एमालेले कसरी चुन्छ ३०१ सदस्यीय केन्द्रीय समिति ?
काठमाडौं । नेकपा (एमाले) ले एघारौं महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने स्पष्ट खाका तय गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रले केन्द्रीय समिति गठनका लागि क्लस्टरगत संरचना पारित गरेसँगै नेतृत्व चयनको आधार औपचारिक रूपमा टुंगिएको हो ।
बन्द सत्रमा प्रस्तुत प्रस्तावअनुसार एमालेले समावेशिता र पुस्तान्तरणलाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ । पार्टीले सबै क्लस्टरमा ४० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । भौगोलिक आधारमा राजधानी उपत्यकासहित सात प्रदेश गरी आठ प्रदेशबाट कम्तीमा एक–एक जना ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य चयन गरिनेछ ।
क्लस्टर संरचनाअनुसार खुला प्रतिष्पर्धाबाट ६ जना र महिलाबाट ३ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ । महिलाको प्रतिनिधित्वलाई बलियो बनाउँदै कुल ७३ जना महिला केन्द्रीय सदस्य रहने प्रस्ताव पारित भएको छ । तीमध्ये ५२ जना खुला प्रतिस्पर्धाबाट, जनजाति महिलाबाट २ जना र ४० वर्षमुनिका युवतीबाट १७ जना केन्द्रीय समितिमा आउने छन् । मधेश क्लस्टरअन्तर्गत युवाबाट २ जना, खुलाबाट ८ जना र महिलाबाट ४ जना केन्द्रीय सदस्य चयन गरिनेछ । दलित क्लस्टरमा पनि समावेशितालाई ध्यान दिँदै युवाबाट १ जना, खुलाबाट ८ जना र महिलाबाट ४ जना चयन गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, प्रवासमा रहेका पार्टी कार्यकर्तालाई पनि केन्द्रीय समितिमा प्रतिनिधित्व दिइनेछ । भारतबाट १ जना र अन्य देशबाट १ जना केन्द्रीय सदस्य आउने व्यवस्था प्रस्तावमा समेटिएको छ । अपाङ्गता भएका व्यक्तिबाट समेत १ जना केन्द्रीय सदस्य चयन गरिनेछ । महाधिवेशनको बन्द सत्रमा महासचिव शंकर पोखरेलले पेश गरेको प्रस्तावले एमालेभित्र युवा सहभागिता, महिला प्रतिनिधित्व र विविध समुदायको समावेशितालाई संस्थागत गर्ने लक्ष्य राखेको नेताहरूको भनाइ छ । पारित संरचनाअनुसार अब केन्द्रीय समिति चयनको प्रक्रिया अघि बढ्ने छ, जसले आगामी दिनमा पार्टीको नेतृत्व संरचना कस्तो हुने भन्ने संकेत गरेको छ ।
