‘हाहुको सरकार सकिन्छ, अब बाढी जस्तै एमालेलाई रोक्न कसैको शक्ति पुग्दैन : ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने वा समीकरण बनाउने राजनीतिक खेलमा एमाले नलाग्ने स्पष्ट गर्दै अब आउने निर्वाचनबाट पार्टी ‘बाढी जस्तै शक्तिशाली रूपमा’ सत्तामा फर्किने दाबी गरेका छन् ।
पार्टी मुखपत्र नवयुग को ई–बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले फागुन २१ गते निर्वाचन नहुने परिस्थितिलाई आफूहरूले बुझिसकेको बताए । तर, निर्वाचन जहिले भए पनि त्यसबाट एमाले नै बहुमतसहित सरकारमा आउने उनको जिकिर थियो । उनले पुराना पार्टीहरूलाई रोक्ने प्रयास भइरहे पनि जनमतले अहिले पनि एमालेलाई विजयी बनाउने दाबी गरे ।
ओलीले विगतमा २०७३ र २०७८ सालमा एमालेमाथि ‘घेरा हालेको’ जस्तै आक्रमण भए पनि पार्टी जनमतको बलमा सत्तामा फर्किएको स्मरण गर्दै अहिले पनि त्यही दोहोरिने जनाए । उनका अनुसार एमालेलाई अभिमन्यूलाईझैं एक्ल्याएर राजनीतिक शक्तिहरूले घेर्न खोजे पनि एमालेले ती शक्तिलाई ‘धोबीपाट’ पार्नेछ ।
वर्तमान सरकारप्रति आक्रोश पोख्दै ओलीले यसलाई ‘हाहुको भरमा बनेको, असंवैधानिक र दायित्वबाहिर गएको’ सरकारको संज्ञा दिए । उनले जेनजी सरकारको प्रधानमन्त्री आफूभन्दा केवल झण्डै साढे तीन महिना कान्छो भएको भन्दै व्यंग्य गर्दै प्रश्न उठाए, ‘हामी मात्र बुढा हुने ? केही नबुझेका पुरानालाई चाहिँ किन ल्याइयो ?’ ओलीले प्रतिनिधि सभा विघटन र सरकार गठन दुवै असंवैधानिक भएकाले अदालतबाट पुनस्र्थापना हुने विश्वास पनि व्यक्त गरेका छन् ।
पार्टी अध्यक्षले राजनीतिक दलकै सरकार बन्ने परम्परा अब फेरि पनि दोहोरिने भन्दै ‘हाहुको भरमा चल्ने सरकार अब टिक्दैन’ भने । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै एमाले फेरि सत्तामा फर्किन तयार रहेको उल्लेख गरे । ‘अरू दल आउँछन् कि आउँदैनन् थाहा छैन, तर एमाले चाहिँ आयो–आयो’, ओलीले ठोकुवा गर्दै भने, ‘एमाले विशाला नदीको बाढी जस्तो हो, रोक्न खोज्नेहरू नै बग्छन्, एमाले होइन ।’
