के ‘उज्यालो नेपाल पार्टी’ सँग छलफलमा छन् मन्त्री घिसिङ ?


काठमाडौं । नव गठित राजनीतिक दल उज्यालो नेपाल पार्टी (उनेपा) ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग भर्चुअल छलफल हुन लागेको दाबी गरेको छ । तर मन्त्री घिसिङले आफू सो पार्टीसँग कुनै संवादमा नरहेको प्रष्ट पार्दै प्रचार सामग्रीप्रति असहमति जनाएका छन् ।
उनेपाका अध्यक्ष ज्ञानेन्द्रकुमार तामाङका अनुसार पार्टी विस्तार र अवधारणालाई स्पष्ट पार्न विभिन्न विज्ञ तथा सरोकारवालाहरूसँग संवाद जारी छ । सोही क्रममा शनिबार साँझ ७ देखि ९ बजेसम्म मन्त्री घिसिङसहितको जुम मिटिङ तय भएको बताइएको छ । उक्त छलफलमा पार्टीको घोषणापत्रको मस्यौदा, नीति तथा कार्यक्रमबारे सुझाव लिने भनिएको छ ।
तर मन्त्री कुलमान घिसिङले भने स्पष्ट रूपमा यस्तो कुनै छलफलमा संलग्न नहुने बताएका छन् । उनले उज्यालो नेपाल पार्टीसँग कुनै औपचारिक वा अनौपचारिक संवाद नरहेको प्रतिक्रिया दिएका छन् ।
यस्तो छ उनेपाको संरचना
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उनेपाको नेतृत्व यस प्रकार छ :
राष्ट्रिय अध्यक्ष– ज्ञानेन्द्रकुमार तामाङ
उपाध्यक्षहरू–नारायणप्रसाद पाण्डे, रमेशप्रसाद थपलिया, सागर पाण्डेय ।
महासचिव–प्रशान्त केसी तिमल्सिना ।
उपमहासचिव–भुवन नारायण तामाङ ।
कोषाध्यक्ष– विमला तामाङ ।
सचिवहरू– पुनम तामाङ, सविना बुढाथोकी, विमला स्याङतान, कान्छाकाजी तामाङ, सचिन्द्रकुमार तामाङ ।
अध्यक्ष तामाङका अनुसार दल गठनको अभियानलाई देश तथा विदेशमा रहेका विज्ञहरूबाट सुझाव लिँदै अगाडि बढाइँदैछ । तर मन्त्री घिसिङको अस्वीकारसँगै उनेपाले सार्वजनिक गरेको भर्चुअल छलफलसम्बन्धी दाबी विवादास्पद बन्दै गएको छ । अब वास्तविकता के हो भन्ने प्रष्ट हुन बाँकी छ ।