उषाकिरण भन्छिन्–पार्टीभित्र चार वर्षमा ६ मिनेट मात्रै बोल्न पाएँ
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफूले चार वर्षको अवधिमा ६ मिनेट मात्र बोल्न पाएको बताएकी छन् । नेकपा एमालेको ११औं महाधिवेशनका विषयमा मंगलबार (मंसिर २३) काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लामो समयदेखि लोकतान्त्रिक विधि र पद्धतिलाई अनुशरण गर्दै आएको पार्टीले आन्दोलनको संस्कार र संस्कृतिको खिल्ली उडाएको टिप्पणी गरिन्।
आफू कारबाहीमा समेत परेको स्मरण गर्दै उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रीय सदस्य हुँदा मैलै बोल्न पाएको समय जम्मा ६ मिनेट हो । त्यो पनि दुईचोटि केन्द्रीय कमिटी बैठकमा । हामीले ल्याएको गणतन्त्र त्यो खालको होइन कि, चार वर्षको अवधिमा जम्मा ६ मिनेट बोल्न पाउने ? पार्टीभित्र बोल्ने ठाउँ कहाँ छ ? निश्चित नेताले मनपरी बोल्ने ठाउँका रूपमा अभ्यास गरिँदै आइयो ।’ पार्टी अध्यक्ष प्रधानमन्त्रीको कुर्सीमा बसेर जनतालाई ललकार्ने काम भएको उनको भनाइ छ । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भनिन्, ‘उहाँलाई जसले चुनौती दिन्छ जस्तो लाग्छ, जसले थोरै प्रश्न गर्छ त्यसको कल्याण भयो ।’
