कुलमान घिसिङको पार्टीबाट विद्या श्रेष्ठले दिइन् राजीनामा
काठमाडौँ । ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छिन् । उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट अलग हुने घोषणा गरेकी हुन्।
श्रेष्ठले हालै हेटौँडामा भएको सडक विस्तारका क्रममा राज्यले अपनाएको बलपूर्वक कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पद त्याग्ने निर्णय लिएको उल्लेख गरेकी छिन् । उनका अनुसार सडक विस्तारको नाममा सरकारले मानव अधिकारविरुद्धको कार्य गरेका कारण आफूले पार्टीको जिम्मेवारी वहन गर्न ‘नैतिक रूपमा असमर्थ’ भएको बताएकी छिन् ।
‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौंडा पीडितको साथ छु,’ उनले लेखेकी छन् । यसअघि सडक डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो । तर अटेर गरेपछि आज बिहानैदेखि ती संरचना भत्काउन थालिएको हो । शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
