प्रतिनिधि सभा विघटन मान्य छैन : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै यसलाई स्वीकार नगर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा भएको पार्टीको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा उनले प्रतिनिधि सभा पुनःस्थापना हुनु आवश्यक रहेको बताए। ओलीले आफ्नो भनाइमा भने, ‘प्रतिनिधि सभाको विघटन हामीलाई मान्य छैन ।’ उनले जेनजी आन्दोलनको समयमा भएको घुसपैठका कारण थप क्षति नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गराए ।
‘थप क्षति नहोस् भनेर राजीनामा दिएँ, काम चलाउ प्रधानमन्त्रीको हिसाबले बाटो देखाएको थिएँ’, ओलीले भने । तर, त्यसलाई आधार बनाएर प्रतिनिधि सभा विघटन गरिएको उनले आरोप लगाएका छन् । ‘अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको छ । यो असंवैधानिक छ, त्यसैले प्रतिनिधि सभा पुनःस्थापित हुनुपर्छ’, उनले भने ।
ओलीले सरकारले चुनावको वातावरण निर्माण गर्न असफल भएको आरोप पनि लगाए । उनले भने, ‘चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, दल विरोधी षड्यन्त्र, बहसको सट्टा मुद्दा, नेताको राहदानी रोक्का र स्थान हद गरिरहेको छ ।’ उनले जनताले लोकतान्त्रिक विधिबाट चुनाव चाहेको बताए । उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने क्षमता राख्ने एमाले चुनावबाट भाग्दैन ।’
