`

एमाले नेतालाई सिमरा जान रोकिएपछि विश्वप्रकाशको प्रश्न : यस्तै वातावरणमा चुनाव हुन्छ ?

Nepal One HD ३ मंसिर २०८२ १४:१०
प्रमुख खबर

काठमाडौं । एमाले नेतामाथि बारामा गरिएको निषेधात्मक व्यवहारलाई लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा खुलेर आलोचना गरेका छन् । सिमरा विमानस्थल वरिपरि जेनजी समूहको प्रदर्शन देखाउँदै एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतसहितका नेताहरूलाई विमानमै रोकिएको घटनालाई उनले ‘लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप’ भन्दै कडा प्रश्न तेर्स्याएका छन्, ‘यस्तै वातावरणमा चुनाव हुन्छ ?’

शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘भ्रमणको वातावरण नै बन्द छ भने चुनाव कसरी गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ?’ जनप्रतिनिधि बन्ने, प्रतिस्पर्धा गर्ने कुरा अलग आकाश हो, तर देशभर स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार कुण्ठित गर्नु लोकतन्त्रकै आत्मालाई ठाडै चुनौती भएको उनको टिप्पणी छ ।

उनका अनुसार सिमरामा देखिएको विरोध जेनजी पुस्ताको वास्तविक भावना नभई युवाहरूको नाम दुरुपयोग गरिएको नतिजा हो । ‘सामाजिक सञ्जाल बन्देजका विरोधमा उभिने जेनजी कसैको समाज भ्रमण अधिकार रोक्न उभिन सक्दैनन्’, भन्दै उनले जनआक्रोश कुनै समूहको राजनीतिक उपकरण बन्न नहुने बताएका छन् । यतिबेला मधेस प्रदेशमा एमालेले ‘सही कर्म नगरेको’ बताउँदै आलोचना गर्ने स्वतन्त्रता सबैलाई रहेको उनले स्वीकारे पनि, त्यसकै नाममा कुनै पनि पार्टीका नेतालाई प्रदेश प्रवेश नै रोकिने घटना स्वीकार्य नभएको उनको तर्क छ ।

‘एमाले चुनावविरुद्ध उभिएको छ भने त्यसलाई चुनावमा आउन आग्रह गरौँ, गलत गरे विरोध गरौँ तर भ्रमण रोकेर संघर्ष झनै चर्किन्छ’, शर्मा भन्छन् । सिमरा घट्नालाई उनले ‘दुःखद् र खतरनाक संकेत’ दुवै भनेका छन् । आगामी चुनावी माहोल तातो हुँदै जाँदा सडकको आक्रोश र राजनीतिक द्वन्द्व एउटै थैलोमा मिसिन थालेको चेतावनी दिंदै उनले भनेका छन्, ‘यो समय भावनाको आगो बढाउने होइन, संयम र एकता देखाउने समय हो ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *