जेनजी आन्दोलनको नाममा देशमाथि योजनाबद्ध आक्रमण भयो : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा भएका गतिविधि सरकार परिवर्तनका लागि मात्र नभई मुलुकलाई गम्भीर रूपमा अस्थिर र घाइते बनाउने योजनाबद्ध प्रयास भएको आरोप लगाएका छन् । एमालेको ११औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ती घटनाले देशको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक एकतामाथि सीधा प्रहार गरेको बताए ।
अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि पनि देशभर व्यापक तोडफोड र आगजनी भएको उल्लेख गर्दै १६ सयभन्दा बढी संरचना आगो र ढुङ्गाको निशानामा परेको बताए । उनका अनुसार ती सबै घटना सत्ता परिवर्तनका लागि दबाब सिर्जना गर्ने सामान्य आन्दोलन होइनन्, बरु मुलुकलाई अराजकतामा धकेल्ने सुनियोजित कदम थिए । उनले यस्ता गतिविधिले नेपाली समाजका संस्कार र एकतालाई कमजोर बनाउने प्रयास गरिएको दाबी गरे ।
भदौ २३ र २४ गते भएका घटनालाई ‘महाविनाश’ को संज्ञा दिँदै ओलीले ती दिनका दृश्यहरू कहिल्यै बिर्सन नसकिने बताए । असामान्य र जोखिमपूर्ण परिस्थितिमा थप क्षति नहोस् भनेर आफू केही समय सुरक्षित स्थानमा बसेको स्पष्ट पार्दै उनले हेलिकप्टर चढेर भागेको भन्ने प्रचारप्रति आपत्ति जनाए। महाभारतको प्रसंग उल्लेख गर्दै उनले नेतृत्व सुरक्षित रहँदै समग्र परिस्थितिको समीक्षा गर्नु आवश्यक भएको बताए र नेता तथा समाजका अगुवाहरू मारिनुपर्ने चाहना राख्नेहरूले आज व्यङ्ग्य गरिरहेको टिप्पणी गरे ।
ओलीले ती घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग पनि दोहोर्याए । देश अन्योलको अवस्थामा पुगेको बेला संवैधानिक बाटोबाट निकास दिन आफूहरूले विकल्प प्रस्तुत गरेको उनले बताए । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने दलहरूबीच स्पष्ट सहमति, संसदमार्फत संविधान संशोधन र संसद् विघटन नगर्ने अडान आवश्यक रहेको उनको भनाइ थियो । उनले असंवैधानिक सिफारिसका आधारमा गरिएको संसद् विघटन अस्वीकार्य भएको उल्लेख गर्दै पुनस्र्थापना बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारे । देशलाई उल्टो दिशामा धकेल्ने प्रयास भएको भन्दै ओलीले लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादा जोगाउन एमाले दृढतापूर्वक उभिएको दाबी गरे ।
