`

उज्यालो क्षेत्रमा मेरो काम नेपालका लागि सफल मोडेल : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गरेका हुन् । उनले मुलुलकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताए ।

मुलुकलाई कुषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गरे । अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भए पनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए । उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘नेपालको उर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलको रुपमा स्थापित भएको छ । अब नेपालको हरेक घरघरमा रोजगारी सिर्जना हुनुपर्छ । हरेक व्यक्ति सम्पन्न हुनुपर्छ । देशलाई आत्मनिर्भर बनाउनु पर्छ । आज देश परनिर्भरतातिर अगाडि बढेको छ । हामीले उर्जामा आत्मनिर्भर बनायौँ । अरु सबैजसो क्षेत्र अहिले आत्मनिर्भर हुन सकेका छैनन् । कृषिमा आज हामीले सबै कुरा आयात गरेर खानुपर्ने स्थिति छ । त्यसकारण आज आर्थिक रुपमा आत्मािर्भर देशको रुपमा नेपाललाई स्थापित गर्नको लागि, देशभित्रै रोजगारी सिर्जना गरी हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहोला ।’ उनले यातायात, शिक्षा र स्वास्थ्य तथा विद्युत समेत निःशुल्क गर्ने भिजन आफूसँग रहेको दाबी पनि गरे ।

पार्टी १२ दिन ‘कोमा’ मा गयो, तर तन्दुरुस्त भएर निस्कियौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय हुन नदिइने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताए । रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्दुरुस्त भएर निस्किएको बताए । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गरे । उनले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दुःखद् भएको बताए ।

घिसिङले भने, ‘पार्टी गठन भएको ३ महिनामा पनि पुगेको छैन । तर हामी त्यो बीचमका कोमामा पनि गयौं । त्यस कारण केही समस्या आयो । अहिले हामी तन्दुरुस्त भएर निस्कियौं । अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ । अरु पार्टी यो दलमा मिसिन सक्छन् तर हामी मिसन जाँदैनौँ ।’ उनले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गरे ।

पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गरेका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए ।

उनले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे । आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उनको भनाई छ । उनले पाँच वर्षको आफूहरुले काम देखेपछि फेरि जनताले आफैलाई नै खोज्ने दाबी पनि गरे । उनले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनु पर्ने बताउँँदै आफूले बोलेको कुरा सधै पूरा गरेको पनि दाबी गरे । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उनको भनाई छ। उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरुलाई विश्वास गरेर हेर्न आग्रह गरे ।

उनले भने, ‘अब हामी देशको समृद्धितर्फ अगाडि बढ्नु पर्नेछ । देशको समृद्धिको लागि नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ । आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रुपमा तपाईहरुले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो इतिहासको एकदमै ठुलो, एकदमै महत्वपूर्ण अवसरको रुपमा लिनुहोला । यो अवसर गुमायौं भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन । धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु ।’

उनले भने, ‘हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनको लागि सही नेतृत्व आवश्यक छ । तपाईहरुले अब आगामी ५ वर्षको लागि तपाईहरुले एउटा अवसर दिनुहोस् । त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिवद्ध भएर लाग्नेर्छौ । ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईहरु नै आउनुस् भनेर तपाईंहरुले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’ उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरुको उदय भए देश झन अधोगतितिर जाने बताए । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाई छ ।

 

 

 

कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने

काठमाडौं । ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने भएका छन् । घिसिङले बुधबार अबेर ९ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने भएका हुन् ।

‘उहाँले राजीनामा दिने हुुे भयो,’ घिसिङका प्रेस संयोजक सचिन गौतमले भने, ‘अहिले ९ बजे मन्त्रालयमा पत्रकार सम्मेलन छ ।’ रास्वपासँग एकता गरेर उपसभापति बनेपछि घिसिङलाई राजीनामा दिन दवाव बढेको थियो ।

घिसिङले राजीनामा दिनेबारे बुधबार पार्टीका नेताहरु र मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेका थिए । उज्यालो नेपाल पार्टीका नेताहरुले राजीनामा नदिन दिएको सुझावलाई समेत उनले अस्वीकार गरेका थिए । बाहिर राजीनामा दिनुपर्ने कुरा उठेकाले अब मन्त्री पदमा नबस्ने बताएका थिए ।

काठमाडौं–३ बाट चुनाव लड्ने तयारीमा कुलमान, मन्त्री पद छाड्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङ आगामी आमनिर्वाचनमा काठमाडौं–३ बाट उम्मेदवारी दिने तयारीमा देखिएका छन् । उनले चुनाव प्रचारप्रसार पनि सुरु गरिसकेको स्रोतको दावी छ । घिसिङ यस क्षेत्रकै स्थायी बासिन्दा हुन् । उनको रोजाई काठमाडौं–३ नै रहेको बताइन्छ । निर्वाचन क्षेत्रमा राजनीतिक दलबाट उच्च प्रोफाइल उम्मेदवारको कमी र मतदातामा लोकप्रिय छविको खोजी भएकाले उनी तुलनात्मक रूपमा सहज हुन सक्ने अनुमान छ।

अघिल्लो निर्वाचनमा माओवादी पार्टीले घिसिङको तस्वीर प्रचण्ड र जनार्दन शर्मासँगै प्रयोग गरी प्रचार गरेको थियो, जसले विवाद निम्त्याएको थियो । त्यसबेला घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । विवादपछि उनले स्पष्ट पारेका थिए कि उनी माओवादीमा छैनन् र चुनाव लड्ने योजना पनि छैन । २०७९ को निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे काठमाडौं–३ बाट विजयी भएका थिए । उनले एमालेका कृष्ण राईलाई करिब ४ हजार मतले पछि पारेका थिए । त्यस्तै, राप्रपाका दुर्गाविक्रम थापाले तेस्रो स्थान पाएका थिए ।

चालिसेमाथि हाल भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । एमालेबाट रामेश्वर फुयाँल र कृष्ण राई प्रमुख उम्मेदवारका रूपमा प्रतिष्पर्धा गर्ने अनुमान छ । फुयाँलले २०७० मा यही क्षेत्रबाट चुनाव जितेका थिए । कुलमानको मुख्य चुनौती कांग्रेस र एमालेका उम्मेदवारसँग हुनेछ ।

कुलमानले निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गर्नुअघि मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचनमा निष्पक्षता सुनिश्चित गर्न प्रश्न उठेका मन्त्रीहरुलाई पद छाड्न आग्रह गरेकी थिइन् । रास्वपा र उज्यालो नेपालबीचको एकता प्रक्रियामा घिसिङ उपसभापति बनेका छन् । सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गविधिधिमा लागिसकेका मन्त्रीले राजीनामा दिएर सहयोग गर्न भनेकी हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सार्वजनिकरुपमा प्रश्न उठेको र सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन आग्रह प्रधानमन्त्रीको थियो ।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न भइरहेका छन् । सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राखेर रवि, बालेन र कुलमानको एकतालाई अपनत्व लिएका थिए । रास्वपाले उम्मेदवार छान्न प्राइमरी इलेक्सनको प्रक्रिया बनाएको छ । तर, हालै एकता प्रक्रियाबाट आएका उम्मेदवारहरूलाई प्राइमरीको नियम लागू नहुने दाबी गरिएको छ । घिसिङ अहिले क्षेत्रीय मतदाताहरूसँग अन्तरक्रिया र भेटघाटमा व्यस्त छन्, र उनको लोकप्रिय छवि निर्वाचनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।

नातावादको विरोधी हुँ, भान्जा र ससुरालाई बन्दसूचीमा राखेको छैन : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् । मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका हुन् ।

केही दिन अघिदेखि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिपछि समानुपातिक निर्वाचनमा आफ्नो ‘भान्जा’ र ‘ससुरा’ लाई उम्मेदवार बनाएको भन्दै मन्त्री घिसिङको चौतर्फी आलोचना भइरहेको छ । उनले लेखेका छन्, ‘समाचार तथा चर्चामा ‘भाञ्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भाञ्जा होइनन्, उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

मन्त्री घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामुहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी गरेका छन् । राजनीतिक असहमति स्वाभाविक भएता पनि झूट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक भएको उनले बताए । मन्त्री घिसिङले नातावाद र कृपावादको राजनीतिविरुद्ध आफू लामो समयदेखि उभिरहेको पनि उल्लेख गरेका छन् । उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको उल्लेख गर्दै सबैलाई भ्रामक समाचार र टिप्पणीको भ्रममा नपर्न आग्रह गरेका छन् ।

 

मन्त्री घिसिङको चेतावनी : सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन् । आज सडक बोर्ड नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समय सीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताए ।

उनले भने, ‘कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको हामीले ठेक्का रद्द गरेका छौँ । यो सरकारको रहर होइन, बाध्यता हो । अब सडक मर्मतमा ढिलाइ गरिए पेनाल्टी तिर्नुपर्ने अवस्था आउँछ ।’ देशभर सुधार गर्नुपर्ने सडकको संख्या अत्यधिक रहे पनि सीमित बजेटका कारण सबै सडक समयमै मर्मतसम्भार गर्न नसकिएको उनको भनाइ छ । ‘संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मतका लागि निरन्तर माग आइरहेको छ’, उनले भने, ‘तर बजेटको सीमितताले गर्दा सबै माग तत्काल सम्बोधन गर्न सकिरहेका छैनौँ ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक निर्माण मात्र विकासको सूचक नभएको स्पष्ट पारे ।

उनले सडक उपभोग योग्य नबनेसम्म विकास अधुरो रहने उल्लेख गर्दै भने, ‘विकास भनेको सडक बनाएर मात्रै हुँदैन । बनेको सडकमा सवारी साधन सहज रूपमा चल्नुपर्‍यो । बिग्रेका सडक समयमै मर्मत गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’ सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले समयमै मर्मतसम्भार नगरिँदा सडकको लागत तीनदेखि चार गुणासम्म बढ्ने गरेको तथ्य औंल्याए । सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडकलाई विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै आवश्यक बजेट विनियोजन गरेर समयमै मर्मत सम्भार गर्नुपर्ने धारणा राखे ।

 

 

ठेक्का तोड्नु बाध्यता : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन् । सडक बोर्ड नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताए । उनले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नु पर्ने अवस्था आएको जानकारी दिए । उनले सबै निर्माण व्यवसायी गलत भने नभएको बताए ।

समयमा नै काम गर्ने निर्माण व्यवसायीहरु पनि रहेको उल्लेख गर्दै उनले उनीहरुलाई प्रोत्साहन गर्ने गरेको बताए । निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए । विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने उनको भनाई छ । निर्माण व्यवसायीको क्षमता विकास गर्नतिर ध्यान दिन आवश्यक रहेको पनि उनले बताए ।

उनले भने, ‘अहिले हामी जति पनि निर्माण व्यवसायीहरुलाई धेरै ठाउँमा ठेक्का तोड्ने र ठेक्कालाई व्यवस्थापन गर्ने काम गरिरहेका छौँ । धेरै ठेक्का तोड्ने कामहरु पनि भइरहेको छ । त्यो वास्तवमा हाम्रो वाध्याता हो । वर्षौसम्म काम नभएका ठेक्काहरु तोडिएको हो । धेरै वर्षसम्म काम नहुने र जनतालाई धेरै नै दुःख हुने, धेरै विलोमा आएर ठेक्का लिने र काम नहुने अवस्थालाई व्यवस्थापन गर्नलाई बाध्य भएर हामीले ठेक्का तोड्नुपर्ने अवस्था हो ।’

उनले भने, ‘त्यो भन्दै गर्दा सबै निर्माण व्यवसायीलाई हामी गलत भनेको होइन । धेरै राम्रा निर्माण व्यवसायीहरु पनि छन्, जसले राम्रा काम पनि गरेका छन् । सहि समयमा काम गरेका पनि छन् । त्यस्ता व्यवसायीहरुलाई हामीले निरन्तर रुपमा प्रोत्साहन पनि गरेका छौँ । केही ऐन र नियामावलीमा संशोधन गर्ने विषयहरुलाई पनि हामीले अगाडि बढाउनु पर्नेछ । निर्माण व्यवसायीलाई हामीले प्रोत्साहन नै गर्ने हो । नेपालमा निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव छैन । निर्माण व्यवसायीले नै देशको विकास गर्ने हो । कुनैपनि बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुन्छ । त्यही भएकोले निर्माण व्यवसायीको क्षमता विकास धेरै नै जरुरी छ । त्यतातिर हामीले ध्यान दिनु पर्नेछ ।’

उनले सडक बोर्डमार्फत काम गर्नको लागि धेरै नै माग आउने गरेको बताए । तर बजेट धेरै कम भएकाले मागअनुसार काम गर्न समस्या रहेको उनको भनाई छ । उनले संघीयताको मर्म नबुझ्दा सडक मर्मतका काममा समस्या देखिएको पनि बताए । स्थानीय तह र प्रदेशले मर्मत गर्ने सडकलाई पनि संघीय सरकारलाई देखाएर काम नहुने गरेको पाइएको उनले जानकारी दिए ।

पद र स्वार्थ भन्दा माथि उठेर देशहितका लागि एक ठाउँमा उभियौं : कुलमान घिसिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै पार्टी एकता गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता भएको जानकारी दिँदै यो निर्णयले देशलाई सही निकासतर्फ लैजाने बताएका हुन् । घिसिङले यो मिलनलाई देशको सही निकासका लागि एउटा बलियो कदमको रूपमा व्याख्या गरे ।

‘उज्यालो नेपाल अभियानलाई थप सशक्त र संस्थागत बनाउन राजनीतिक शक्ति अपरिहार्य रहेको उल्लेख गर्दै आम नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् । एकताको मस्यौदा तयार पार्न सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा निर्णायक छलफल भएको थियो । उक्त वार्तामा नेपाली राजनीतिका तीन प्रभावशाली र चर्चित पात्रहरू–रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको उपस्थिति थियो ।

 

सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक सहकार्य गर्न तयार छौं : कुलमान घिसिङ

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महानगर प्रमुख बालेन शाहबीच सहकार्यको शुरुवात हुँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिएका छन् । पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले मुलुकको आवश्यकता र जनचाहना पूरा गर्न सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनु पर्ने बताएका छन्। वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले पार्टी एकीकरण सम्भव नभए पनि ‘कार्यगत एकता’ गरेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।

‘सही नेतृत्व र वैकल्पिक विचार बोकेका शक्तिहरू अब छरिएर होइन, एकताबद्ध भएर जानुपर्छ,’ घिसिङले भने, ‘सकेसम्म पार्टी एकीकरण गरौं, त्यो नसके कम्तीमा कार्यगत एकता गरेर भए पनि अगाडि बढौं । म सबै नयाँ र मूलधारका परिवर्तनकारी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्दछु ।’ जनताले पुराना शैलीको विकल्प खोजिरहेको उल्लेख गर्दै उनले भने, ‘आजको जनमत वैकल्पिक शक्तिहरू एक होउन् र देशलाई नयाँ नेतृत्व प्रदान गरुन् भन्ने पक्षमा छ । यो भावनालाई हामीले समयमै बुझ्न जरुरी छ ।’

रास्वपा सभापति लामिछाने र मेयर शाहबीच सात बुँदे सम्झौता सार्वजनिक भएकै दिन घिसिङको यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयअघि बालेनसँग सहकार्यका लागि घिसिङले पनि छलफल अघि बढाएका थिए । तर, पछिल्लो समीकरणमा रवि र बालेन एक हुँदा कुलमान भने बाहिरै रहेका छन्। यद्यपि, घिसिङले आफूहरू एक्लिएको महसुस नगरेको संकेत गर्दै सम्मानजनक सहकार्यका लागि ढोका खुला रहेको प्रष्ट पारे ।

एकताको अपिल गर्दैगर्दा घिसिङले सहकार्यको शर्त पनि अघि सारेका छन् । उनले आफ्नो पार्टीको आत्मसम्मान र स्वाभिमानलाई दाउमा राखेर भने कुनै सम्झौता नहुने स्पष्ट पारे । ‘हामी सबैसँग सहकार्य गर्न तयार छौं, तर त्यो सम्मानजनक हुनुपर्छ । हाम्रो स्वाभिमान नमेटिने गरी हुने सहकार्यले मात्र नतिजा दिन्छ,’ उनले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भने, ‘भित्रभित्रै धेरै गृहकार्य भइरहेको छ, केही दिनमै यसको ठोस नतिजा तपाईंहरूले देख्नु हुनेछ ।’

 

कुलमानले गरे रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरूबीच एकता गरी गठन हुने प्रस्तावित पार्टीको सभापति रवि लामिछाने र आगामी निर्वाचनपछिको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बन्ने प्रस्ताव अस्वीकार गरेको छ ।

त्रिपुरेश्वरस्थित उज्यालो नेपालको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेयर बालेनको तर्फबाट आएको प्रस्तावमाथि छलफल गर्दै उक्त प्रस्ताव स्वीकार्य नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार एकताका नाममा आएको प्रस्तावमा पार्टी संरक्षक कुलमान घिसिङको भूमिका तथा उज्यालो नेपालको हिस्सेदारीबारे कुनै ठोस खाका नआएको र आफ्नो पक्षको मात्र कुरा राखिएको भन्दै प्रस्ताव अस्वीकार गरिएको हो । यद्यपि, नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयास भने निरन्तर अघि बढाउने विषयमा बैठकमा सहमति बनेको छ । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. अभिषेक सिंहले रास्वपा र मेयर बालेनसँग सहकार्यका विषयमा छलफल जारी रहने जानकारी दिएका छन् ।

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन’, उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।’ उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए ।

उनले भने, ‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।’ कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पारे । कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’

जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरुले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनु पर्छ’, उनले भने । मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गरे । ‘हामीसँग आम जनताको विश्वास छ’, उनले भने, ‘यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

फागुन २१ को निर्वाचन नयाँ शक्ति र नेतृत्व उदयको अवसर : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई मात्र साधारण चुनावको रुपमा नलिइ, नयाँ शक्ति उदयको प्रारम्भिक बिन्दु बनाउनु पर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको नयाँ कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले देशभरका युवापुस्ता, नयाँ राजनीतिक दल तथा नेतृत्वहरुलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेका हुन् ।

उनले फागुन २१ को चुनाव ‘देशको नयाँ शक्ति, नयाँ नेतृत्वहरुको उदय’ का लागि महत्वपूर्ण अवसर भएको औंल्याए । उनले यदि चुनावमा फेरि पुराना शक्तिहरुको दबदबा रह्यो भने त्यसलाई ठूलो दुर्भाग्यको रुपमा लिने उल्लेख गरे। मन्त्री घिसिङले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुले नयाँ नेतृत्व र शक्तिलाई एकजुट गर्दै समृद्धि, रोजगारी, सुशासन र सामाजिक न्यायतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले जेन–जी आन्दोलनको महत्वलाई पनि स्मरण गराउँदै भने, ‘जेनजी आन्दोलनले देशमा सुशासन, रोजगारी सिर्जना र समृद्धितर्फ अघि बढ्ने स्प्रिड देखाएको थियो । अब त्यसको निरन्तरता सुनिश्चित गर्नु आजको आवश्यकता हो ।’ मन्त्री घिसिङले नयाँ शक्ति र युवा नेतृत्वको एकताबद्ध प्रयास बिना देशले विकासको मार्गमा अघि बढ्न कठिन हुने चेतावनी समेत दिएका छन् ।

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले भने कि छोटो समयमै पार्टीले देशभरमा नयाँ तरङ्ग सिर्जना गरेको छ र नयाँ शक्तिलाई एकजुट गर्ने नेतृत्वको भूमिकामा पार्टीले अगाडि बढ्नेछ । साथै, पार्टीले भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् । मन्त्री घिसिङले देशको राजनीतिक परिप्रेक्ष्यमा नयाँ पुस्ता, युवा नेतृत्व र नयाँ राजनीतिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतालाई जोड दिएर भने, ‘यस अभियानमार्फत मात्र देश समृद्ध, न्यायपूर्ण र सशक्त बन्न सक्छ ।’

 

 

क्रिस्मसको दिन कुलमानको कार्यालयमा काटियो रिबन (तस्वीरहरु)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा आज त्रिपुरेश्वरस्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । यस अवसरमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रिबन काटेर नयाँ कार्यालय ‘उज्यालो घर’ को उद्घाटन गरे । उद्घाटन कार्यक्रम विशेष गरी क्रिस्चियन धर्मावलम्बीहरुको महान् चाड क्रिसमस डे का अवसरमा आयोजना गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू डा. ताराप्रसाद जोशी, प्रा.डा. महेन्द्रसुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राजसिंह, डा. शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मा लगायतले सहभागिता जनाएका थिए ।

उद्घाटन समारोहले पार्टीको नयाँ अध्यायको सुरुवातको प्रतीकको रूपमा महत्वपूर्ण महत्व राख्दछ । ‘उज्यालो घर’ कार्यालयले पार्टीका गतिविधिहरूलाई केन्द्रित गर्ने, सदस्यहरूलाई प्रशिक्षण र नीति निर्माणका कार्यक्रम सञ्चालन गर्ने मुख्य स्थलको रूपमा काम गर्नेछ । कार्यक्रममा सहभागीहरूले पार्टीको भविष्य योजना, ऊर्जा र विकासका नीति, र समृद्ध नेपालको उद्देश्यलाई अझ सशक्त बनाउने योजना प्रस्तुत गरे ।

तस्वीर स्रोत : नेपाल फोटो लाइब्रेरी

 

सम्पत्ति विवरण हामीले बुझाएका छौं, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताएका छन् । एक सय दिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शीतालाई कठोरतापूर्व लागू गरिएको बताए । उनले सम्पति विवरण सबै मन्त्रीले समयमै बुझाइसकेको समेत बताएका छन् । घिसिङकाअनुसार सबै मन्त्रीले साढे दुई महिनामै विवरण बुझाएकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।

मन्त्री घिसिङले भने, ‘हामीले कर्मचारीको हिसाबमा विगत ३० वर्षदेखि नियमित सम्पत्ति विवरण पेश गरेका हुन्छौं । यो वर्षमा मन्त्रिमण्डलमा आएपछि साढे २ महिनाभित्र क्याविनेटमा पेश गर्नुपर्ने नियमअनुसार सबै मन्त्रीले पेश गर्नुभएको छ । त्यसको सार्वजनिक गर्ने विषय प्रधानमन्त्री कार्यालयलले नै गर्ने हो । हामीले हरेक वर्ष सम्पत्ति विवरण पेश गर्ने गरेका छौं । हामी परदर्शीता र सुशासनको विषयमा कटिबद्ध छौं ।’ उनले भने, ‘मैले सबै ठाउँमा भनेको छु, सुशासनको विषयमा हामीले कठोतापूर्वक लागू गर्नुपर्छ । जेनजी आन्दोलनबाट आएका छौं, सुशासनको मामिलामा हामी तल माथि गर्न सक्दैनौँ । सुशासनको विषयमा कम्परमाइज कहीँ पनि कम्परमाइज गरेका छैनौँ । सबै निकायहरुमा कुनै निकायमा समस्या आएको छ भने कारबाही गर्नुपर्ने अवस्था आएको छ र हामीले कारबाही पनि गरेका छौं ।’

मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पारेका छन् । उनकाअनुसार आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैछ । घिसिङले भने, ‘म मन्त्रीका रुपमा आएपछि राजनीतिक हिसावले म इन्ट्री भएकै हो । राजनीतिक क्षेत्रमा जुन हिसावले मन्त्री हुँदादेखि नै मैले म राजनीतिमा आएँ भनेको छु । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेर अघि बढेको छु । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौं ।’

मन्त्री घिसिङले भने, ‘नोमिनेसनका लागि समय आउँछ । उपयुक्त समयमा हामी आवश्यक निर्णय गछौँ । अब अहिलेको सरकार चुनाव गर्ने सरकार हो । चुनाव गर्ने कार्यभार भएकाले त्यो भन्दा अरु कार्यभार छैन । चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौं । त्यसमा मेरो भनाइ देशका लागि परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्व सही आउन आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन पछि हट्न हुँदैन । सबै एक भएर अघि बढ्नु पर्नेमा एक छौं ।’

मन्त्री घिसिङले परिवर्तनलाई संस्था गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताए । मन्त्री घिसिङले १०० दिने उपलब्धिभित्र बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको र मनसुनले क्षति पुर्‍याएको वीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको लगायत कामहरु समावेश गरेका छन् ।

घिसिङकाअनुसार १०० दिनमा गरिएका कार्यहरुमा बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरिएको छ । त्यस्तै अपर अरुण जलविद्युत आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत निर्यात भएको उपलब्धि सूचीमा समावेश गरिएको छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । वीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि उपलब्धिको सूचीमा मन्त्री घिसिङले राखेका छन् ।

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔं : मन्त्री घिसिङ

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए ।

मन्त्री घिसिङले भने, ‘स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।’ सहरी विकासमन्त्री समेत रहनुभएका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा त्यसले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको भन्दे अब प्रधावकारी, प्रविधिमैत्री एवम् भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायतको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘हामीले हाम्रो ठाउँको काठलाई उपयोग गर्न नसक्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ । काठ आयातमा हामीले धेरै रकम खर्च गरिरहेका छौँ, बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ’, मन्त्री घिसिङले भने । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन मन्त्रालय तयार रहेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भ अनुकूल, जलावायुमैत्री प्रविधि, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको बताए ।

 

 

 

 

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् ।

मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तीब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।

मन्त्री घिसिङले भने, ‘पूर्वाधारको क्षेत्रमा हामीले निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढि भन्दा बढि पूर्वाधारको क्षेत्रमा कसरी लगानी गर्न लगाउने ? भन्ने विषयहरुमा ऐन, कानूनको ठूलो परिवर्तनको जरुरी छ । यो काम आगामी सरकारले गर्नुपर्छ । अहिलेको इलेक्शनको गोभर्मेन्टले इलेक्शन गरेर फेरि पनि त्यस्तै पुरानै हिसावले संचालन गर्ने सरकार भयो भने त्यसले केही पनि काम गर्दैन । अब आउने सरकार भनेको डेभलेपमेन्ट ओरेन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ ।’

उनले भने, ‘जसले देशको परिवर्तनको लागि, देशको द्रुत गतिमा विकास गर्नका लागि ठूलो परिवर्तन, चेन्ज ल्याउन सकोस । त्यस्तो नेतृत्व योङ लिडरसिप र सबै किसिमको डेभलपमेन्ट ओरेन्टेड लिडरसिपहरुको जरुरी छ । त्यस्तो लिडरसिप चुनिन र त्यस्तो लिडरसिपहरुलाई ल्याउनका लागि आगामी निर्वाचन सफल होस भन्ने पनि यहाँहरु सबैलाई शुभकामना व्यक्त गर्दै त्यतातर्फ अगाडि बढन आग्रह गर्दछु ।’ मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तीब्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाए ।

निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताएका छन् । मंगलवार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताएका हुन् । उनले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिए । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाइ पनि कारबाही गरिनुपर्ने बताए । बजेट खर्च गराउने काममा अर्थ मन्त्रालय, विभागिय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

मन्त्री घिसिङले भने, ‘एउटा प्रोजेक्ट म्यानेजर आउँछ । त्यसले निर्णय नै नगरेर स्केप हुने, अर्को प्रोजेक्ट म्यानेजर आउँछ उसले पनि निर्णय नगर्ने उसले पनि स्केप गर्ने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । जसले निर्णय गर्दैन, कामै गर्दैन त्यस्तालाई कारबाही गर्नुपर्छ । छानविन गरेर कारबाही गर्नुपछ । नत्र भने त कसरी प्रोजेक्ट बन्छ । प्रोजेक्ट बन्दै बन्दैन ।’

उनले भने, ‘निर्माण व्यवसायीकोतर्फबाट हेर्दा करिव २०० ठेक्का रुग्ण रहेको पाइयो । हाम्रो तर्फबाट हामीले बजेट दिन नसकेको यी सबै कारणले पनि धेरै प्रोजेक्टहरु रुग्ण छन् । त्यसलाई हामीले दण्डित गरेका छैनौँं । त्यो पनि छानविनको दायरामा आउनुपर्छ । त्यो पार्ट अझै बाँकी छ । रुग्ण आयोजनाहरु ठेकदारका कारणले मात्रै अलपत्र परेको होइन अरु पनि कारण छन् त्यसलाई पनि हामीले छानविनको दायरामा ल्याउनु पर्छ । होइन एउटा जिम्मेवार प्रोजेक्ट म्यानेजरले जिम्मेवारी नलिने, निर्णय नलिने, आफ्नो पालामा केही पनि नगर्ने प्रवृत्ति बढ्छ ।’

मन्त्री घिसिङले भने, ‘अहिले अख्तियारले पनि निर्णय नगर्नेलाई पनि कारबाही हुनुपर्छ भनेको छ । त्यसैले निर्णय नगर्नेलाई कारबाही हुनुपर्छ । समयमा निर्णय नलिँदा कति बेफाइदा भयो हेर्नुपर्छ । ४३ करोड घाटा भयो विद्युत प्राधिकरणलाई भनेर आयो । ४३ करोड थिएन् २१ करोड जति घाटा थियो । समयमा निर्णय नगरेपछि अर्को कोटेसन माग्नुपर्‍यो । तत्कालीन समयमा तत्कालीन कार्यकारी निर्देशकले निर्णय नगर्दा त्यो भएको हो । एक महिनाभित्र कोटेशन मागेपछि एक महिनाभित्रै निर्णय गर्नुपर्‍यो नि । आफू निर्णय नगर्ने अनि त्यसको जिम्मेबारी अरुलाई बोकाउने काम गर्नु हुँदैन । त्यसैले निर्णय एकदमै महत्वपूर्ण छ ।’

मन्त्रि घिसिङले निर्माण व्यवसायीहरुमा पनि धेरै समस्या रहेको बताए । उनकाअनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरु ज्वाइन्ट भेन्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भए पनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्याक्टर समिट गर्न जरुरी रहेको बताए । कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरुको प्रगति कमजोर भइरहने उनको भनाइ छ ।

उनले भने, ‘ठेकदारहरु अब एकदमै क्षमता बढाएर आउनु पर्छ । धेरै ठेकदारको क्षमतामा समस्या छ । ठूलठूला कन्ट्याक्टरहरुले अरु साथीहरुलाई ल्याउनु हुन्छ जिम्मा लगाउनु हुन्छ, कामै हुँदैन । अब डुब्नै लाग्यो भनेपछि आफै काम गर्नुपर्छ । उहाँहरुलाई पनि घाटा नै छ । मैले देखिरहेको छु धेरै साथीहरुको आफैले पिकअप समेत गर्नु भएको छ । करोडौं घाटा खाएर काम गर्नु भएको छ ।’ मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने बताए ।

 

 

कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण भयो : मन्त्री घिसिङ

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । ‘कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,’ उनले भने, ‘आयोजना प्रमुख वा कर्मचारीले निर्णय नगर्दा पनि रूग्ण बनेका छन् । कर्मचारीहरू निर्णय गर्ने कामबाट छल्नु हुँदैन।’

आयोजनाहरू रूग्ण हुनुमा सबै दोषी रहेको घिसिङले बताएका छन् । ‘हामी सबै दोषी छौं । हामी सबैले आ–आफ्नो क्षेत्रबाट काम गरेका छौ कि छैनौं,’ उनले भने । उनले क्षमता अभिवृद्धि गर्न कन्ट्रयाक्टर समिट गर्नुपर्ने उनले बताए । ‘ठूला कन्ट्रयाक्टरले अरूलाइ दिन्छ । अनि काम नभएसी अन्तिममा आफैले गर्छ, ’ उनले भने, ‘त्यसैले कन्ट्याक्ट्रहरूको क्षमता अभिवृद्धि गर्नु पर्छ ।’ मन्त्री घिसिङले रुग्ण आयोजनाहरुको ठेक्का तोड्नु सरकारको मनसाय नभई वाध्यता भएको बताएका छन् ।

उनले ठेक्का लागेर पनि काम हुन नसकेका धेरै आयोजनाहरुको ठेक्का सम्झौता तोडिएको बताउँदै यसमा कसैसँग प्रतिशोध साँध्ने मनशाय नराखिएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले सरकार अहिले नतिजामुखी काममा लागिरहेको दावी गरेका छन् । उनले नतिजा दिन नसक्ने आयोजनाहरुमा प्रमुखलाई कार्वाही समेत गर्न सक्नु पर्छ भन्ने मान्यतामा सरकारले काम गरिरहेको बताए । उनले भने, ‘गलत मान्छेलाई गलत ठाउँमा राखिरहेर नतिजा आउँदैन, त्यसको असर देशले भोग्नु पर्छ ।’ अहिले सडक विभाग, सिंचाइ र उर्जाका सबै साथीहरुलाई काम गर्नुस् रिजल्ट दिनुस् मात्र भनेको बताउँदै उनले भने, ‘नतिजामुखी काम गरिरहेका साथीहरुलाई अनावश्यक सरुवा किन गर्नु ? रिजल्ट दिन सकिएन भने बस्नु पनि हुँदैन ।’

कार्यक्रममा पूर्व सचिव तथा पूर्वाधारविज्ञ अर्जुनजंग थापाले रुग्ण ठेक्का सहज अवस्थामा आएको बताएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले रुग्ण ठेक्का सहज अवस्थामा आए पनि शून्यमा पुर्‍याउन आवश्यक रहेको बताएका हुन् । ‘२०७५ मंसिरसम्म ११८ अर्बका १८४८ वटा ठेक्का रुग्ण थिए । १०३२ ठेक्काको म्याद नै ग्रुजिएको अवस्था थियो । २३ अर्ब ६० अर्ब पेश्की उठ्न बाँकी थियो । ५ अर्ब ९० करोड कार्य सम्पादन जमानत जोखिममा थियो,’ उनले भने, ‘त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा अध्ययन गरेर ३०–३५ वटा सुझाव दियो । जनशक्ति थप गर्ने, कर्मचारीको क्षमता वृद्धि गर्ने, ठेक्कालाई सहजीकरण गर्ने, अनुगमन गर्ने लगायतका सुझाव दियो । सम्बन्धित निकायहरुले त्यो सबैले पालना गरे । त्यसकारण १८ सय भन्दा बढी रुग्ण ठेक्का अहिले ४०० सयमा सिमित भएको हो । यो आफैमा धेरै भएपनि सहज अवस्थामा आएका हौं । भयावह स्थितिबाट धेरै नै सहज अवस्थामा आएका हौं । तर, यसलाई शून्यमा पुर्‍याउन पर्छ ।’

पछिल्लो समय कोराना महामारी, भुक्तानीमा भएको ढिलाइ, सम्बन्धित निकायबीचको समन्वय अभाव लगायतका कारण ठेक्का रुग्ण भएको उनको भनाइ छ । ‘यसबीच कोरोना महामारी आयो । त्यसपछि दुई÷तीन वर्ष निर्माण व्यवसायीको भुक्तानी दिन सकिएन । यसका कारण पनि ठेक्का रुग्ण भए,’ उनले भने, ‘अहिले पनि २०७५ कै अभ्यासबाट रुग्ण ठेक्का व्यवस्थापन गर्नुपर्छ । कडाई गर्दै ठेक्का व्यवस्थापनमा अघि बढ्नु पर्छ ।’

अपर्याप्त बजेट र भुक्तानीमा भएको ढिलाईका कारण ठेक्का रुग्ण भएको उनले ताए । साथै, कर्मचारीका कारण पनि ५–७ प्रतिशत ठेक्का रुग्ण भएको उनले बताए । सम्पन्न भएको ठेक्कामा समेत कर्मचारीले भुक्तानी नदिने प्रवृत्ति रहेको उनले बताए । यस्ता ठेक्कामा क्षतिपुर्ति दिनुपर्ने उनको भनाइ छ । कतिपय अवस्थामा निर्माण व्यवसायीका कारण पनि ठेक्का रुग्ण भएको बताए । यस्तै, उनले ठेक्का रुग्ण हुन नदिन कानुनमा सुधार ल्याएर सक्षम ठेकदारलाई छनोट गर्नुपर्ने बताए । यसैगरी भेरिएसन र म्याद थपलाई व्यवस्थित गर्नुपर्ने उनी बताउँछन् ।

 

कुलमान घिसिङको पार्टीबाट विद्या श्रेष्ठले दिइन् राजीनामा

काठमाडौँ । ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छिन् । उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट अलग हुने घोषणा गरेकी हुन्।

श्रेष्ठले हालै हेटौँडामा भएको सडक विस्तारका क्रममा राज्यले अपनाएको बलपूर्वक कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पद त्याग्ने निर्णय लिएको उल्लेख गरेकी छिन् । उनका अनुसार सडक विस्तारको नाममा सरकारले मानव अधिकारविरुद्धको कार्य गरेका कारण आफूले पार्टीको जिम्मेवारी वहन गर्न ‘नैतिक रूपमा असमर्थ’ भएको बताएकी छिन् ।

‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौंडा पीडितको साथ छु,’ उनले लेखेकी छन् । यसअघि सडक डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो । तर अटेर गरेपछि आज बिहानैदेखि ती संरचना भत्काउन थालिएको हो । शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

देशकै नेतृत्व गर्ने सोंचमा छु : मन्त्री घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई नै उज्यालो बनाउन आफू मुलुककै नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको दावी गर्दे उनले अब मुलुकको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताएका हुन् । सुनापती गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् ।

मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गरे । उनले सो निर्वाचनमा आफ्नो पार्टीलाई देशभरिबाट जिताएर आफूलाई देशको नेतृत्वमा पुर्‍याउन आग्रह गरे । आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको उनको दाबी छ । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको बताउँदै उनले त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको बताए ।

आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै घिसिङले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईहरूलाई आग्रह गर्दछु’, उनले भने ।

उनले रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न घिसिङले आग्रह गरे । सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाई, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापा, गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाईँ, निवर्तमान गाउँपालिका अध्यक्ष धावा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी थिए । २०७७ साल मंसिर १५ गते शिलान्यास गरिएको सो अस्पताल भवनबाट एक वर्ष अघिदेखि सेवा प्रदान गर्दै आएको भए पनि मन्त्री घिसिङले अस्पताल सञ्चालनमा आएको एक वर्ष पछि उद्घाटन गरेका हुन् । कुल ७ करोड ९० लाख ७५ हजार २ सय ८८ रुपैँयाको लागतमा निर्माण भएको अस्पताल बिएनबिआरएनसिएफ जेभिले निर्माण गरेको हो ।

अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देश अब विकासको निर्णायक मोडमा पुगेको र आफूलाई पनि राष्ट्रिय नेतृत्व सम्हाल्नुपर्ने सोचबल बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उनले विचार परिवर्तनले मात्र देश बन्न नसक्ने, सही नेतृत्व र कार्यक्षमताले मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा राखे ।

सम्बोधनका क्रममा उनले अघिल्लो सरकारसँगको मतभेदकै कारण मन्त्री पदबाट बाहिरिनुपरेको प्रसंग स्मरण गर्दै त्यसलाई अवसरका रूपमा लिन सफल भएको बताए । ‘करीब ७–८ महिना सरकारसँग ठूलो झगडा भयो । अवधि सकिन चार महिनामात्र बाँकी हुँदा मैले पद छाड्नुपर्‍यो । त्यसैबेला मैले धन्यवाद दिएको थिएँ— त्यो झगडाकै कारण म मन्त्रीको रूपमा स्थापित भएँ’, उनले भने ।

घिसिङका अनुसार देशमा राजनीतिक परिवर्तन त धेरै पटक भए, तर आर्थिक रूपान्तरणमा देश पछाडि परिरह्यो। २००७ सालयता ७५ वर्षमा नेपालले ७५ गुणा आर्थिक वृद्धि गर्न सके पनि भारतले १५० गुणा र चीनले ३५० गुणासम्मले उछाल ल्याइसकेको तथ्य प्रस्तुत गर्दै उनले नेतृत्व चयनमा भएको कमजोरीलाई प्रमुख कारण बताए ।

‘राजनीतिक परिवर्तनमा हाम्रा नेताहरू सफल बन्नुभयो, तर आर्थिक क्रान्तिमा असफल । ठूलो भाषणले विकास हुँदैन, परिणाममुखी नेतृत्व र दक्ष कार्यशैली चाहिन्छ’, उनले जोड दिए । उनी अब आफूलाई राजनीतिक नेतृत्वकै भूमिकामा सक्रिय हुनुपर्ने धारणा बढिरहेको भन्दै भने, ‘यहाँबाट हिँडेर कता जाने ? अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको छ ।’ उनले नेपालमा क्षमता, स्रोत र सम्भावना प्रशस्त हुँदा पनि सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी नदिँदा विकास रोकिएको टिप्पणी गरे । देशको आर्थिक भविष्य सुनिश्चित गर्न अब परिणाममा केन्द्रित नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

कुलमान घिसिङको उपस्थितिमा आज ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज (बुधबार) औपचारिक घोषणा हुँदैछ । प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आज दिउँसो पार्टीको औपचारिक घोषणा हुन लागेको हो । सभा गर्न लागेको छ।

कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो । जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन पनि आह्वान गरेको छ ।

कुलमान घिसिङको उपस्थितिमा ‘उज्यालो नेपाल पार्टी’ घोषणा सभा

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौं । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’

उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ ।

कुलमान र खगेन्द्रको पार्टीबीच एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको हो । उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले गठन गरेका हुन् ।

बुधबार काठमाडौंमा भएको छलफलपछि दुई दलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाह चिह्न प्रयोग गर्नेबारे सहमति भएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिएका छन् । दुई दलले आपसमा भएको सहमति र चुनावको प्रयोगबारे निर्वाचन आयोगमा निवेदन दिन लागेको उनले बताए । हाम्रो पार्टी नेपालले पनि आगामी आमनिर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा उम्मेदावरी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ ।

कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न निर्वाचन आयोगबाट लिएका थिए । तर, निर्वाचन प्रयोजनका लागि उनीहरुले साझा चुनाव चिह्न माग गरेका हुन् । आयोगले एउटै चुनाव चिह्नमा फरक फरक पार्टीहरुले लड्न पाउने व्यवस्था गरेको छ । त्यसका लागि बेग्लै निवेदन दिनुपर्छ । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् ।

नेपालमा रुख काट्नु भन्दा मान्छे काट्न सजिलो छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ नेपालमा रुख काट्न भन्दा मान्छे काट्न सजिलो भएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको उनले बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले वन जंगलबारे बनाइएका कडा कानुनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताए ।

वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनु परेको बताउँदै उनले भने, ‘आज एउटा रुख काट्नु र मान्छे काट्नुमा रुख काट्नलाई धेरै गाह्रो भएको छ । पाँच वर्षमा एउटा रुख काट्न गाह्रो छ । यस्ता ऐन कानून राखेर देश विकास हुँदैन । सबै कुरा चेन्ज गर्नुपर्छ । आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्छ, गर्नुपर्छ । बंगलादेशले भुटानबाट ढुंगा र माटो ५०० ट्रक दिनको आयात गर्छ । हामी यहाँ ढुंगा माटो निकाल्न नै हुँदैन भनेर बसिरहेका छौं ।’ चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरको काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको भन्दै उनले आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको बताएका छन् ।

लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट : मन्त्री घिसिङले

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई आज सम्बोधन गर्दै उनले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको बताए ।

‘सेवा प्रवाह, सुशासन, विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो, राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रैछ’, मन्त्री घिसिङले भने । उनले मुलुकका राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको बताए । पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न रोकेको दाबी गर्दै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारले विकासको बाधक त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने बताए ।

मुलुक निर्वाचनमय भइसकेको जनाउँदै मन्त्री घिसिङले तोकिएको समयमै निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे । ‘सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएका छन्, तोकिएको समयमै निर्वाचन हुन्छ’, उनले भने, ‘अहिले वुद्धिविवेक लगाउने समय हो, देशलाई सही दिशा दिन सक्ने नेतृत्व छान्नुस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपासभापति स्वर्णिम वाग्लेले आर्थिक समृद्धिको जनआकाङ््क्षा पूरा हुन नसक्दा मुलुकमा असन्तुष्टि प्रकट हुँदै आएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन अनिवार्य सर्त भएको बताए । स्वदेशी र विदेशी लगानीको सुरक्षा गर्न नसक्दा मुलुकमा लगानी नआउने जनाउँदै उनले जेन्जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानीकर्ता हच्किएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवाले रोजगारी खोज्ने नभई नयाँ नयाँ इनोभेशन मार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताइन् । ‘प्रतिभा पलायन रोक्नुपर्छ, सरकार र शैक्षिक संस्थासँग सहकार्य गर्दै स्टार्टअप प्रवर्द्धन गर्न महासङ्घ लागिपरेको छ’, उनले भनिन् । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र पौडेलले वैदेशिक रोजगारबाट सीप र पुँजी लिएर फर्केका युवालाई स्वदेशमै उद्यमशीलतासँग जोड्न सक्नुपर्नेमा जोड दिए । सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन, चुनौती, सम्भावना, नीति निर्माणलगायत विषयमा सामूहिक छलफल हुनेछ ।

मन्त्री घिसिङको दावी : भारतसँग महँगोमा विद्युत नकिनेको भए तीन अर्ब घाटा हुन्थ्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गरेका छन् । आज (सोमवार) संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गरे ।

पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिव १ अर्व २० करोड मुनाफा दिएको उल्लेख गर्दै उनले त्यसलाई क्षतिको रुपमा लिन नसकिने समेत बताए । सरकारले तत्काल सो सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाई थियो । मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताए । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उनले स्पष्ट पारे । मन्त्री घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इण्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको विषयमा समाचार प्रकाशित भएका छन् । सोही विषयमा राष्ट्रिय सभाका सांसद्हरूले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गराएको तर्क गरेका हुन् । तर, प्रतियुनिट २१ भारतीय पैसा महँगोमा बिजुली किन्दा के आधारमा ३ अर्ब नाफा गराएको हो भन्ने विषयमा भने उनले बताएनन् ।

‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं,’ उनले भने । दोस्रो, भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइ दिएको तर्क उनले गरे । ‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपथ्र्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’

पार्टी दर्ता गर्ने बेला सुमनाले छाडिन् कुलमानको साथ

काठमाडौं । लामो समयको तयारीपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ नयाँ राजनीतिक पार्टी गठनका लागि अघि बढेका छन् । उनले ‘उज्यालो नेपाल पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गर्नको लागि प्रक्रिया सुरु गरेका छन् । तर पार्टीको नाम र संरचनाबारे केही मत भिन्नता देखिएको छ ।

पार्टीको संयोजकको रूपमा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने निश्चित भएको छ । कुलमान भने हाल सरकारमा मन्त्री रहँदा पार्टीमा सक्रिय भूमिका लिने छैनन् । उपाध्याय नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरी पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । उज्यालो नेपाल अभियानको संयोजक रहेका कुलमानले नयाँ पार्टीमार्फत अभियानलाई राजनीतिक रूप दिने तयारी गरेका हुन् । अभियानमा संलग्न जितराम लामाले पनि निर्वाचन आयोगमा दर्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पार्टीको नामको विषयमा मतभिन्नता देखिएको छ । निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ जस्ता नाम सुझाएकी थिइन् । उनको विचारमा ‘उज्यालो नेपाल’ नामले व्यक्ति केन्द्रित पार्टीको छवि दिन सक्छ र सामूहिक नेतृत्वको भावना कमजोर हुन सक्छ । सुमनाले सामाजिक सञ्जालमार्फत आफ्नो दृष्टिकोण व्यक्त गर्दै लेखेकी छन्, ‘सबै समूह, वर्ग, क्षेत्र र सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै, पार्टीलाई एक नेता भन्दा परिषद् र सामूहिक नेतृत्वको अवधारणामा लैजान सकिन्छ कि ? कुनै एक नायकको अनुहार अगाडि राख्नुभन्दा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्छ ।’

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सँगै सहकार्य गरेर अघि बढ्ने चाहनाहरू हुँदाहुँदै पनि अहिलेलाई सहकार्य हुने अवस्था नभएको बताएकी छन् । उनले कुलमान घिसिङलाई नयाँ पार्टी स्थापना र सञ्चालनका लागि शुभकामना दिएकी छन् । ‘अलायन्स गरेर जानुपर्छ भन्ने नै मत यथावत नै छ । कुलमान सरलाई हृदयदेखि नै शुभकामना उहाँ क्यापेबल मान्छे हुनुहुन्छ,’ उनले भनिन्, ‘भविष्यमा सहकार्यको बाटो खुला नै हुन्छ ।’ श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी हुन् । उनी घिसिङलाई रास्वपामा लगेर सभापति बनाउन चाहन्थिन् । त्यसका लागि उनले कोशिसि पनि गरेकी थिइन् । तर, रवि लामिछानेले सभापति पद छोड्न अस्वीकार गरेपछि श्रेष्ठ घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जान तयारीमा थिइन् ।

श्रेष्ठले नयाँ दल नेतृत्व घिसिङले नै गर्नुपर्ने पक्षमा आफू रहेको बताइन् । ‘उहाँलाई अध्यक्ष मानेर जाने नै हो भन्ने कुरा थियो । तर यस्तै हो,’ उनले भनिन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत हुनुपर्छ भन्ने आफ्नो अडान कायमै रहेको पनि बताइन् । नेपालमा हरेक १० वर्षमा विद्रोह हुन्छ भन्ने भनाइ चिर्न पनि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

तर कुलमानले सुरुदेखि नै ‘उज्यालो नेपाल’ नाममा जोड दिएका थिए । उनका अनुसार, लोडसेडिङ हटाउने काम र उज्यालो नेपाल ब्राण्ड भएकाले उक्त नाम नै उपयुक्त छ । नामको अन्तिम निर्णयको लागि आइतबार छलफल पनि भएको थियो । छलफलमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी (संरक्षक) र रञ्जिता श्रेष्ठ (अध्यक्ष) लगायत केही नेताहरू पनि सहभागी भएका थिए । स्रोतका अनुसार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकटले पनि ‘उज्यालो नेपाल’ नाम उपयुक्त हुने बताएका थिए । यसै सहमतिका आधारमा पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने निर्णय भएको हो । पार्टीको चुनाव चिह्न बिजुलीको चिम रहने तयारी छ । ५१ सदस्यीय समिति र संयोजक उपाध्यायको नेतृत्वमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 

 

 

भारतीय कम्पनी पीटीसीसँगको सम्झौताबारे भ्रम फैलाइयो : ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँद यामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन् । यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको उनले दावी गरेका छन् ।

आइतबार उनले भनेका छन्, ‘आगामी हिउँद यामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे केही भ्रम फैलाइएको देखिएको छ । म स्पष्ट भन्न चाहन्छु– यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको हो ।’ उनका अनुसार नदी प्रवाहमा आधारित हाम्रो प्रणालीमा वर्षायाममा निर्यात र सुक्खा याममा केही परिमाणमा आयात आवश्यक छ ।

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास बमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रुपैयाँसम्मको महँगो विद्युत् आयात गर्नुपर्ने बाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानुपर्ने र विद्युत् नपाउने जोखिम थियो । यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौँ’, उनले भनेका छन् ।

मन्त्री पदबाट राजीनामा दिन लागेको होइन : कुलमान घिसिङ

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’ उनलो भनेका छन्, ‘जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

 

मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance–ISA (आईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।

विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।

मन्त्री घिसिङ पुगे भारतमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भारत पुगेका छन् । मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावासका राजदूत शंकर शर्मा र भारत सरकार बिदेश मन्त्रालयका नर्दन डिभिजनका डेपुटी सेक्रेटरी तुसारन्शु शर्माले स्वागत गरेका छन् । मन्त्री घिसिङ आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका हुन् । ४० बढी देशका मन्त्री सहभागी हुने आठौं सभा नयाँदिल्लीमा १०–१३ कात्तिकमा हुनेछ ।

आईएसएमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । उक्त सम्मेलनमा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२१ को २१औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । सम्मेलनमा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने छन् ।

 

 

मन्त्री घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् । मन्त्री घिसिङ आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका हुन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने आठौं सभा नयाँदिल्लीमा १०–१३ कात्तिकमा हुनेछ ।

आईएसएमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । उक्त सम्मेलनमा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२१ को २१औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । सम्मेलनमा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने छन् ।

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए । सोही क्रममा उनले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए ।

छाता ओढेर चोभार–गल्छी क्षेत्र निरीक्षणमा निस्किए मन्त्री घिसिङ {तस्वीरहरु}

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको निरीक्षण गरिएको हो ।

मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिए । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

हेर्नुस् तस्वीरहरु

के ‘उज्यालो नेपाल पार्टी’ सँग छलफलमा छन् मन्त्री घिसिङ ?

काठमाडौं । नव गठित राजनीतिक दल उज्यालो नेपाल पार्टी (उनेपा) ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग भर्चुअल छलफल हुन लागेको दाबी गरेको छ । तर मन्त्री घिसिङले आफू सो पार्टीसँग कुनै संवादमा नरहेको प्रष्ट पार्दै प्रचार सामग्रीप्रति असहमति जनाएका छन् ।

उनेपाका अध्यक्ष ज्ञानेन्द्रकुमार तामाङका अनुसार पार्टी विस्तार र अवधारणालाई स्पष्ट पार्न विभिन्न विज्ञ तथा सरोकारवालाहरूसँग संवाद जारी छ । सोही क्रममा शनिबार साँझ ७ देखि ९ बजेसम्म मन्त्री घिसिङसहितको जुम मिटिङ तय भएको बताइएको छ । उक्त छलफलमा पार्टीको घोषणापत्रको मस्यौदा, नीति तथा कार्यक्रमबारे सुझाव लिने भनिएको छ ।

तर मन्त्री कुलमान घिसिङले भने स्पष्ट रूपमा यस्तो कुनै छलफलमा संलग्न नहुने बताएका छन् । उनले उज्यालो नेपाल पार्टीसँग कुनै औपचारिक वा अनौपचारिक संवाद नरहेको प्रतिक्रिया दिएका छन् ।

यस्तो छ उनेपाको संरचना
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उनेपाको नेतृत्व यस प्रकार छ :

राष्ट्रिय अध्यक्ष– ज्ञानेन्द्रकुमार तामाङ
उपाध्यक्षहरू–नारायणप्रसाद पाण्डे, रमेशप्रसाद थपलिया, सागर पाण्डेय ।
महासचिव–प्रशान्त केसी तिमल्सिना ।
उपमहासचिव–भुवन नारायण तामाङ ।
कोषाध्यक्ष– विमला तामाङ ।

सचिवहरू– पुनम तामाङ, सविना बुढाथोकी, विमला स्याङतान, कान्छाकाजी तामाङ, सचिन्द्रकुमार तामाङ ।

अध्यक्ष तामाङका अनुसार दल गठनको अभियानलाई देश तथा विदेशमा रहेका विज्ञहरूबाट सुझाव लिँदै अगाडि बढाइँदैछ । तर मन्त्री घिसिङको अस्वीकारसँगै उनेपाले सार्वजनिक गरेको भर्चुअल छलफलसम्बन्धी दाबी विवादास्पद बन्दै गएको छ । अब वास्तविकता के हो भन्ने प्रष्ट हुन बाँकी छ ।

दशैंको टीकाको दिन पनि सडक र पुल निरीक्षणमा मन्त्री घिसिङ

रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैंको टीकाको दिन पनि बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ बडादशैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन् ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

संघीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृह जिल्ला रामेछाप आएका मन्त्री घिसिङले वीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिए ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भर्ट’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।

बढी भाडादर असुल्नेलाई तत्काल कारबाही गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवं कानुनको प्रतिकूल हुने गरी निर्धारित भन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे।

हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे । यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरेका छन् ।

 

कुलमान मन्त्री बनेर आएपछि ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेपछि मातहत निकायमा व्यापक कर्मचारी सरुवा गरेका छन् ।घिसिङले मन्त्रालय अन्तर्गत ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्रालयले मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवस्तरका ६ जना कर्मचारीको सरुवा गरेका छन् । जसमा जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियाको नौमुरे बहुउद्देश्यीय आयोजनामा आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत नै कार्यरत कुशाङ्ग शेर्पाको सोही विभागमा योजना, कार्यक्रम तथा समन्वय महाशाखा हेर्नेगरी उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सन्दीपकुमार देवलाई मन्त्रालयमै ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डललाई आयोगको ऊऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै विद्युत् विकास विभागका उपमहानिर्देशक मनदेवी श्रेष्ठलाई विभागकै महानिर्देशकको जिम्मेवारी दिइएको छ भने जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुख रहेका सागरराज गौतमलाई मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयले थप ३५ उपसचिव र शाखा अधिकृतको पनि सरुवा गरेको छ । मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित द्वितीय अर्थात् उपसचिव र राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुस् सरुवा सूची