ओलीका कारण पार्टी निर्माणमा ऊर्जावान समय दिएका कार्यकर्ता पाखा पारिएको आरोप
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा ऊर्जावान समय दिएका कार्यकर्ता पाखा पारिएको आरोप लगाएका छन् । उनले पार्टी निर्माणमा योगदान गर्नेहरू पाखा पारिदाँ एमाले अहिलेको संकटमा पुगेको बताए । बुधबार एमालेको ईश्वर पोखरेल समूहले ११ औं महाधिवेशनका सन्दर्भमा काठमाडौँमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए ।
मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताए । उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताए । नेतृत्वको नालायकिको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको उनको जिकिर छ ।
त्यस्तै अर्का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई चरिनाङ्गो बनाएको आरोप लगाएका छन् । भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको भन्दै उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । उनले एकनाथ ढकालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन मिल्ने, पार्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताएका छन् ।
