`

सर्‍यो एमाले सचिवालय बैठक

Nepal One HD २६ मंसिर २०८२ १३:४२
नेकपा एमाले

काठमाडौं । एघारौं महाधिवेशन सुरु हुनु अघिल्लो दिन आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक सरेको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब बैठक दिउँसो २ बजे बस्नेछ । ‘बैठक सरेको सूचना आयो, दिउँसो २ बजे बस्छ भनिएको छ’, उनले सुनाए । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठकमा एमालेको विधान संशोधन, महाधिवेशन तयारीलगायत एजेण्डामा छलफल हुनेछ ।

यसैबीच अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने सचिवालय बैठकमा विधान संशोधनको कुरा उठे २ कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लाने तयारी गरेको छ । गत सोमबारै सचिवालय बैठक राख्ने तयारीमा रहेका अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष पोखरलले अवधारणापत्र बुझाएकै कारण रोकिएका थिए ।

पोखरेल पक्षले सचिवालय बैठकमा अवधारणापत्रका विषयमा पनि कुरा उठाउने भएपछि उनले बैठक ३ दिनलाई स्थगन गरेका थिए । एमालेको सचिवालय बैठक एघारौँ महाधिवेशन उद्घाटनको अघिल्लो दिन बस्न लागेको हो । एमालेको ११ औँ महाधिवेशन भोलि शनिबार अर्थात् मंसिर २७ गते सुरु हुँदैछ । एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्द सत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *