गर्नेहरूको संयुक्त प्रयास भएको जिकिर गरेका छन् । त्यति मात्रै होइन, अधिकारीले पार्टी नेतृत्वमा केपी ओलीलाई कसैले छोयो भने चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

‘नेतृत्वबाट केपी शर्मा ओलीलाई बाहिर फालेर त्यही डिपस्टेट होल्डरहरूले केही समुद्रपारिका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमाले हुन सक्दैन,’ अधिकारीले उत्तेजक अभिव्यक्ति दिए, ‘केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने छ । कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ, यहाँबाट सुरु गरौं । किनभने, भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’ चामत्कारिक हिसाबले यो घटना कसरी घट्यो भन्ने नेता–कार्यकर्तालाई लागेको हुनसक्ने बताउँदै उनले शृंखलाबद्ध रूपमा भएको जिकिर गरे । अहिले दक्षिण र उत्तरबीचको लडाईंमा नेपाल परेको उनको भनाइ थियो ।

कांग्रेस पहिलो दिनदेखि नै राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्तिको प्रभावमा परेको अधिकारीको आरोप थियो । शेखर कोइराला, गगन थापा समेतका साथीहरूले ओली सरकार ढाल्ने प्रतिवद्धता गरेको अधिकारीले बताए । अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि गम्भीर आरोप लगाएका छन् । प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुन्छु भनेर लागेको आरोप लगाएका छन् । ‘फेरि पनि राष्ट्राध्यक्ष ज्ञानेन्द्र र म प्रधानमन्त्री हुन्छु भन्नु भयो । उहाँमा प्रधानमन्त्री हुन्छु भन्ने यति धेरै धोको थियो, त्यो बाहेक उहाँले सोच्नु भएको छैन,’ अधिकारीको आरोप थियो ।

अधिकारीले आफू गृहमन्त्रालय सम्हालिसकेको व्यक्ति हुनाले पनि सुरक्षा निकाय बेखबर नभएको जिकिर गरे । जेनजी आन्दोलन र सम्भावित घटनाक्रमबारे प्रधानमन्त्री ओली पनि जानकार भएको उनको भनाइ थियो । उनले ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरे ।

बालेन र सुदनविरुद्ध जाहेरी बुझाएपछि अखिल नेता : दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नता रहेको भन्दै एमाले अखिलले मेयर बालेन्द्र र हामी नेपालका संस्थापक सुदनविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको हो ।

प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका महासचिव दीपक धामीले बताएका छन् । मंगलबार अखिलका नेताहरू बालेन र सुदनलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका हुन् ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्वपूर्ण निकाय जलाउनमा बालेन र सुदनको हात रहेको उनीहरूको आरोप छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदनको समूह प्रहरी परिसर पुगेको थियो भने सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब दिइरहेको छ । त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको हो ।

‘दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं’
अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई प्रहरीले एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले जानकारी दिएका छन् । ‘हामीले जाहेरी दिएका छौं । सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टामा यसको निर्णय दिन्छौं भन्नु भएको छ । सरकारी वकिलको कार्यालयको निर्णयपछि मात्रै हामी थप निर्णय गर्नेछौं,’ उनले भने ।

बडालले थप न्यायिक निरुपणका लागि आफूहरू सम्बन्धित ठाउँमा जान तयार रहेको बताए । ‘हामी कानुनी राज्यको पक्षधर भएको संगठन हौं। हामीले मुलुकको विधिको शासनको वकालत गर्दै यहाँसम्म आएका छौं । दण्डहिनतालाई प्रश्रय दिनु हुँदैन भनेर हामी यहाँ उपस्थित भएका छौं,’ उनले भने ।

उनले राष्ट्रिय सम्पदाहरू तोडफोड र आगजनी गर्नेहरूलाई अनुसन्धान गरेर दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले त्यसका लागि आवश्यक प्रमाणहरू पनि बुझाएको बताए । ‘जेनजीका नाममा बालबालिकाको हत्या भएको छ । सिंहदरवार, अड्डा अदालत जलेका छन् । राष्ट्रिय सुरक्षामा खतरा महसुस भएको छ । हामी दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं,’ उनले भने ।

त्यस्तै अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनपछि देश आतंकित बनेको बताए । उनले यस्तो बेला राज्यका सबै नियकाहरू परिचालित हुनुपर्नेमा कोही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा हुकुमी शासन चलाइरहेको आरोप लगाए ।

‘प्रहरीलाई कुटीकुटी मारिएको छ । विद्यार्थीलाई गोली हानिएको छ । शान्तिको प्रतीकको रूपमा रहेको देशमा विध्वंश मच्चाइएको छ । त्यो हुनु हुँदैन । हामी पनि त्यही समूहका युवाहरू हौं । अनधिकृत मान्छेहरू सिंहदरवार छिरेर हुकुमी शासन लाद्नु हुँदैन,’ उनले भने ।

एमालेकाे ठहर : सरकार राजनीतिक प्रतिशोधको बाटोमा गयो

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढेको टिप्पणी गरेको छ । आज (आइतबार) भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ । यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पाँच जनामाथि काठमाठौं उपत्यका छोड्न र विदेश जान नपाउने गरी गरिएको निर्णयप्रति बैठकले आपत्ति जनाएको छ । एमालेले यही महिनाको २७, २८ र २९ गते केन्द्रीय समिति र त्यसअघि पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

 

शीर्ष नेताको बिदाइ र जेन एक्सको मेन्टरिङ नै अबको बाटो : विन्दा पाण्डे

काठमाडौं । नेकपा (एमाले) की पोलिटब्युरो सदस्य विन्दा पाण्डेले प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिबाट बिदा लिनुपर्ने धारणा राखेकी छन् । जेन–जी आन्दोलनको आक्रोश प्रमुख दलप्रति रहेको भन्दै त्यसको समीक्षा गरी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी हुन् ।

उनले पहिलो पुस्ताका नेतासँगै दोस्रो तहका नेताहरूको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनले पहिलो पुस्ताको बिदाइ, जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित हुनुपर्ने तर्क गरेकी छन् ।

‘जेन–जी आन्दोलनले उठान गरेका विषय र उनीहरूको भावना बुझ्न हरेकले आफ्नो परिवार÷आफन्त र छिमेकका त्यही समूहका युवाहरूको कुरा धैर्यपूर्वक सुने मात्र पनि पुग्छ । यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो,’ उनले भनेकी छन्, ‘ठूला दलका शीर्ष नेताप्रति उनीहरूको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ । बाँकी नेतृत्वले पनि आफूआफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रूपान्तरणसहीत आम नागरिकबीच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्नु हुँदैन ।’

त्यस्तै उनले सुशासनका बाधकहरूको पहिचान गर्दै आवश्यक कारवाहीको निरन्तर प्रक्रिया नै आम रूपमा लिनु पर्ने बाटो भएको औंल्याएकी छन् । ‘यसका लागि, पहिलो पुस्ताको बिदाइ अनि जेन–वाइ र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रविन्दु बन्नु जरुरी छ । युवाहरूको बुझाइ परिपक्व छ भन्ने कुरा देखाइसके । जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो,’ उनले भनेकी छन् ।

अहिले देशको पक्षमा बोल्यो कि झोलेको ट्रेन्ड चलाइन्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताबाट नभएर तोडफोड र आगजनीबाट बनेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक मञ्चमा उभिएका ओलीले यो सरकार असंवैधानिक रहेको टिप्पणी गरे ।

उनले सत्तामा गएदेखि आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको र अरूलाई पनि गर्न नदिएको दाबी गरेका छन् । उनले सरकारमा हुँदा देश र जनताको लागि सकारात्मक काम गरेको उल्लेख गर्दै ती कामलाई प्रचार गर्न अहिलेको सरकारलाई आग्रह गरे ।

उनले आफू सरकारमा हुँदा गरेका सबै कामको रेकर्ड यथावत रहेको पनि बताए । अध्यक्ष ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लाग्ने गरेको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दशैँ भेटघाट कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ । कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइ दिने गरिएको छ । कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ ।’

 

अध्यक्ष ओली गुण्डुमा सार्वजनिक, पार्टी नेताहरुसँग छलफल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरस्थित गुण्डुमा पार्टीका नेता र कार्यकर्तासँग निरन्तर छलफलमा छन् । २ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता र कार्यकर्तासँग निरन्तर छलफलमा छन् ।

ओलीले ३ असोजदेखि पार्टीका नेताहरूसँग छलफल गरिरहेको महेश बस्नेतले जानकारी दिए । ओलीले त्यसयता पार्टीका अधिकांश पदाधिकारीहरूसँग छलफल गरिसकेका छन् । त्यससँगै ओलीले कार्यकर्ताहरूसँग पनि छलफल गरेका छन् । महेश बस्नेतले सार्वजनिक गरेको भिडियोमा ओली पार्टीका कार्यकर्तासँग फोटो खिच्न व्यस्त छन् ।

जेन–जी आन्दोलन चर्किएपछि ओलीले गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । २३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए । ओली नेतृत्वको सरकार ढलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

संविधान खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन् । प्रगतिशील लेखक संघ, नेपालले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारण मात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताए । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुल्लमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरूले चलखेल गरिरहेको दाबी गरे ।

उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपति ज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिँदैन ।’

उनले भने, ‘मेरो विचारमा यस्तो स्थिति सिर्जना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सिर्जना होस् । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस् । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस् । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुने नै छन ।’ उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरूलाई पेलेर निर्वाचन गराउन प्रयास भए पनि त्यो भने सम्भव नहुने बताएका छन् ।

अब नयाँ पुस्तासँग एकाकार भएको पार्टी स्थापित गर्ने जिम्मेवारी आयो : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले विगतमा आफ्ना तर्फबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार सन्देश जारी गर्दै उनले जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू भएको स्वीकार गरेका छन् ।

तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय भएको उनको भनाइ छ । ’जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्,’ सन्देशमा उनले भनेका छन्, ’तर आन्दोलनका क्रममा भएको हत्या– हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । विगतमा नेकपा (एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु ।’

अब भने पार्टीलाई नयाँ पुस्तासँग एकाकार गर्दै युवाको निर्णायक योगदानसहित गतिशील र परिवर्तनकारी शक्तिको रूपमा स्थापित गर्ने जिम्मेवारी आएको उनले स्पष्ट पारेका छन् । ‘अब हाम्रो सामु जनतासँग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ । तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

पौडेलले हालैको जेनजी आन्दोलनमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारसँग माग गरे ।

साथै क्षतिग्रस्त संरचनाहरूको यथाशीघ्र पुनर्निर्माणको आवश्यकता उनले औंल्याएका छन् । ’जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानून बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु,’ सन्देशमा भनिएको छ । संविधान दिवसको अवसरमा उनले संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीको योगदान जरुरी रहेको भन्दै आपसी सद्भाव, एकता र सामाजिक न्यायसहित समृद्धिको बाटोमा अघि बढ्न उनले आह्वान गरे ।