`

अनिर्वाचित सत्ता मञ्जुर छैन, हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं : केपी ओली

Nepal One HD २७ मंसिर २०८२ १४:५१
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनमतबाट नआएको सत्ता स्वीकार्य नहुने स्पष्ट पार्दै हिंसा र युद्धलाई परिवर्तनको माध्यम मान्न नसकिने बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको मूल आत्मा जनप्रतिनिधिमार्फत सत्ता सञ्चालन हुनु हो भन्ने धारणा दोहोर्‍याए ।

उनले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै अनिर्वाचित शक्तिको हस्तक्षेपप्रति आपत्ति जनाए । जनताको मतबाट निर्वाचित सरकार नै वैध र स्वीकार्य हुने उल्लेख गर्दै ओलीले भने, ‘जनताको मन जितेर शान्तिपूर्ण तरिकाबाट पनि समाज परिवर्तन सम्भव छ, हिंसा र युद्ध समय परिवर्तनको साधन हुन सक्दैन र हुन हुँदैन ।’ वर्तमान सरकार हिंसाबाट आएको आरोप लगाउँदै उनले एमालेले यस्तो सत्ता नस्वीकार्ने र भविष्यमा पनि स्वीकार नगर्ने प्रष्ट पारे ।

अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राजनीतिक दलहरूमाथि पछिल्लो समय संगठित आक्रमणको प्रयास भएको दाबी गरे। तीन महिनाअघि भएको तथाकथित ‘जेनजी आन्दोलन’ को स्मरण गर्दै उनले त्यसबेला देश युद्धभूमि जस्तै बनेको, आगजनी र अराजकता फैलिएको बताए । त्यही समयमा पुराना राजनीतिक दल र नेताहरूको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य निर्माण गर्ने प्रयास भएको उल्लेख गर्दै ओलीले भने, एमाले सकियो, लोकतन्त्र सकियो भन्ने प्रचार गलत सावित भएको छ ।

उनका अनुसार विविधता र बहुलता नेपाली समाजको शक्ति हो, कमजोरी होइन । विविधतामा एकता नै राष्ट्रिय मूल मन्त्र भएको भन्दै उनले यसै भनाइका कारण आफूहरू माथि प्रहार भएको आरोप लगाए । संविधान संशोधन गर्ने अधिकार जनताबाट निर्वाचित शक्तिकै हुने उल्लेख गर्दै ओलीले स्वतन्त्रताको प्रयोग र सदुपयोग गर्ने अधिकार पनि जनताकै प्रतिनिधिमा निहित हुने बताए । ओलीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रबीचको सम्बन्धबारे पनि धारणा राखे । कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, लोकतन्त्र त्यति नै सबल र पूर्ण बन्दै जाने उनको दाबी थियो ।

२०४६ साल र २०६२–६३ सालका ऐतिहासिक परिवर्तनमा कम्युनिष्ट पार्टीको निर्णायक भूमिकाका कारण लोकतन्त्र स्थापना र पुनःस्थापना सम्भव भएको उनले स्मरण गराए । कम्युनिष्ट आन्दोलन कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने भन्दै उनले राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने र समृद्धिको यात्रालाई तीव्र बनाउने जिम्मेवारी कम्युनिस्ट पार्टीकै काँधमा रहेको बताए । महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले एमाले केवल वर्तमानको शक्ति नभई भविष्यको पनि आधार भएको दाबी गरे । लोकतन्त्र अझै जीवित रहेको र एमाले अजम्बरी पार्टीका रूपमा अघि बढिरहेको उनको भनाइ थियो । चुनौती, आलोचना र आक्रमणका बाबजुद पार्टी अझ संगठित र सशक्त बनेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *