`

खरानीको थुप्रोबाट उठ्ने संकल्पको जवाफ आजको सभाले दियो : शंकर पोखरेल

Nepal One HD २७ मंसिर २०८२ १३:५३
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि एमाले कमजोर भएको भन्ने भाष्यलाई ११औं महाधिवेशनको उद्घाटन सभाले खारेज गरिदिएको दाबी गरेका छन् । उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै उनले षड्यन्त्रका कारण सत्ता गुमाउनुपरे पनि एमाले नेपाली जनताको हृदयमा अझै गहिरोसँग बसेको कुरा विशाल सभाले प्रमाणित गरेको बताए ।

पोखरेलले विगतमा कठिन परिस्थितिमा पनि पार्टीले आत्मविश्वास नहारेको स्मरण गर्दै भने, ‘त्यसबेला खरानीको थुप्रोबाट फेरि उठ्नेछौँ भनेर संकल्प गरेका थियौं । आजको ऐतिहासिक जनसभाले पुष्टि गरेको छ—नेकपा एमाले कमजोर भएको छैन, बरु अझ शक्तिशाली बनेर अघि बढेको छ ।’ उनका अनुसार उद्घाटन सभाको उपस्थितिले पार्टीप्रति जनसमर्थन अझै मजबुत रहेको सन्देश दिएको छ ।

उनले जेनजी आन्दोलनपछि एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योजनाबद्ध प्रचार गरिएको आरोप पनि लगाए । भदौ २३ र २४ गते भएका घटनापछि ती घटनाको जिम्मेवारी ओलीमाथि थोपर्ने प्रयास गरिएको भन्दै पोखरेलले त्यसलाई दुष्प्रचारको संज्ञा दिए । उनले यस्तो प्रचारले पार्टीलाई कमजोर देखाउने उद्देश्य राखेको बताए ।

पोखरेलले जेनजी आन्दोलनकै नाममा राजनीतिक दलविरुद्ध षड्यन्त्र भएको दाबीसमेत गरे । उनका अनुसार युवाको भावना प्रयोग गरेर राष्ट्रविरोधी, लोकतन्त्रविरोधी, गणतन्त्रविरोधी तत्वहरूले राजनीतिक दलहरूलाई बदनाम गर्ने प्रयास गरे । ‘सो घटनामा नवयुवाको भावनामा खेल्दै राजनीतिक दलविरुद्ध षड्यन्त्रपूर्ण गतिविधि भएको हामीले बुझेका छौँ’, उनले भने । उनले यस्ता चुनौतीका बाबजुद एमाले अझ एकताबद्ध र सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *