७३ वर्षे ओलीको विकल्पमा ७१ वर्षका ईश्वर ?
काठमाडौं । भदौरे जेनजी आन्दोलनको बलले धकेलिएर अगाडि तानिएको एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेल टिम नै बनाएर तयार भइसकेका छन् । महाधिवेशन सुरू हुन एक दिन बाँकी रहँदासम्म दुवै समूह पदाधिकारीको बाँडफाँड मिलाउन प्रयासरत देखिन्छन् । नेपाली राजनीतिक दलको पुनर्संरचनासम्बन्धि बहस केही समयदेखि चलिरहेको थियो ।
यो बहस फगत नेतृत्व परिवर्तनका लागि मात्रै नभएर दलहरूको आन्तरिक लोकतन्त्र, जवाफदेहीता र पारदर्शिता, नेतृत्वको स्वभाविक र नियमित हस्तान्तरण तथा पार्टी नेतृत्वमा युवा पुस्ता पुग्ने सहज मार्ग निर्माणमा केन्द्रीत थियो । नेपाली समाजले दलहरूमा भ्रष्टाचारका आरोप नलागेको स्वच्छ नेतृत्वको अपेक्षा राखेको थियो । जेनजी आन्दोलनले दलहरूलाई यी मुद्धा सम्बोधन गर्न दबाव दिएपछि नेपालका प्रमुख तीन दल प्रभावित भए । काँग्रेस र एमालेले महाधिवेशनको बाटो रोजे भने माओवादी पूर्णतः विघटन भयो । विघटित माओवादी नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशिल लोकतान्त्रिक पार्टीमा विभाजित भयो ।
राजनीतिक दल पुनर्संरचनाको मुद्धा कांग्रेसमा मुख्यतः गगन थापा समूहले उठाएको देखिन्छ । यो समूहले दल पुनर्संरचनाका माथि उल्लेख भएका प्रायः सबै मुद्धालाई कसरी सम्बोधन गर्ने भन्ने प्रयास गरेको देखिन्छ । यता भोलिबाट महाधिवेशनमा जान लागेको एमालेमा यो मुद्धा बोकेको दाबी गर्ने संस्थापन इतर समूहले भने न यो मुद्धा बुझेको देखिन्छ, न यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम नै बोकेको पाइन्छ । यो समूह फगत ओलीविरोधीहरूको गठबन्धन मात्रै बन्न पुगेको छ ।
संस्थापन इतर समूहले अध्यक्षका उम्मेद्वारको रुपमा ईश्वर पोखरेललाई अघि सार्नुले नै यो समूह दलको पुनर्संरचनाको मुद्धामा गम्भीर छैन भन्ने प्रष्ट भएको छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलको उम्मेद्वारीले न त नेतृत्व पुस्तान्तरणको भावनालाई सम्बोधन गरेको छ, न त स्वच्छ छविको नेतृत्वको मागलाई सम्बोधन गरेको छ । नेतृत्वमा स्थापित भइसकेका ‘टेस्डेड एन्ड फेल्ड’ व्यक्तिलाई नै अघि सारेर यो समूहले दलको पुनर्संरचनाको मुद्धामाथि मजाक मात्रै गरेको छ । अध्यक्षका दाबेदार पोखरेल वर्तमान अध्यक्ष ओलीभन्दा दुई वर्ष मात्रै कान्छा छन् । एकै समय राजनीतिमा प्रवेश गरेका र कुनै न कुनै तहमा निरन्तर नेतृत्वमा रहेका पोखरेलले कसरी नेतृत्व पुस्तान्तरणको मुद्धा बोक्छन् ? यो समूहले महाधिवेशन प्रतिनिधिलाई कुनै जवाफ दिन सकेको छैन । ७३ वर्षका ओलीको ठाउँमा ७१ वर्षका पोखरेललाई ल्याएर कसरी नेतृत्व पुस्तान्तरण हुन्छ ?
यो समूहले एमालेले विगतमा तय गरेको ७० वर्षे उमेर हदको कुरा उठाइरहेको छ, जुन पछि हटाइएको थियो । उमेर हदको कुरा उठाउने पोखरेल समूहले आफैं चाहिँ यसको पालना गर्नु पर्दैन ? के उमेर हद ओलीको हकमा मात्रै लागु हुनुपर्ने हो ? पार्टी पुनर्संरचनाको अर्को प्रश्न स्वच्छ छविको नेतृत्व हो । यो प्रश्नको कसीमा पोखरेल भन्दा ओली धेरै माथि देखिन्छन् । पोखरेललाई शाही आयोगले नै अकुत सम्पत्ति आर्जनमा डामिसकेको थियो, जुन मुद्धा गणतन्त्र आएसँगै सेलाएर गयो । गणतन्त्र आएपछि पनि पटक पटक सत्तामा गएका पोखरेल कोभिड महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि पोखरेलमाथि प्रश्न उठेको थियो । यही बेला चर्चामा आएका ओम्नी र बतास प्रकरणमा जोडिएका मन्त्री उनका सारथी छन् ।
कुनै औपचारिक मुद्धा नझेले पनि सार्वजनिक रुपमा प्रश्नै–प्रश्न भएको नेतृत्व अघि सारेर इतर समूहले ओलीलाई कसरी चुनौति दिन सक्छ ? अवसरकै हिसाबले पनि उनी एमालेको महासचिव र वरिष्ठ उपाध्यक्ष भइसकेका छन् अर्थात् अध्यक्ष नै नभएर पनि पार्टी नेतृत्वको उच्च तहमा काम गरिसकेका छन् । त्यसैले, अहिले एमालेमाथि उठेका प्रश्नमा ओलीसँगसँगै पोखरेल पनि उत्तिकै जवाफदेही हुनुपर्छ । पटक पटक मन्त्री, उपप्रधानमन्त्री मात्रै नभएर कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाइसकेका पोखरेल कसरी ओलीको विकल्प हुनसक्छन् भन्ने प्रश्नको जवाफ इतर समूहले महाधिवेशन प्रतिनिधिलाई दिन सकेको छैन । पार्टी पुनर्संरचनाका यो मूलभूत प्रश्नको जवाफ नै दिन नसक्ने गरी नेतृत्वमा पोखरेललाई अघि सारेको इतर समूहले आफूलाई ओलीविरोधीहरूको समूह मात्रै भएको प्रमाणित गरेको छ ।
