एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन
काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटनसँगै सुरु भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता लगायतका मुख्य कार्यक्रमहरू हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरेको कार्यतालिका अनुसार, नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म आफ्नो दरखास्त फाराम दर्ता गराउन सक्ने छन् ।
यस्तो छ आजको चुनावी कार्यतालिका
निर्वाचन आयोगले आजको दिनलाई उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशनका लागि छुट्याएको छ । बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसँगै चुनावी प्रक्रियाले गति लिनेछ । दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।
आयोगका अनुसार, उम्मेदवारको विरोधमा उजुरी दिन चाहनेका लागि दिउँसो २ः३० देखि ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोध र फिर्ताको प्रक्रिया सकिएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि मतदान
महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनको मतदान प्रक्रिया भने भोलि (मंगलबार) हुनेछ । निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भोलि बन्ने नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

