ईश्वरलाई ओलीको जवाफ : पूर्व शर्त राखेर नेतृत्वमा सहमति हुँदैन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा शर्त राखेर सहमति नहुने स्पष्ट पारेका छन् । आज (बिहीबार) काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन् । ‘कुराबाट पो सहमति हुन्छ त । पूर्व शर्त राखेर सहमति हुन्छ ?,’ ओलीले भने । बुधबार सम्पादकहरूसँग छलफल गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा ओलीले आफू बाहेक अरूलाई अध्यक्ष घोषणा गरे सहमति हुन सक्ने बताएका थिए ।
‘छोड्छौ भनेर सहमति भनेर हुन्छ ? मसँग भन्नुप¥यो । मसँग भन्नु भएको छैन । बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्नु भाछ,’ उनले भने । उनले सहमतिका लागि कसैलाई दबाब नदिने पनि बताएका छन् । ‘संवादबाट सहमति भयो भने त्यो सहमति हो । दबाबबाट गर्न चाहँदैनौं,’ उनले भने । एमाले महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ । आगामी नेतृत्वका लागि ओलीसँगै ईश्वर पोखरेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
