महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छ : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनर्निर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गरेका छन् । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले सो दाबी गरेका हुन् । संवादमा उनले ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भए पनि स्थिति त्यतातिर नगएको बताए । उनले महाधिवेशनको प्रस्तावबारे शुक्रवार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराए । अघि बढाउने प्रस्ताव सहमतिमै हुने उनको भनाइ छ ।
उनले भने, ‘अहिले राष्ट्रिय पुनःजागरण, पुर्नस्थापना, राष्ट्रिय पुर्ननिर्माण र सुशासनको अभियान यी चार वटा कुराहरु गर्नुपर्नेछ । यी कुराहरु नै मैले पनि गर्ने हो । मेरो नेतृत्वमा मेरो पार्टीले यी कुराहरुकै अगुवाई गर्ने हो । एकता, पुर्नस्थापना र पुनर्निर्माण गर्नुपर्नेछ । महाधिवेशनपछि मेरो नेतृत्वको नेकपा (एमाले) ले यो कामहरु गर्छ ।’ उनले पार्टीको आगामी अध्यक्ष आफैं हुने थाहा भए पनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गरे ।
