प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : नभागेर बसेको भए के गर्नु हुन्थ्यो ?
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाएका छन् । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले यस्तो आरोप लगाएका हुन् । उनले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे । उनले जाँचबुझ आयोगको मनशाय के छ भन्ने कुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबाट पुष्टि भइसकेको समेत बताए ।
वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गरे । उनले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न समेत सरकारलाई चेतावनी दिए ।
उनले भने, ‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानूनी व्यवस्था के छ मैले नि हेरेको छु । उहाँहरुले मनसाय के छ भन्ने कुरा त मिडियामा बोलेको कुरा सुनेको छु । मलाई जनताले माया गरेका छन् । विरोधीले लखेटेका छन् । न म माया गरेर यहाँ छु न त विरोध गरेर सक्किएको छु । उनीहरु चाँही सक्कियो भन्ने ठान्छन् ।’
उनले भने, ‘सुशीला कार्कीजीहरुले जुन सम्झौता भनेर ड्रामा गर्नुभयो । त्यो भनेर टुंगिदैन । उहाँ अन्तरिम सरकार मात्रै होइन असंवैधानिक पनि हो । उहाँलाई निर्वाचन गर्न पो नियुक्त गरिएको हो । कुन प्रतिष्ठान मास्ने के गर्ने ? भनेर होइन । उहाँहरुलाई यत्ति भन्न चाहन्छु कि– फागुन २१ गतेपछि फागुन २२ आउँछ । सुशीलाजीमा गएर टक्क समय रोकिने होइन । त्यही भएर होस् गरेर चल्न म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । उहाँहरुको क्रियाकलाप गैरकानूनी र प्रतिशोधपूर्ण छ । त्यसकारण त्यो सम्झौताका दफाहरुमा पस्नु पर्ने जरुरी नै छैन ।’ उनले आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नु हुन्थ्यो ? भन्दै जेनजी नेताहरुलाई प्रश्न गरेका छन् । आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउना साथ गुन्डुमा सरेको ओलीको भनाइ छ ।
‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भने, ‘२ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’ उनले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताए । ‘आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज त पारिदिन भएन नि,’ ओलीको भनाइ छ । आफू नभागेरै बसेको भए के गरिन्थ्यो ? भनेर प्रश्न गरे । ‘नभाग्या भए के गर्थे त सुशीलाजी वा अरुले ? के गर्नु हुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ ओलीले भने ।
