एउटा एमाले, दुईतिर नेताहरु
काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन नजिकिएसँगै पार्टीभित्र दुई फरक धार खुलेर सक्रिय हुन थालेका छन् । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र अध्यक्ष पदका दावेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूह दुबै आ–आफ्ना समर्थन आधार विस्तार र महाधिवेशन प्रतिनिधिसँग संवादमा जुटिरहेका छन्।
पोखरेल पक्षमा उभिएका महिला नेतृहरूले आज बागबजारस्थित हार्दिक होटलमा विशेष भेला आयोजना गर्दैछन् । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य विन्दा पाण्डे, उषाकिरण तिम्सिनादेखि रचना खड्कासम्मका नेतृहरू महाधिवेशनका प्रतिनिधि तथा सञ्चारकर्मीहरूसँग नेतृत्व परिवर्तनको आवश्यकता र वैकल्पिक प्यानलबारे खुला संवाद गर्ने तयारीमा छन् । मंगलबार दिउँसो १ बजे हुने यो कार्यक्रममा पोखरेल पक्षले आफ्नो धारणा औपचारिक रूपमै प्रस्तुत गर्ने बताइएको छ । यसअघि पनि पोखरेल समूहका सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, कर्ण थापालगायतका नेताहरूले पत्रकार सम्मेलनमार्फत आगामी नेतृत्वगत प्रतिस्पर्धाबारे आफ्नो अडान सार्वजनिक गरेका थिए ।
यता संस्थापन पक्ष नजिक रहेको प्रेस चौतारीले एमाले सचिव लेखराज भट्टसहितका नेताहरूसँग महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिँदै आएको छ । चौतारीले आज दिउँसो २ बजे भट्टसँग संवाद आयोजना गरेको छ । यसअघि चौतारीले उपाध्यक्ष द्वय विष्णु पौडेल र रामबहादुर थापाका लागि पनि छुट्टै पत्रकार सम्मेलन गरेको थियो, जसप्रति पोखरेल पक्ष असन्तुष्ट रहेको बताइएको छ ।
च्यासलमा सोमबार भएको भेटघाटमा पोखरेल समूहका एक नेताले चौतारी इञ्चार्ज राजेन्द्र गौतमसँग यसबारे गुनासो समेत राखेको स्रोतले जनाएको छ । एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौंमा प्रारम्भ हुँदैछ । यस महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले आफ्नो–आफ्नै प्यानल बनाई नेतृत्वका लागि प्रतिष्पर्धामा जाने तयारी गर्दै, संगठनभित्रको बहस र गतिविधि अहिले निकै तीव्र बनेको छ ।
