`

एमाले महाधिवेशन: १६ दललाई निम्तो, नयाँ पार्टीलाई किन बोलाइएन?

Nepal One HD २३ मंसिर २०८२ १३:०७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) ले आगामी ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई राष्ट्रिय राजनीतिक उपस्थितिले भरिपूर्ण बनाउन विभिन्न १६ राजनीतिक दलका शीर्ष नेताहरूमाझ औपचारिक निम्तो पठाएको छ । अतिथि सत्कार समितिले तयार गरेको सूचीअनुसार राष्ट्रिय दलदेखि साना दल तथा विदेशस्थित व्यक्तिहरूसम्मलाई निमन्त्रणा पठाउने प्रक्रिया तीव्र बनाइएको छ ।

समितिकी सदस्य सुनिता बरालका अनुसार निम्तो प्राप्त गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा) लगायत प्रमुख दलहरू परेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललाई विशेष आमन्त्रण गरिएको समितिले जनाएको छ ।

यस बाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई समेत महाधिवेशनमा सहभागी हुन अनुरोध गरिएको छ । विदेशस्थित व्यक्तिहरूलाई भेटेर होइन, शुभकामना सन्देशका माध्यमबाट निम्तो पठाइएको तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको समितिले जनाएको छ ।
महाधिवेशन तयारीसँगै मूल आयोजक समितिदेखि मञ्च व्यवस्थापन, आवास, स्वयंसेवक र प्रचार समिति सक्रिय रहेका छन् । विशेष लोगो र जिङ्गल सार्वजनिक गर्दै प्रचार समितिले कार्यक्रमलाई सुसंगत बनाउन काम गरिरहेको छ ।

यसैबीच निमन्त्रणा वितरणमा एमाले नेतृ कोमल वली र सुनिता बराल निरन्तर दौडधूपमा छन् । पूर्व सांसदद्वयले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपा (माओवादी) का संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूमाझ महाधिवेशन उद्घाटनमा उपस्थितिका लागि चिठ्ठी पुर्‍याइसकेका छन् । ठूला दलका नेताहरूलाई निम्तो पुर्‍याउने काम भने ओलीको निर्देशनमा अन्य जिम्मेवार व्यक्तिले सम्हालिरहेका छन् । एमालेले महाधिवेशनलाई व्यापक राजनीतिक समागमका रूपमा प्रस्तुत गर्ने तयारीसहित आमन्त्रण विस्तारलाई निरन्तरता दिइरहेको समितिको भनाइ छ ।

विघटित प्रतिनिधि सभाका सबै राष्ट्रिय दल तथा वैचारिक निकटता भएका दलहरूलाई निम्तो पठाइए पनि उज्यालो नेपाल र श्रम संस्कृति पार्टी लगायतका नयाँ बनेका दलहरूलाई भने अहिलेसम्म निम्ता नगरिएको उनले बताइन् । ‘नयाँ बनेका दलहरूलाई अहिलेसम्म निम्ता गरिसकेको छैन, उहाँहरूलाई बोलाउने\नबोलाउने भन्ने विषयमा अहिलेसम्म छलफल भएको छैन,’ बरालले भनिन्, ‘निम्ता गर्ने क्रम चलिरहेको छ, पछि बोलाउन पनि सकिन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *