फागुन २१ को निर्वाचन नयाँ शक्ति र नेतृत्व उदयको अवसर : मन्त्री घिसिङ
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई मात्र साधारण चुनावको रुपमा नलिइ, नयाँ शक्ति उदयको प्रारम्भिक बिन्दु बनाउनु पर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको नयाँ कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले देशभरका युवापुस्ता, नयाँ राजनीतिक दल तथा नेतृत्वहरुलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेका हुन् ।
उनले फागुन २१ को चुनाव ‘देशको नयाँ शक्ति, नयाँ नेतृत्वहरुको उदय’ का लागि महत्वपूर्ण अवसर भएको औंल्याए । उनले यदि चुनावमा फेरि पुराना शक्तिहरुको दबदबा रह्यो भने त्यसलाई ठूलो दुर्भाग्यको रुपमा लिने उल्लेख गरे। मन्त्री घिसिङले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुले नयाँ नेतृत्व र शक्तिलाई एकजुट गर्दै समृद्धि, रोजगारी, सुशासन र सामाजिक न्यायतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले जेन–जी आन्दोलनको महत्वलाई पनि स्मरण गराउँदै भने, ‘जेनजी आन्दोलनले देशमा सुशासन, रोजगारी सिर्जना र समृद्धितर्फ अघि बढ्ने स्प्रिड देखाएको थियो । अब त्यसको निरन्तरता सुनिश्चित गर्नु आजको आवश्यकता हो ।’ मन्त्री घिसिङले नयाँ शक्ति र युवा नेतृत्वको एकताबद्ध प्रयास बिना देशले विकासको मार्गमा अघि बढ्न कठिन हुने चेतावनी समेत दिएका छन् ।
उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले भने कि छोटो समयमै पार्टीले देशभरमा नयाँ तरङ्ग सिर्जना गरेको छ र नयाँ शक्तिलाई एकजुट गर्ने नेतृत्वको भूमिकामा पार्टीले अगाडि बढ्नेछ । साथै, पार्टीले भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् । मन्त्री घिसिङले देशको राजनीतिक परिप्रेक्ष्यमा नयाँ पुस्ता, युवा नेतृत्व र नयाँ राजनीतिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतालाई जोड दिएर भने, ‘यस अभियानमार्फत मात्र देश समृद्ध, न्यायपूर्ण र सशक्त बन्न सक्छ ।’
