`

एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन {तस्वीरहरु}

Nepal One HD २७ मंसिर २०८२ ११:२०
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा औपचारिक रूपमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट २ हजार २६२ प्रतिनिधि काठमाडौं आइपुगेका छन् भने कार्यकर्ता र समर्थकहरूको आवागमनले उपत्यकामा विशेष चहलपहल देखिएको छ ।

महाधिवेशन उद्घाटन समारोह शनिबार दिउँसो १ बजे सल्लाघारीस्थित सार्वजनिक जग्गामा आयोजना हुँदैछ । उद्घाटनका लागि विशेष मञ्च निर्माण गरिएको छ भने बिहानैदेखि नेता–कार्यकर्ता कार्यक्रमस्थलमा जम्मा हुन थालेका छन् । एमालेले उद्घाटन समारोहमा दुई लाखभन्दा बढी कार्यकर्ताको उपस्थिति रहने दाबी गरेको छ । समारोहमा विभिन्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको भए पनि यस पटक विदेशी पाहुना बोलाइएका छैनन् ।

यति ठूलो सहभागितालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । उद्घाटनस्थल र वरपरका क्षेत्रमा विष्फोटक पदार्थ तथा हतियार पत्ता लगाउन सक्ने बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ । बिहानैदेखि प्रहरीले मञ्च, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सुरक्षा जाँच गरिरहेको छ । अरनिको राजमार्गसँगै जोडिएको सल्लाघारी क्षेत्र आज बिहानैदेखि एमाले कार्यकर्ताले भरिएको देखिन्छ ।

महाधिवेशनका लागि सवारी व्यवस्थापन पनि विशेष रूपमा गरिएको छ । प्रहरी स्रोतका अनुसार शनिबार बिहानसम्म करिब ३९६ वटा साना तथा ठूला गाडी काठमाडौं उपत्यका प्रवेश गरिसकेका छन्, जसमा १४ हजारभन्दा बढी मानिस सवार रहेको अनुमान गरिएको छ । देशभरबाट आउने सवारी साधनलाई व्यवस्थापन गर्न पूर्वी नाकाबाट आएका गाडीहरू जगाती क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ भने त्यहाँका इँटा भट्टा, प्लटिङ र खुला स्थानहरूमा पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौंतर्फबाट आउने सहभागीका गाडी गट्ठाघरमै रोक्ने र त्यहाँबाट करिब ३.१ किलोमिटर दूरी जुलुससहित कार्यक्रमस्थलसम्म ल्याइने योजना बनाइएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गर्दै अघि बढाइने छन् । सहभागीहरूलाई कार्यक्रमको अन्त्यसम्म सल्लाघारीकै चौरमा उपस्थित रहन निर्देशन दिइएको छ । उद्घाटन समारोहलाई आकर्षक बनाउन सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिँदैछन् । करिब १५० झाँकीमध्ये भक्तपुरबाट विभिन्न जाति, समुदाय र सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० भन्दा बढी झाँकी प्रदर्शन गरिनेछ । काठमाडौं र ललितपुरबाट पनि समान संख्यामा झाँकी प्रस्तुत हुनेछन् । विभिन्न स्थानबाट निकालिने जुलुसहरू अन्ततः उद्घाटनस्थलमा पुगेर समारोहमा समाहित हुनेछन् । आजदेखि सोमबारसम्म चल्ने महाधिवेशनले एमालेको भावी नेतृत्व, नीति र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । सुरक्षा, व्यवस्थापन र सहभागीको व्यापक उपस्थितिका कारण सल्लाघारी क्षेत्र अहिले राजनीतिक उत्साहको केन्द्र बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *